यी पप स्टारको गीतले बदलिएको कानुन

सेनेगल । गीत संगीतको शक्ति यत्ति धेरै हुन्छ कि त्यसले राज्यको कानुन नै परिवर्तन हुन सक्छ । सेनेगलमा सर्वत्र बलात्कार विरोधी मुभमेन्ट भएको थियो । सोही मुभमेन्टले त्यहाँको कानुन नै परिवर्तन गरिदिएको थियो ।

सेनेगलको कानुनमा यो महत्त्वपूर्ण परिवर्तन भएको दुई वर्षअघि हो । यौन अपराध, लज्जा र विश्वसनीयताको सवालमा एक पप स्टारले आफ्नै अनुभवलाई आधार मानेर सुरु गरेको बहस व्यापक भएपछि यसले कानुन परिवर्तन गर्न बाध्यकारी अवस्थाको सिर्जना गरेको थियो ।

सेनेगलको राजधानी डकारबाट दुई घण्टा टाढाको एउटा गाउँमा बस्ने लेडी माउनासले उनकै मातृ भाषामा गाएको गीत चर्चामा रहेको थियो । ‘मसँग लड्ने तागत छैन । यसलाई जोड दिने तागत छैन । मसँग आत्मविश्वास पनि छैन, तिमीले मलाई धोका दियौ । मसँग भएको सबैभन्दा प्रिय चिज पनि लियौ । कृपया महिलाप्रति सद्भाव राखौँ ।’ माउनसको यही गीत क्रान्तिकारी परिवर्तनका लागि कामयाव भएको थियो ।

सेनेगाली सांगीतिक क्षेत्रमा लेडी माउनास रसदार शब्द र ग्ल्यामरस शैलीका कारण परिचित थिइन् । त्यो गीत भने उनको विगतको पहिचानभन्दा फरक थियो । २०११ मा दुई पुरुषबाट बलात्कृत भएकी उनी त्यसै दुर्घटनामा केन्द्रित रहँदै यस गीत गाएकी हुन् ।
‘यो गीत गाउन मलाई कठिन भइरहेको थियो । किनकी यो गीतले मैले भोगेको पीडालाई सम्झाइरहेको थियो’, उनले भनिन्, ‘म धेरै रोएर नै रात कटाएँ । हरेक दिन मलाई त्यसै घटनाले सताइरहन्थ्यो ।’

माउनासले बताएअनुसार उनी प्रहरी कहाँ गएपछि ती दुई जना मध्येको एक जना पक्राउ परे । तर, कुनै सजायबिना नै उनी रिहा भएका थिए । उनको परिवारले पनि घटनालाई ढाकछोप गर्न बल गरिरहेको थियो । तर, गत वर्ष एक टेलिभिजन अन्तर्वार्तामा उनले यो कुरा सार्वजनिक गरेकी थिइन् ।

अन्तर्वार्ता लिँदै जाँदा माउनासका यो विषयमा बढी चासो र बढी संवेदना जोडिएको पाएका थिए । यसै क्रममा उनले रुँदै आफूले भोगेको घटना पनि बताएकी थिइन् । यसले उनको जीवनलाई नै सेनेगल समाजमा बहसको विषय बनाएको थियो । कतिपयले उनको उत्तेजक गीत गाउने तरिकाले नै पुरुषलाई दिग्भ्रमित गराएको प्रतिक्रिया दिए भने कतिपयले सामाजिक स्टन्टका लागि यो कुरा गरेको आरोप पनि लगाए । धेरैले त अन्यको ध्यान आफूतर्फ आकर्षित गर्न यो कुरा गरेको आरोप पनि लगाए । यी सबै घटनाले माउनासको मनमा कम्ती चोट पुगेको थिएन ।

उनकै परिवारले पनि सार्वजनिक रूपमा यो कुरा नराखेको भए राम्रो हुने आशयको कुरा मात्र गरेका थिए । त्यसपछि नै सेनेगलका धेरै युवतीहरू आफ्नो अनुभव बताउन लेडी माउनाससँग भेट्न चाहे ।

त्यसपछि थुप्रै दर्दनाक कथा उनले सुन्दै गएकी थिइन् । आफ्नै हजुरबाबाट बलात्कृत भएको घटना पनि थियो । आफ्नै बाबुले बलात्कार गरेको तथा यस घटना आमाले न पत्याएको पनि एक युवतीले माउनासलाई सुनाएकी थिइन् ।

यी सबै घटनाले लेडी माउनासलाई यौन अपराधको विरुद्धको एउटा अभियन्ता बनाएको हो । उनी महिला जागरणका लागि सरकारी कार्यक्रम लिएर धेरै स्थानमा पुगिन् । त्यत्ति मात्र होइन, आवश्यक परेको समयमा महिलालाई कानुनी सहायता पनि दिन थालिन् । उनको गीत महिला अधिकारका पर्याय बन्न थाले ।

सेनेगलमा महिलाले बलात्कृत भए पनि यस बारेमा कुरा गर्दा कलंकित हुने अवस्था थियो । यस कारण सबै जना मानिस यसका बारे कुरा गर्दा अनिच्छुक नै हुन्थे । यस विषयमा नै गीत गाउनु त बहादुरी नै हो । लेडी माउनासले यो गीत गाउँदा र संगीतको माध्यमबाट यसको विरुद्धमा आवाज उठाउँदा कुनै लाज मान्नु नपर्ने बताएका छन् ।

धेरै महिलाको पीडा त अझ फरक छ । यौन हिंसाको सिकार भएपछि परिवारबाट पनि बहिष्कृत हुनपर्ने अवस्था त अझ धेरै पीडादायक नै हो । दुई महिला त घरबाट पनि निकालिएका थिए । ती दुवैलाई आश्रयको व्यवस्था पनि तिनै गायिकाले गरेकी थिइन् ।

यसरी बलात्कृत भएर समाजबाट तिरस्कृतसमेत भएकाका लागि त्यहाँको पूर्वराष्ट्रपतिकी छोरी यासिन डियुफले आश्रयस्थल सञ्चालन गरेकी छन् । लेडी माउनासाले पनि त्यो आश्रयस्थल भ्रमण गरेकी थिइन् । ‘धेरै रिसाएका श्रीमान् र परिवारबाट टाढा राख्न यो स्थान खडा गरिएको हो’, डियुफले भनिन् ।

त्यो शिविरले एकपटकमा २५ देखि ३० जनासम्मलाई उनीहरूको बच्चासमेत आश्रय दिन सक्छ । त्यहाँबाट निस्केपछि पनि स्वावलम्बी जीवन बाँच्नका लागि उनीहरूलाई त्यसै स्थानमा सीप सिकाउने गरिएको थियो ।

संसारमा गीतले धेरै परिवर्तन गरेका छन् । राजनीतिक परिवर्तन र सामाजिक परिवर्तन दुवै गीत र संगीतले गरेका छन् । यिनै गीत मध्येको सो गीत अझै चर्चामा छ ।

प्रतिक्रिया