
काठमाडौं । नेपाल साहित्यिक पत्रकार संघ केन्द्रीय समितिले आफ्नो २०औँ वार्षिकोत्सव राष्ट्रिय साहित्यिक पत्रकारिता दिवस,राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान तथा अन्तरक्रिया नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजना गरी सम्पन्न गरेको छ ।
प्रमुख अतिथि नेपाल प्रज्ञा(प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ साहित्यकार डा।तुलसीप्रसाद भट्टराई र संघका अध्यक्ष मोहन दुवालले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गरेका हुा् । प्रमुख अतिथि भट्टराईले संघका संस्थापक अध्यक्ष नकुल सिलवाललाई मरोणोपरान्त राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान–२०८३ द्वारा सम्मानित गरे ।
कार्यक्रममा कीर्तिशेष श्रीमान् नकुल सिलवालप्रति समर्पित कविता वाचनसहित उक्त सम्मान जीवनसंगीनी सुनिता सिलवालले ग्रहण गरिन् । २०१९ सालमा सिन्धुपाल्चोकमा जन्मिएका सिलवाल २०७३सालमा कीर्तिशेष भएका हुन् । नेपाली साहित्यिक पत्रकारितामा सिलवालद्वारा सम्पादित ‘बगर’ र ‘नदी’ उत्कृष्ट साहित्यिक पत्रिकाका रूपमा परिचित छन् ।
नेपाल साहित्यिक पत्रकार संघका संस्थापक अध्यक्ष सिलवाल साहित्य गुठीको संयोजक र बगर फाउन्डेसनको अध्यक्ष समेत भए । दर्जन साहित्यिक कृतिका सर्जक सिलवालले विभिन्न पुरस्कार र सम्मानसमेत स्थापना गरेका हुा् ।
नेपाल साहित्यिक पत्रकार संघ नुवाकोट शाखाका संस्थापक अध्यक्ष तथा ‘संगम’ साहित्यिक पत्रिकाका सम्पादक सुमित्रा सुमीलाई ‘राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान’–२०८३, र मातृभाषा साहित्यिक पत्रकारिताका अभियन्ता तथा बान्तावा राईभाषाको साहित्यिक पत्रिका ‘बुङ्वाखा’का सम्पादक पदमकुमार राईलाई ‘राष्ट्रिय मातृभाषा साहित्यिक पत्रकारिता सम्मान’–२०८३ प्रमुख अतिथि भट्टराईले समर्पण गरे ।
साथै, संघका अध्यक्ष मोहन दुवालले सम्मानित साहित्यिक पत्रकारलाई दोसल्ला ओढाएर सम्मान प्रकट गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले साहित्यिक पत्रपत्रिकाको इतिहासलाई जीवन्त राख्दै प्रविधिमैत्री इ–साहित्यिक पत्रकारिताको प्रभावसँगै अघि बढ्न जोड दिए । विशिष्ट अतिथि ,समालोचक तथा अनुसन्धाता कृष्ण प्रधानले छापा साहित्यिक पत्रकारिताको इतिहास,महत्त्व र आरोहअवरोहबारे मनतव्य प्रस्तुत गरे ।
त्यस्तै, इ–साहित्यिक पत्रकारिताको इतिहास ,वर्तमान आवश्यकता र औचित्यबारे साहित्य पोस्टका सम्पादक अश्विनी कोइरालाले प्रष्ट पारे । सम्मानित व्यक्तित्वहरू सिलवालका बारेमा संघका उपमहासचिव नवराज रिजाल, सुमित्रा सुमीका बारेमा संघका कोषाध्यक्ष सूर्यप्रसाद लाकोजू र पदमकुमार राईका बारेमा संघका सचिवालय सदस्य गणेश राईले उजागर गरे ।
संघका अध्यक्ष मोहन दुवालले छापा र इ–साहित्यिक पत्रकारितालाई समेटेको बताउँदै आगामी दिनमा झन् प्रभावकारी योजनाका साथ अघि बढ्ने बताए । यसैगरी, संघका उपाध्यक्ष रामप्रसाद पन्तले स्वागत मनतव्य , केन्द्रीय सदस्य यादव भट्टराई र पूर्व उपसचिव केदारकुमार सिलवालले आआफ्नो मनतव्य राखे ।यसैगरी केन्द्रीय सदस्य अध्यापक डा. शैलेन्दुप्रकाश नेपालले धन्यवाद ज्ञापन गर्नुका साथै कार्यक्रमको उद्घोषण महासचिव चेतनाथ धमलाले गरे ।
प्रतिक्रिया