मोफसलका ‘डिग्री माइला’का कलाकारहरू

काठमाडौं । गत ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘डिग्री माइला’का कलाकारहरू मोफसलका दर्शक भेटघाटमा निस्केका छन् । दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिन काठमाडौंका हलहलमा पुगिरहेका चलचित्रका प्रमुख कलाकारहरू मंगलबारबाट मोफसलका लागि निस्केका हुन् ।

दयाहाङ राई, आँचल शर्मा, विजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टिम मोफसल यात्रामा निस्केको हो । कोसी प्रदेशको राजधानी विराटनगरबाट सुरु हुने यो भेटघाट बिर्तामोड पुगेर टुंगिने निर्माता मणिराम पोखरेलले बताएका छन् ।

पोखरेलका अनुसार टिम मगंलबार बिहान १० बजे विराटनगरस्थित क्युएफएक्स सिनेमा हलमा पुगी ११–३० को सो हेर्न आएका दर्शकहरूसँग भेटघाट एवं संवाद गर्नेछन् । यसैक्रममा उनीहरू विराटनगरका विभिन्न सिनेमा हलहरूमा पनि पुग्नेछन् ।

विराटनगरपछि टिम इटहरीका दुई वटा सिनेमा हल इलाइट सिनेमा हल र इटहरी क्युएफएक्स पुग्नेछन् भने साँझको ५ बजे धरानस्थित फ्रेन्ड्स सिनेमाज पुग्नेछन् । त्यस्तै टिम बुधबार बिहान ११ बजे दमकस्थित डी म्याक्स सिनेमा हल र दिउँसो २ बजे बिर्तामोड क्युएफएक्स र ५ बजे पाथिभरा सिनेप्लाजामा जाने पोखरेलको भनाइ छ ।

निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्रले बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ । वितरकका अनुसार दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको चलचित्रको कमाइ तेस्रो दिनमा झन्डै ४ करोडको निकट पुगेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको चलचित्रका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ रहेका छन् ।
क्रिश लामा कार्यकारी निर्माता रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक रहेको छ । चलचित्रलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

प्रतिक्रिया