रौतहट । राजपुरमा भएको बमकाण्डको घटनामा न्यायपालिकाबाट दोषी सावित भइसकेका आलमलाई जोगाउन नेपाली कांग्रेसले आमसभाको आयोजना गर्न लागेको छ । २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनको मतदानको पूर्वसन्ध्यामा बुथ कब्जा गर्ने उद्देश्यले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महमद आफताव आलमले आफ्नै काका स्वर्गीय शेख इद्रिसको गोठघरमा बनाउन लगाएको बम विस्फोट हँुदा घटनामा परी घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाउन लगाएको आरोपमा अदालतले आलमसहित ४ जनालाई दोषी ठहर गर्दै आजीवन कारावासको फैसला सुनाइसकेको छ ।
रौतहट जिल्ला अदालतले २०७६ असोज २६ मा पक्राउ परेका पूर्वमन्त्री आलम, आलमका भाइ मोहमद महताव आलम, बद्री साहनी, शेख सेराज भन्ने शेख सिराजलाइ अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला कानुन सम्मत नभई बाहिरी दबाबको आधारमा भएको भन्दै नेपाली कांग्रेस क्षेत्रीय समितिले आमसभा गर्न लागेको छ ।
घाइते भएका पिन्टु भनिने त्रिलोक प्रताप सिंह र ओसी अख्तरसहित अन्यलाई जिउँदै भएको अवस्थामा इँटाभट्टामा जलाएको आरोप लागेका आलमलाई जोगाउने उद्देश्यले कांग्रेसका कार्यकर्ताले आमसभा गर्न लागेको जनाएको छ । घटनाका ६ जना आरोपित अहिलेसम्म फरार रहेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटका सचिव रामचन्द्र गिरीले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आलमसहितका व्यक्तिलाई बिनाप्रमाण मुद्दा चलाएर कारागार चलान गरिएकोले आमजनतालाई जानकारी दिने र रिहाइका लागि दबाब सिर्जना गर्ने उद्देश्यले जेठ १५ गते क्षेत्रीय आमसभाको आयोजना गरिएको बताए ।
जिल्ला सचिव गिरीले पूर्वमन्त्री निर्दोष रहेको र योजनाअनुसार बाहिरी दबाबमा कारागारमा राखिएको बताउँदै बिनाप्रमाण थुनामा रहेका आलमसहितका अन्यलाई रिहा गर्नुपर्ने बताए । नेपाल तरुण दलका केन्द्रीय सदस्य शेख नौशाद आलमले पूर्वमन्त्री आलम विरुद्धमा दबाबमा न्यायालयले फैसला दिएको आरोप लगाए ।
न्यायालयमाथि विश्वास भए पनि आलमको हकमा भएको फैसला कागजको आधारमा नभई दबाबको आधारमा जन्मकैदको फैसला आएकोले न्यायको लागि क्षेत्रीय आमसभा आयोजना गरिएको उनले बताए ।
छोरालाई जिउँदै जलाएर हत्या गरेको भन्दै स्थानीय यमुनामाई गाउँपालिका–४ का नारायण सिंहले दिएको जाहेरीको आधारमा सर्वोच्च अदालतको आदेशपछि २०७६ सालमा पूर्वमन्त्री आलमलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएको थियो । साढे ४ वर्षपछि रौतहट जिल्ला अदालतले वैशाख १३ गतेका दिन फैसला सुनाएको थियो । घटनामा संलग्न रहेका अन्य ६ जनालाई घटना भएको १७ वर्ष बित्दा पनि रौतहट प्रहरीले पक्राउ गर्न सकेको छैन ।
दोषी सावित भइसकेका तथा फरार रहेका शेख फाजिले हक, शेख मोबिन, गौरीशंकर साह, सगीर आलम, शेख भदई, शेख जुमई भन्ने शेख मलकारलाई जोगाउन कांग्रेसले आयोजना गर्न लागेको आमसभाको तयारीमा पूर्वमन्त्री आलमका छोरा डाक्टर फिरदोस आलम, राजपुर नगरपालिकाका मेयर डाक्टर राजिक आलम, परोहा नगरपालिकाका नगरप्रमुख शेख वकिल लगायतका सक्रिय भएका छन् ।
रौतहट
प्रतिक्रिया