ललितपुरको आगो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु

काठमाडौं । ललितपुरकाे गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

आगो निभाउन गएका शंकर र रमेश पहरी गम्भीर घाइते भएका थिए । शंकरको मंगलबार तथा रमेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

गोदावरी नगरपालिका–६ टीकाभैरवको सामुदायिक वन, सोही नगरपालिकाको वडा नं ५ महादेव खोला सत्य सामुदायिक वन, वडा नं ४ बडिखेलको तपेश्वर मन्दिर वन, वडा नं ९ छेडा सामुदायिक वन, वडा नं ३ जयभद्र सामुदायिक वन, वडा नं १० चारघरे सामुदायिक वन, वडा नं. ९ ढुंगेनी पातले सामुदायिक वन, वडा नं २ ताप्लेछाप सामुदायिक वन, बागमती गाउँपालिका–५ कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका–३ लुभु पातले सामुदायिक वनमा गएराति देखि आगलागी भएको प्रहरी उपरीक्षक सुवेदीले बताए । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेन र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको उनले बताए ।

यसैबीच, लेले जंगलमा लागेको डढेलो आनन्द वनमा फैलिएसँगै प्रहरी र स्थानीयको टोलीले त्यहाँ सञ्चालित कुष्ठरोग अस्पतालका ९३ जना बिरामीलाई बज्रबाराही अस्पताल स्थानान्तरण गरेको गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वालले जानकारी दिए । डढेलोमा फसेका १५ जनाको मंगलबार उद्धार गरिएको थियो ।–रासस

प्रतिक्रिया