संघीयता माथि नै प्रश्न

केन्द्रको राजनीति समीकरण फेरबदलले स्थानीय सरकारमा भने केही असर पुर्याउँदैन । किनभने कानुन नै त्यस्तै बनेको छ । प्रदेश सरकारको पनि यस्तै कानुन बनाउनुपर्ने जरुरी देखियो । केन्द्रको राजनीति समीकरण फेरबदलसँगै प्रदेश सरकार पनि ढल्ने र बन्ने गरेका छन् । यो राम्रो कुरा होइन । यस्तो खेलले राजनीति अस्थिरता मात्र बढिरहेको छ । र संघीयतामाथि नै प्रश्न उठिरहेको छ । नेपालका कम्युनिस्टहरू मिल्ने हो भने ठूलो शक्ति बन्न सक्छ तर उनीहरू मिले पनि लामो समय टिक्न सक्दैनन् ।

आरपी गैरे

नेपालको राजनीति उल्टोपाल्टो हुँदै अघि बढिरहेको छ । वर्तमान राजनीतिप्रति जनतामा त्यति चासो बढेको अवस्था देखिँदैन । आज मुलुक जुन ढंगले अघि बढनुपर्ने हो त्यसरी बढ्न सकेको छैन । लोकतन्त्र प्राप्त गरेको १८ वर्ष भयो तर जनताले त्यस्तो अनुभूति गर्न पाएका छैनन् । व्यवस्था बदलियो तर जनताको अवस्था उस्तै छ । यो लोकतन्त्र प्राप्त गरेको के मतलब ? लोकतन्त्रका नाममा नेता बने तर देश र जनताको भाग्य र भविष्य बन्न सकेन । वडादेखि प्रदेश हँदै केन्द्रसम्म जनताको करमा नेतादेखि उनका तलका कार्यकर्ता पाल्नुपर्ने बाध्यता हामीसँग छ ।

अब देशको अर्थतन्त्रले संघीयता धान्न नसक्ने अवस्था देखियो । देशको अर्थतन्त्रलाई टाट पल्टाएर यी दलका नेताहरूलाई कति वर्षसम्म पाल्नुपर्ने ? अब यो विषयमा गम्भीर भएर सोच्नुपर्ने भयो । देशको राजनीति गलत बाटोतर्फ उन्मुख हुँदै छ । आज केही तत्वहरू व्यवस्थाविरुद्ध सडकमा नाराबाजी गरिरहेका छन् । तर, लोकतन्त्रवादी शक्तिहरू सत्ता स्वार्थको राजनीतिमा रुमल्लिरहेका छन् । उनीहरूलाई देशको बारे खासै चिन्ता भएको जस्तो देखिँदैन । राजनीति दल र तिनका नेताहरूबाट जनताले थप आश केही गरेका छैनन् । अहिलेको राजनीति गतिविधि हेर्दा जनता चरम निराशामा छन् । केन्द्रको राजनीति समीकरण फेरबदल हुँदा बित्तिकै त्यसको बाछिटा प्रदेश सरकारसम्म पुग्ने गरेको छ । यो नेपालको राजनीतिमा घिनलाग्दो खेल हो ।

केन्द्रको राजनीति समीकरण फेरबदलले स्थानीय सरकारमा भने केही असर पुर्याउँदैन । किनभने कानुन नै त्यस्तै बनेको छ । प्रदेश सरकारको पनि यस्तै कानुन बनाउनुपर्ने जरुरी देखियो । केन्द्रको राजनीति समीकरण फेरबदलसँगै प्रदेश सरकार पनि ढल्ने र बन्ने गरेका छन् । यो राम्रो कुरा होइन । यस्तो खेलले राजनीति अस्थिरता मात्र बढिरहेको छ । र संघीयतामाथि नै प्रश्न उठिरहेको छ । नेपालका कम्युनिस्टहरू मिल्ने हो भने ठूलो शक्ति बन्न सक्छ तर उनीहरू मिले पनि लामो समय टिक्न सक्दैनन् । विगतमा पनि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएकै हो । तीन वर्षभन्दा बढी टिक्न सकेन । यो कम्युनिस्ट पार्टीका लागि दुर्भाग्यको कुरा हो । फेरि मिल्ने कुरा भए पनि टिक्ने कुरा देखिँदैन । कम्युनिस्टहरू पदका लागि फुट्छन्, जुट्छन् यो कम्युनिस्ट स्थापनाकालदेखिको इतिहास हो । कम्युनिस्टहरू जुन सिद्धान्त र नीति बोकेर आए त्यो अनुसार चल्न सकेका छैनन् ।

पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपाल आक्रमक शैलीमा प्रस्तुत हुँदै आएका छन् । माधव नेपालको अभिव्यक्तिसँगै गठबन्धनमा झड्का लागेको अनुभूति हुँदै छ । पुरानो गठबन्धन भत्काएर नयाँ गठबन्धन बनेपछि खटपट सुरु हुन थालेको छ । नेकपा एमाले र एकीकृत समाजवादीबीच अझै पानी बाराबारको अवस्था छ । पार्टी विभाजन भएदेखि केपी ओली र माधव नेपालबीच खासै खुलेर बोलेको देखिँदैन । एमालेका अध्यक्ष ओली एकीकृत समाजवादीप्रति थप आक्रोशित र आक्रामक भएका छन् । एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई अवसरवादीको संज्ञा दिएका छन । सत्ताका लागी जे पनि गर्न तयार छन् राजनीति दल र तिनका नेता । त्यसले गर्दा जनतामा वितृष्णा बढ्दै गएको छ । अहिलेको घटनाले संघीयता र संसदीय लोकतन्त्रप्रति वितृष्णा नै बढाएको छ ।

नेपालको राजनीति व्यक्तिवादी चरित्र र सत्ता स्वार्थका कारण सही ढंगले अघि बढन सकेको छैन । २०४८ सालदेखि हालसम्मको दलीय राजनीतिको समिक्षा गरेर हेर्ने हो भने सत्ता स्वार्थकै कारण पूरा अवधि सरकार टिक्न सकेका छैनन् । सरकार बन्ने र ढल्ने प्रक्रिया यो पहिलेदेखि नै सुरु भएको हो । झण्डै दुईतिहाइ नजिक बहुमतका सरकारसमेत पूरा अवधि टिक्न सकेनन् । लामो समयदेखि मुलुक राजनीति अस्थिरतामा गुज्र्रदै अघि बढिरहेको छ । यो नै देशका लागि दुर्भाग्य हुँदै आएको छ ।

हिजोका दिनमा राजनीति दल र तिनका नेताहरू चप्पल पड्काउँदै काठमाडौँ छिरेका थिए तर आज उनीहरूका घर, घडेरी, चिल्ला गाडी देख्दा लाज लागेर आउँछ । राजनीति भनेको समाज सेवा हो । तर, दुर्भाग्य राजनीतिका नाममा कमाउने खेल भयो । नेताहरूमा सम्पत्ति जोडने होडबाजी चल्यो । यसले गर्दा पनि देशको भविष्य पछाडि धकेलिएको हो । देश विकास गर्ने चाहना फगत नारामै सीमित भएको छ । देश विकासको काम त्यति सजिलो छैन । देश बिकासका लागि सामूहिक प्रयास जरुरी हुन्छ । दलहरूले देशविकासका कुरा धेरै गरे व्यवहारमा सिन्कोसमेत भाँच्न सकेनन् । देशविकासको मूल उद्देश्य सदियौँदेखि दलित उत्पीडित जनतालाई माथि तानेर उकास्ने र जीविकोपार्जन एवं व्यापार व्यवसाय गर्न सहज वातावरण निर्माण गरिदिने हो । यो राज्यको दायित्व र कर्तव्य दुबै हो । संविधानले पनि यही संकल्प गरेको छ । देश विकासको कामको सट्टा दलीय हित र व्यक्तिगत स्वार्थमा नेताहरू लिप्त भएका छन् । अनि यो देश कसरी बन्छ ?

नेकपाको दुईतिहाईको सरकार हुँदा ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा अघि सारिएको थियो, तर नेताहरूको मनमुटावले नेकपाको दुईतिहाइको सरकार पनि टिक्न सकेन । यो नारा नारामै सीमित रह्यो । किनभने नेकपाको सरकार सही ट्रयाक समात्न नसकेर तीन वर्षमै ढल्यो । राजनीतिक दलहरू देश र जनताको हितमा केन्द्रित बन्न नसक्दा जनतामा नैराश्यता छाएको छ । नीति, सिद्धान्त र निष्ठाको राजनीति हराउँदै गएको छ । सिद्धान्तको राजनीति सधैँ स्वच्छ प्रतिस्पर्धामा आधारित हुने भएकाले मुलुकका निम्ति हितकारी हुन्छ । स्वार्थकेन्द्रित अस्वस्थ राजनीति मुलुकका निम्ति घातक हुन्छ । यो प्रवृत्तिले मुलुकको सुधार होइन, व्यक्ति एवं परिवारकै सुधार भएको छ ।

राजनीति दल र तिनका नेताहरूले राज्य सुधार्ने होइन, परिवार र नता सम्बन्धकै व्यक्तिकै जीवनस्तर उकास्ने काम गरिरहेका छन् । दीर्घकालीन स्थिर नीति नभएपछि नेताहरू लगाम बेगरको घोडाजस्तै भएका छन् । पछिल्लो समयमा हाबी हुँदै आएको स्वार्थको राजनीतिले आन्तरिक कलह र खिचातानी बढाइरहेको छ । दूषित दलीय स्वार्थ कहिल्यै पनि अन्तर्राष्ट्रिय मापदण्डभित्र पुग्न सक्दैन । यो अवस्थामा अन्तर्राष्ट्रिय जगत् नै आन्तरिक राजनीतिक प्रतिस्पर्धामै ध्रुवीकृत हुन सक्छन् । राष्ट्र बलियो हुन राष्ट्रिय राजनीतिक शक्तिबीच एकता अपरिहार्य हुन्छ । आन्तरिक रूपमा राजनीतिक प्रतिस्पर्धा हुनु स्वाभाविक हो । तर, राष्ट्रिय मुद्दाको सवालमा, विदेश नीति, राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सन्धि सम्झौता र सीमा रक्षाको सवालमा राज्यका सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्छ ।

प्रमुख दलकै शीर्षस्थ नेताले सत्ता जोगाउन र वैचारिक स्वार्थ सिद्ध गर्न विदेशी शक्तिको शरणमा पुग्ने गर्दा राष्ट्रिय राजनीति कमजोर अवस्थामा पुग्ने गरेको छ । यो अवस्थामा देखापर्नु भनेको नेतृत्व कमजोर मात्र होइन, राष्ट्र कमजोर भएको संकेत हो । सत्ता जोगाउने राजनीतिलाई नेताले उच्च प्राथमिकता दिनाले राष्ट्रिय मुद्दा ओझेलमा पर्ने गरेको छ । अब राजनीति दल र तिनका नेताहरू देश र जनताप्रति गम्भीर बन्नुपर्ने जरुरी देखिएको छ । सत्ताको हानथापमा मुलुकलाई अघि बढाउन सकिँदैन । राजनीतिप्रति जनता किन वाक्कदिक्क छन् ? नेताहरूको गलत कार्य र गलत कार्यशैली देखेर वाक्क दिक्क छन् । अब पनि नागरिकले कुरा नबुझेर कहिले बुझ्ने ? देशको अवस्था नाजुक छ ।

काम गरेर खाने वातावरण बन्न सकेको छैन । उद्यमीहरू ढुक्कले देशमा लगानी गर्न सकिरहेका छैनन् । विश्वासको बातावरण निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । दलहरू एकआपसमा लडेर देशको भविश्य बनाउन सकिँदैन । लोकतन्त्रवादी शक्तिहरू एकआपसमा मिलेर जान सक्नुपर्छ । आज केही तत्वहरू मुलुकलाई प्रतिगमनतर्फ धकेल्न खोज्दै छन् । तिनीहरूको सपना पूरा हुन नदिन पनि लोकतन्त्रवादी शक्ति एक ठाउँमा उभिन सक्नुपर्छ । सत्ताको खेलमा समय बर्बाद गर्नु भनेको देशलाई पछाडि धकेल्ने षड्यन्त्र हो ।

प्रतिक्रिया