रहेनन् प्रकट पंगेनी

काठमाडौं । गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो ।

स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा दिउँसो करिब साढे ३ बजेतिर निधन भएको उनका भतिज प्रज्वल पंगेनीले बताए । ७० वर्षीय प्रकट पंगेनी शिव कास्कीको रूपा गाउँपालिकाका हुन् । उनका पत्नी, एक छोरा र एक छोरी छन् ।

‘तगारो छेउ आएर पनि आँगन टेकिनौँ’ उनको चर्चित गीत हो । उनी सिद्धहस्त गजलकार थिए । पंगेनीको वास्तविक नाम ‘शिवराज पंगेनी हो । उनका ‘यो मन कतै अल्झेको छ’, ‘जुनको चिठी जुनालाई’ लगायतका कृति प्रकाशित छन् । पंगेनीका गजल, गीतसहित कविता, कथा, लेख, मुक्तक आदि पनि प्रकाशित छन् । २०३९ सालमा भएको नाटक महोत्सवमा उनले सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए ।

उपचारमा मोटो रकम लाग्ने भएपछि मंगलबार नै आर्थिक संकलन अभियान थालिएको थियो । उनको उपचारका लागि पोखरा महानगरपालिकाले एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । पोखरेली सांस्कृतिक परिवार अध्यक्ष उपेन्द्र पौडेलले २५ हजार राखेर उपचार कोष स्थापना गरेरै सार्वजनिक अपिल गरेका थिए ।

उनको अन्त्येष्टि बुधबार दिउँसो गरिने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि शवयात्रा गरिनेछ ।

प्रतिक्रिया