कसैले सोचेको होला कि नहोला ?

अझै पनि काठमाडौं विश्वकै प्रदूषित सहर छ । गर्न धेरै बाँकी छ । तर, यो एउटा मेयरको सीमाभित्र मात्रै नहोला । कम्तिमा आज काठमाडौं विश्वकै फोहोर सहर छैन । काठमाडौंले ऐतिहासिक र सांस्कृतिक इतिहास सम्झेको छ, पुनरुत्थान र संरक्षणतिर सोच्दै छ, त्यो वैभवलाई जोगाउन खोज्दै छ र साथसाथै एउटा आधुनिक सहरको रूपमा आफूलाई चिनाउन खोज्दै छ । कतै हाम्रा पुराना आशा र विश्वासझैँ यो पनि अस्थायी हो कि भन्ने डरचाहिँ लागिरहन्छ ।

नारायण गाउँले

स्वास्थ्यमन्त्री हुनासाथ कुचो, कार्यकर्ता र क्यामेरा बोकेर आफै वीर हस्पिटल पुग्ने हाम्रो ‘एभरेज’ नेतृत्व छ । ठेकेदारले काम पूरा नगर्दै सोफा र झण्डा बोकेर उद्घाटनदेखि भाषण गर्न पुग्ने हाम्रो शीर्ष नेतृत्व छ । एउटा योजना या नीति बन्न महिनौँको अध्ययन, कसरत, छलफल, तथ्यांक प्रशोधन र तयारी चाहिन्छ । तर, आज काकतालीले कुनै विज्ञता नभएको क्षेत्रमा मन्त्री बन्यो, भोलिपल्टबाट निर्णय र निर्देशनका वर्षा गर्न थाल्यो जस्तो हाम्रो राजनीति छ ।

काठमाडौंका मेयरको शैली भने अलि बेग्लै छ । हातमा कुचो बोकेर ब्रुमरमाथि चढेको उनको स्टन्टवाला फोटो देख्नुभएको छैन होला । दर्जन मिडियालाई चिया ख्वाउँदै राजधानीलाई विश्वकै नमुना सहर बनाएको भन्नेजस्तो भाषण पनि पक्कै देख्नुभएको छैन । चुनाव लड्दै गर्दा मोनोरेलदेखि मेट्रो रेलसम्मका गफ गरेको पनि देख्नुभएको थिएन । मिडिया हेर्दा हाम्रा अन्य नेताले काम नै काम गरेको र देशलाई अद्भूत समृद्धितिर डो¥याउँदै गरेको र त्यसमा बालेनको उपस्थिति शून्यजस्तो लाग्छ । न टाउको हल्लाईहल्लाई अन्तर्वार्ता, न साधनस्रोतभन्दा ठूला योजना र सपना, न सस्तो स्टन्टबाजी, न नयाँ युग सुरू भएको भन्ने होर्डिंङ बोर्डहरू, न पत्रपत्रिकाभरि ज्याकेट विज्ञापन, न कुनै काण्ड र घोटालाका खबरहरू ।

तर मिडिया नहेरी काठमाडौंलाई हेर्नुभयो भने चित्र अलि बेग्लै लाग्न सक्छ । पक्कै काठमाडौं स्विट्जरल्यान्डका सहरजस्तो सफा र व्यवस्थित छैन तर केही वर्षअघि जताततै डम्पिङ् साइटजस्तो देखिने दुर्गन्धित सहर पनि छैन । बाटा र गल्लीहरू सफा छन् । फूल र बोटबिरुवाहरू हुर्काइँदै छन् । सार्वजनिक जग्गा र खुला क्षेत्रको संरक्षण र अधिकतम नागरिक उपयोगतिर ध्यान पुगेको छ, हिजो फोहोर फाल्ने ठाउँमा पुरिएका ढुंगेधाराहरू उत्खनन् हुँदै छन् ।

आज पनि धुलोको तुवाँलो त देखिन्छ तर आफ्नो बलबुताले भ्याएसम्म धुलो नियन्त्रणका लागि महानगर इमानदारीपूर्वक लागेको छ भन्ने पनि देखिन्छ । शिक्षादेखि सार्वजनिक शौचालय र स्थानीय सांस्कृतिक सम्पदादेखि राजस्वका स्रोतसम्म महानगरको कसरत स्पष्ट देख्न सकिन्छ । थोरै भएको होला, तर केही उल्लेख्य भएको छ, मुख्य कुरा हुँदै नभएको कुराको राज्यस्रोत दुरुपयोग गरेर प्रचार प्रसार भएको छैन । हो, अलिकति फुटपाथ व्यापारका समस्या होलान् । केही निर्णयहरूमा भावुकता या लहडको मात्रा धेरै भएको आरोपहरू होलान् । अलिकति राजनीतिक चरित्र र लचकताको इस्यु होला । आफ्नो मेयरलाई अलि सजिलोसँग भेट्न पाउनुपर्ने अपूर्ण चाहनाहरू होलान्, अलिकति ‘एटिट्यूड’का प्रश्नहरू होलान् । केही सिक्न र केही सुधार गर्न बाँकी होला ।

तर, राजनीतिमा आएको एउटा फ्रेस युवाले काठमाडौंजस्तो अत्यन्त अव्यवस्थित र दुर्गन्धित सहरलाई जे जति उपचार गरेको छ, गर्ने प्रयास गर्दै छ, त्यो सराहनीय छ । कामको आधारमा टीकाटिप्पणी स्वाभाविक हो, तर व्यक्तिगत या आर्थिक चरित्रबारे आजसम्म औँला उठाउने अवसर कसैले पाएको छैन । कम्तिमा एउटा मेयरले चाहने हो भने केही हुन सक्ने रहेछ भन्ने नजीर स्थापना भएको छ । नगरसभाभित्र हिजो विरोध गर्नेलाई पनि उनले साथ लिएर हिँडेको दृश्य पनि हेर्नुभएकै होला ।

सबै कुरा गर्न त एक्लै मेयरले सक्ने कुरो पनि भएन, साधनस्रोतले भ्याउने कुरो पनि भएन । कति नीति र योजनाहरू पूरा नहुँदै एउटा मात्रै पाटो हेरेर हामीलाई गलत लागेको पनि हुन सक्छ । पब्लिकलाई स्पष्ट बुझाउन नसक्नु उनको कमजोरी पनि हुन सक्छ । अझै पनि काठमाडौं विश्वकै प्रदूषित सहर छ । गर्न धेरै बाँकी छ । तर यो एउटा मेयरको सीमाभित्र मात्रै नहोला । कम्तिमा आज काठमाडौं विश्वकै फोहोर सहर छैन । काठमाडौंले ऐतिहासिक र सांस्कृतिक इतिहास सम्झेको छ, पुनरुत्थान र संरक्षणतिर सोच्दै छ, त्यो वैभवलाई जोगाउन खोज्दै छ र साथसाथै एउटा आधुनिक सहरको रूपमा आफूलाई चिनाउन खोज्दै छ । कतै हाम्रा पुराना आशा र विश्वासझैँ यो पनि अस्थायी हो कि भन्ने डरचाहिँ लागिरहन्छ ।
कसैले सोचेको होला कि नहोला ?

देशैभरि हरियो जंगल छ, राम्रो गुणस्तरको मानिने साल र सिसौका रूखहरू छन् । तर आमजनताका लागि काठ सुनभन्दा महँगो छ । बरु मलेसिया या ब्राजिलबाट महँगो ढुवानी गरेर ल्याइएको काठ सस्तो होला, देशको काठ महँगो छ । फलतः कुनै बेला सिंगो संरचना नै काठको हुने हाम्रा घरहरूमा स्थानीय काठको अंश शून्यजस्तो बन्दै छ । उच्च पहाडी क्षेत्रमा एकदिन पैदल हिँड्नुहोस्, हामीसँग सिंगो देश छाउन पुग्ने ढुंगाखानी छ । न्यूनतम प्रशोधन र खर्च गरे पुग्ने चिल्ला स्लेटहरूको भण्डार छ । तर, हाम्रा छानाहरू लाखौंको छड र सिमेन्टका भारीले थिचिएका छन् । त्यसमाथि नीला र राता जस्तापाताको साम्राज्य छ ।

दिनदिनै सहर मात्रै होइन, गाउँभरि सिमेन्टका अग्ला–अग्ला भवनहरू ठडिएका छन् । तीन आना, चार आना या १० धुरमा बनेका ती घरहरूबीच न खाली ठाउँ छ, न हरियाली छ । आवासीय प्रयोजनका घरबारे वैज्ञानिक राष्ट्रिय नीति पनि छैन । एक तले होस् या पाँच तले, उत्ति नै पिलर, उत्ति नै छड र उत्ति नै हात्तीपाइले फाउन्डेसन चाहिने रहेछ । एउटा घर बनाउन पुग्ने पैसा र साधन माटोमुनि गाडिएको छ । हाल बनेका घरहरू भत्काउनुपर्दा पुनर्प्रयोग हुन सक्ने वस्तुहरू नगण्य छन् । यो साधनस्रोत खर्बौं खर्ब रुपैयाँको छ । अझ दुःखद् त हिमालीदेखि तराईसम्मका सहरमा यति थोरै जग्गामा यति अग्ला र भद्दा संरचना बनेका छन् कि कतिपय ठाउँमा दुई–तीन तलासम्म त स्वस्थ हावा र सूर्यको प्रकाश पनि पुग्दैन ।

हाम्रोजस्तो चर्को घाम र पानी पर्ने क्षेत्रमा सिमेन्टको आयु सरदर ५० वर्ष जति मानिन्छ । २० वर्ष पुरानो घर अहिलेको पुस्तालाई नै अनुपयोगी देखिन्छ भने ५० वर्षपछि अहिलेका संरचना कसरी हटाउने होला ? यत्रो भयंकर कंक्रिटको जंगल कहाँ लगेर फाल्ने होला ? त्यो भीमकाय हात्तीपाइले फाउन्डेसनको के होला ? निर्माणको यही क्रम चल्ने हो भने अबको ५० वर्षपछि हामीले फेस गर्ने वातावरणीय संकट कति गहिरो होला ?

युरोपमा प्रायः रेसिडेन्सियल घरहरू एक तले हुन्छन् । भुइँ तलामाथि एउटा तला । तिनको संरचना काठ र न्यूनतम फलाम प्रयोगबाट बन्छ । भित्ता इँटा र छानोचाहिँ ढुंगा, माटो र सिमेन्टका झिंगटी या टाइलको हुन्छ । भूकम्पको जोखिम कम हुने भएकाले तिनको फाउन्डेसन पनि ठूलो हुँदैन । प्रायः घरको अगाडि र पछाडि घरले ओगटेको भन्दा बढी जग्गा हुन्छ । त्यो जग्गा बार्ने पर्खाल काठको हुन्छ । घर सय वर्ष बढी टिक्छन् । भत्काएको दिन धेरैजसो सामग्री पुनःप्रयोग गर्न मिल्छ । सार्वजनिक पार्क या उद्यानका बार र पर्खाल त काठकै हुन्छन् ।

युरोपमा घर हेरेर तपाईंले घरमूलीको वर्ग छुट्याउन असहज हुन्छ । आम्दानीको तुलनामा त नेपालभन्दा कैयौँ गुना सस्ता छन् घरहरू, फेसमूल्यमै पनि हामीले युरोपलाई उछिन्न लागिसक्यौँ । अब जीवनभरको कमाइ जोड्दा पनि एउटा घर नउभिने अवस्थातिर छौँ हामी । सदुपयोगको व्यावहारिक नीति हुने हो भने हामीलाई घर बनाउन चाहिने धुरीदेखि दलिन र झ्याल–ढोकाको काठ पनि सहजै उपलब्ध हुनसक्छ । सिमेन्टमा लगभग देश आत्मनिर्भर छ । ढुंगाखानी देशमै छ ।

स्थानीय पद्धति, परम्परालाई प्रविधिसँग मिश्रण गरेर घर निर्माणको एउटा वैज्ञानिक, व्यावहारिक र सुपथ ढाँचा तयार गर्ने र कार्यान्वयन गर्ने सोच कुनै नेतामा होला कि नहोला ? बनिसकेका घरलाई केही गर्न नसकिएला तर अब बन्ने घरमा अनिवार्य गार्डेन, पार्किंङ र खुला स्पेस हुनुपर्ने नीति तय गर्न सकिँदो हो । मलिला खेतलाई प्लटिङ हुनबाट रोक्ने या फुटपाथ पुग्ने गरी २० फिटको बाटो अनिवार्य गर्ने पनि गर्न साकिएला ।

अस्ट्रेलियामा तपाईं कार चलाउँदै हुनुहुन्छ, र पाँच जना अटाउने कारमा तपाईं एक्लै ड्राइभ गर्दै हुनुहुन्छ भने तपाईंले बाटोका छिटो चल्ने लेन प्रयोग गर्न पाउनुहुन्न । तर, तपाईंको कारमा दुई या बढी व्यक्ति छन् भने तपाईंलाई फास्ट लेन प्रयोग गर्न दिइन्छ । हामीले हाम्रो हाउजिङमा यो उदाहरण प्रयोग गर्न सक्छौँ कि ? यति सानो देश छ । यति धेरै सांसद, मन्त्री, सलाहकार, पिए, कर्मचारी र हाकिमहरू छन् । तर ‘राष्ट्रिय पोलिसी’ निर्माणमा भन्दा सत्तासुख र कमिसन कसले कोसँग मिलेर खाने भन्नेमै हाम्रो हार र जितको खेल सीमित छ ।

जीवनको सम्पूर्ण कमाइ र मिहिनेत घर नामको एउटा भद्दा संरचनामा अझ छिमेकसँग प्रतिस्पर्धा गर्दै माटोमुनि खन्याउने क्रम रोक्न सकिन्छ कि ? अवश्यम्भावी वातावरणीय संकटलाई अहिल्यै सम्बोधन गर्न सकिन्छ कि ? के कसैले यसबारे सोच्दै होला ? के तपाईंले कहिल्यै यसरी सोच्नुभएको छ ? कि यो मैले चिन्ता गरेजस्तो समस्या नै होइन ?

प्रतिक्रिया