पुलिसले जित्यो जितपुरसिमरा गोल्डकपको उपाधि

सिमरा । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४औँ जितपुरसिमरा गोल्डकपको उपाधि जितेको छ । सोमबार राति सिमरा रंगशालामा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलोपटक जितपुरसिमरा गोल्डकपको उपाधि जितेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा पुलिसले जित निकालेको हो । प्रशिक्षक चेतन घिमिरेले टाइब्रेकरलाई लक्षित गरि अतिरिक्त समयको अन्तिममा मैदान पठाएका गोलरक्षक अमित टमाटा पुलिसको जितमा नायक बने । अमितले मच्छिन्द्रका दुई प्रहार रोकेपछि पुलिस उपाधि उचाल्न सफल भयो ।

मच्छिन्द्रका लागि विशाल तामाङ, सनिश श्रेष्ठ र दिवाकर चौधरीले गोल गर्दा सौरभ लिम्बु र चन्दन दासको प्रहार पुलिसका गोलरक्षकले सेभ गरेका थिए । पुलिसका लागि कप्तान रामचन्द्र बाजे, पुजन राई, सुजन मगर र आशिष राईले गोल गरे ।

यसअघि भएको प्रतिष्पर्धात्मक खेलमा दुबै टिमले निकै आकर्षक अवसरहरू सिर्जना गरे पनि गोल हुन सकेको थिएन । मच्छिन्द्र निर्धारित समयको अन्त्य तिर ९ खेलाडीमा सीमित बनेको थियो । उत्सव राई ८४औँ मिनेटमा रातोे कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए भने खेलको ८८औँ मिनेटमा मनिष डाँगी दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए । ९ खेलाडीमा सीमित भए पनि मच्छिन्द्रले अतिरिक्त समयको खेलमा पुलिसलाई दबाबमा राखेको थियो ।

पुलिसका गोलरक्षक अमित टमाटा फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए उनले शुभारम्भ कलेज अफ म्यानेज्मेन्टले प्रायोजन गरेको १० हजार नगदसहित ट्रफी प्राप्त गरे । पुलिसकै सञ्जित श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । उनले २५ हजार नगदसहित ट्रफी प्राप्त गरे । पुलिसका उज्ज्वल राई र वीरगन्ज युनाइटेड क्लबका फागुराम चौधरी समान २ गोलका साथ प्रतियोगिताको उच्च गोलकर्ता बने । उनीहरूले २५ हजार रुपैयाँ प्राप्त गरे ।

आयोजक नवजनजागृति युवा क्लब सिमराका प्रज्वल थापामगरले इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्टको ट्रफीसहित १५ हजार रुपैयाँ पाए । प्रतियोगिताको फेयर प्लेको ट्रफी आयोजक टिमले नै प्राप्त ग¥यो ।

मच्छिन्द्रका बिमल घर्तिमगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले टिभिएस स्कुटर प्राप्त गरे ।

नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा पूर्वमन्त्री एवं संघीय सांसद कृष्णकुमार श्रेष्ठ, महानायक राजेश हमाल, जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी र बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल उपस्थित थिए । पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद पटेल, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, नेपाली सेनाका सहायक रथी राजेन्द्रमणी गिरी र नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजी यज्ञविनोद पोखरेल पनि उपस्थित थिए । समापन समारोहमा जगदम्बा स्टिलका कृष्णदत भट्ट, नेपाभिट टायल्सका विभा झालगायत उपस्थित थिए ।

प्रतिक्रिया