
काठमाडौं । प्रहरीले काठमाडौंका सार्वजनिक यातायात तथा पशुपतिनाथ मन्दिर क्षेत्रमा दर्शनार्थी र यात्रुहरूलाई लुटपाट गर्ने कार्यमा संलग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ
। प्रहरी वृत्त गौशालाबाट खटिएको विशेष टोलीले चोरी गरिएको सुनचाँदीका गहना, नगद र मोबाइलसहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका दुवै जनामाथि चोरी तथा डाँकासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारत गोरखपुर घर भई हाल जिल्ला भक्तपुर बस्ने ३४ वर्षीय रन्जीत चौधरी र भारत सिसवा घर भई हाल भक्तपुर नै बस्ने ४५ वर्षीया शान्ति चमार रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट सुनको सिक्री लकेट १ थान, सुनको झुम्का ४ थान, सुनको मुन्द्रा ६ थान, पोतेसहितको सुनको मंगलसूत्र १ थान, चाँदीको औंठी १ थान, चाँदीको सिक्का १ थान, चाँदीको पाउजु ४ थान, चाँदीको सिक्री १ थान, चाँदीको खुट्टामा लगाउने बिच्छी २ थान, चाँदीको ब्रासलेट १ थान र चाँदीको लकेट १ थान बरामद गरेको छ ।
यसका साथै नेपाली नगद रु १,१५,५००, भारतीय रुपैयाँ ८०,०००, विभिन्न कम्पनीका मोबाइलहरू ६ थान, भारतीय प्यान कार्ड २ थान, आधार कार्ड १ थान, जैविक कृषि बिस्तार योजनाको कार्ड १ थान र खोप कार्ड १ थान समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए ।


प्रतिक्रिया