बन्ने हो ‘बलिदान’को कलाकार ?

काठमाडौं । आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले आइतबार इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका छन् ।

प्रमुख नारी पात्रको भूमिकामा परिवेश सुहाउँदो र एक पुरुष कलाकार आवश्यक परेकोले अडिसनबाट नै छनोट गर्न लागेको निर्देशक सेनले बताएका छन् । सेनले महिला पात्रको लागि अन्दाजी २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने लुक्स भएकी, साहस र कुटिलता झल्किने हाउभाउ र चालढाल भएकी तथा एक्सन प्रधान भूमिका निर्वाह गर्न सक्ने कलाकारको खोजी भएको बताए । त्यस्तै, पुरुष पात्रको लागि अन्दाजी २८ देखि ५५ वर्ष उमेर समूहको कलाकारको खोजी भएको जनाए ।

अडिसनमा सहभागी हुन महिला कलाकारसँग मोटरबाइक हाँक्न सक्ने र मार्सल आर्टको सीप हुनुपर्नेछ भने पुरुष र महिला दुवै कलाकारले नेपाली भाषामा मैथिली उच्चारणसहित संवाद बोल्न सक्नुपर्नेछ । पूर्वी नेपालका इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारले प्राथमिकता पाउने जनाइएको छ । आवेदन दिने अन्तिम मिति २०८१ वैशाख मसान्तलाई तोकिएको छ ।

अडिसनमा सहभागी हुन आसुसेन फिल्मसको आधिकारिक इमेल ठेगाना तथा ह्वाट्सएप मेसेन्जर नम्बरमा सन्देशमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ ।

‘बलिदान’को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन् । सो चलचित्रमा यसअघि अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन् । सबै स्टार कलाकारहरूको अभिनय रहने यस चलचित्रलाई लिएर ठुलो अपेक्षा गरिएको छ । सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायांकन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ ।

यसै वर्ष रिलिज हुने ‘बलिदान’को हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । शनिबार सेट तयार गरिने विभिन्न स्थानहरूमा भूमिपूजा गरिएको थियो । यसको छायांकन करिब ६० प्रतिशत स्टुडियोमा नै छायांकन हुँदै छ ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन् । यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफैँ ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।
आसुसेन फिल्मस् प्रालि तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सहनिर्माता प्रेम पुरी रहेका छन् ।

प्रतिक्रिया