कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउप्रति पत्रकार महासंघको आपत्ती

काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा आपत्ती जनाएको छ ।

अध्यक्ष सिरोहिलाई नागरिकता प्रकरणमा मंगलबार उपत्यका अनुसन्धानका कार्यालय र काठमाडौं प्रहरी परिसरको टोलीले थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयबाटै पक्राउ गरेको हो । उनको पक्राउप्रति पत्रकार महासंघले घटना प्रतिशोधपूर्ण ठहर गरेको छ ।

महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट सिरोहियालाई पक्राउ गरेको र राज्यशक्तिको यस प्रकारको दुरुपयोग नस्वीकार्ने बताएका छन् ।

आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाउँदा पनि सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिनु गम्भीरतापूर्वक रहेको महासंघले जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्ने गरी उनले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघले भनेको छ ।

‘कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले स्वीकार्दैन,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्यतथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न कान्तिपुरको सम्पादकीय नेतृत्वसँग महासंघ साथमा रहेको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ ।’

त्यसैगरी समाजवादी प्रेस संगठनले पनि अध्यक्ष सिरोहियालाई पक्राउ गरिएकामा निन्दा गरेकोे छ । मंगलबार नै समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले सिरोहिया पक्राउ परेपछि एक विज्ञप्ति जारी गर्दै निन्दा प्रकट गरेका हुन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ, थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स कार्यालयबाटै आज मंगलबार अपराह्न बर्दीधारी प्रहरीद्वारा पक्राउ गरिएको घटनाप्रति समाजवादी प्रेस संगठन नेपाल घोर निन्दा प्रकट गर्दछ ।

गृहमन्त्री रवि लामिछानेका सहकारी ठगी, दोहोरो राहदानीलगायतका विषयमा निरन्तर समाचार प्रवाह गरिरहेको र उनीउपर कानूनी सजायका निम्ति खबरदारी गरिरहेको कान्तिपुरमाथि राज्यले प्रतिशोध साँध्दै उक्त सञ्चारगृहका प्रमुख व्यक्तिलाई धरपकड गरिएको पाइएको छ । स्वतन्त्र सञ्चारगृहभित्र प्रहरीको परेड देखाएर सिंगो सञ्चार क्षेत्रलाई आतंकित पार्ने सरकारको प्रयत्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रतिकूल छ ।

यसले सञ्चारक्षेत्रमाथि विगतमा पञ्चायत तथा शाही सत्ताले समेत हिम्मत गर्न नसकेको बर्बरतापूर्ण व्यवहार प्रदर्शन गरेको हाम्रो ठहर छ । समाचारका विषयमा कुनै आपत्ति या प्रतिक्रिया भए त्यसका निम्ति विद्यमान सञ्चार कानून तथा राज्यद्वारा खडा गरिएको निकायमार्फत प्रस्तुत गर्न सकिने अवस्था हुँदाहुँदै गृहमन्त्रीका अनगिन्ति अपराधजन्य गतिविधि दबाउनका निम्ति यस्तो हर्कत गरिएकोमा कुनै शंका छैन । हाम्रो संगठन सिरोहियाको तत्काल रिहाइ तथा प्रेस क्षेत्रमाथि सिर्जना गरिएको भयपूर्ण वातावरणको अन्त्यका निम्ति सरकारसमक्ष माग गर्दछ ।

सिरोहियाविरुद्ध नागरिकता प्रकरणमा मंगलबार धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सिरोहियाको नागरिकताबारेको विवादमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गराइएको बताएका छन् ।

उनले आजै आफूविरुद्धको पक्राउ पुर्जी पूर्वाग्रहपूर्ण र मिडियामाथिको हस्तक्षेप भन्दै सर्वोच्चमा रिट दिएका थिए ।
पक्राउ पुर्जी जारी भएको समाचार बाहिरिएपछि सिरोहियालाई भेट्न नेपाली कांग्रेसका सांसदहरू कान्तिपुरको कार्यालयमा पुगेका थिए।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि कांग्रेस सांसद बद्रि पाण्डेले सिरोहियालाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गर्न खोजिए पार्टीले नसहने बताएका थिए ।

प्रतिक्रिया