यसरी बन्यो बिपी संग्रहालय

विन्दुकान्त घिमिरे

बल्लतल्ल २०६१ सालमा कागजी प्रक्रिया पूरा भयो । तर, सेनाले ठाउँ छाड्दै छाडेन । सेनाका जर्नेल शम्भुध्वज शाहले ‘गिरिजा र तिमी त गोली ठोक्नुपर्ने मान्छे हौ’सम्म भन्नुभयो, मेरै अगाडि । मैले प्रतिवाद गरिनँ । किनकी यो जग्गामा उहाँले धान रोपेर खाइरहनुभएको थियो । तर, अर्का जर्नेल शंभुराम भण्डारीको सदासयताका कारण सेनाको स्थापित विभागले भवन संग्रहालयका लागि हस्तान्तरण गर्न आर्सनल गणका नाममा पत्र लेखिदियो । तत्काल त्यो पत्र मैले आर्सनल गणलाई बुझाएँ । त्यसपछि सेनाले भवनभित्र पसेर सरसफाइका लागि अनुमति दियो । सुरुको दिन भित्र पस्दा निकै डरलाग्दो थियो । मान्छे बस्न छाडिसकेकोले सर्पको गुण भइसकेको रहेछ । माटो र इँटा जोडेर बनाइएको पर्खालमा मुसाले खोल्न थालेपछि सर्पहरूको गुण भएको रहेछ । बारुला र अरिंगालका गोलाहरू कति कति । रक्सीका बोत्तल तथा शिशा त कति कति । तीन बोरा त रक्सीका बोत्तल मात्रै बटुल्यौँ । भवन बाहिर परिसरमा नीलकाँडाको घारी भइसकेको रहेछ ।

२००७ सालको जनक्रान्ति राजनीतिक उपलव्धी मात्रै होइन, नेपालको सर्वांगीण प्रगतिको प्रवेशद्वार हो भन्ने कुरामा कहीँ कतै विमति छैन । यो परिवर्तनको अगुवा दूरदर्शी राजनेता बिपी कोइराला हुन् भन्ने कुरामा पनि कसैको विमति छैन । नेपाली राजनीतिको सबैभन्दा उपलव्धीमुलक घटना र यो घटनाका मुख्य पात्र बिपी कोइराला इतिहासका पुस्तकमा अमर छन् । यसको इतिहास लेखन तथा विष्लेषण धेरैले गरेका छन् । तर २००७ सालको जनक्रान्ति र बिपी कोइरालाको मूर्त अभिलेख राख्ने कामको अगुवाई भने थोरैले गरेका छन् । तिनै थोरै पात्रमध्ये एक हुन्, ‘परशुराम पोखरेल ।’ सुन्दरीजलस्थित बिपी संग्रहालयको परिकल्पना उनले नै गरेका हुन् । उनै अथक प्रयासमा बिपी संग्रहालय स्थापना भएको हो । बिपी संग्रहालय नेपाली राजनीतिक इतिहासको सबैभन्दा ठूलो मूर्त अभिलेख हो ।

शाही नेपाली सेनाको ब्यारेक रहेको स्थानलाई बिपी संग्रहालयमा रूपान्तरण गर्नु सानो चुनौती थिएन । एक हिसाबले यो अभियान तत्कालीन परिस्थितिमा एउटा ठुलै दुस्साहस थियो । सेनाको ब्यारेकलाई बिपी संग्रहालय बनाउने सोच कसरी आयो ? यस अभियानमा के कस्ता समस्या झेल्नुपर्यो ? प्रक्रिया के कसरी अघि बढ्यो ? अहिले बिपी संग्रहालयको अवस्था कस्तो छ ? भन्ने सन्दर्भमा यस पंक्तिकारले पोखरेलसँग संक्षिप्त कुुराकानी गरेको थियो । प्रस्तुत छ, उक्त कुराकानीको अंश उहाँकै शब्दमा ।

पृष्ठभूमि

बिपी संग्रहालय रहेको भवन आजभन्दा करिब १ सय २५ वर्षअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेका हुन् । त्यसैले यो भवन आफैँमा पुरातात्विक महत्वको हो । यो भवनमा सानाठूला गरी १२ वटा कोठा छन् । शहरबाट यति टाढा कुन प्रयोजनका लागि यो भवन बनाइएको हो भन्ने एकीन हुन सकेको छैन । सुन्दरीजल क्षेत्र रमणीय भएकोले कहिलेकाहीँ आएर आराम तथा मनोरन्जन गर्नका लागि यो भवन बनाइएको हुनुपर्छ । त्यसैगरी सिकार खेल्न जाँदा आउँदा बस्नका लागि पनि यो भवन बनाइएको हुनुपर्छ । त्यतिबेला यो भवनलाई आरामी घर भन्ने गरिएको बुढापाकाको मुखबाट मैले सुनेको हुँ ।

राणाशासनको अत्यपछि यो भवनलाई नजिकै रहेको नेपाली सेनाको आर्सनल गणका जर्नेलले क्वाटरका रूपमा प्रयोग गर्न थाले । २०१७ सालको ‘कू’ पछि जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्रीहरूलगायत १० जनालाई यहाँ ल्याएर थुनियो । पुस १ गते ‘कू’ भए लगत्तै यो भवनको वरिपरि अग्लो पर्खाल लगाएर चार वटा सेन्ट्रीपोस्ट निर्माणको काम तीन महिनाभित्र सम्पन्न गरेपछि फागुनमा उहाँहरूलाई यो ठाउँमा ल्याएर थुनिएको रहेछ ।

देशका सबैभन्दा महत्वपूर्ण र प्रभावशाली १० जना नेताहरूलाई ल्याएर थुनिएपछि यस क्षेत्रमा सेनाको सक्रीयता बढ्ने नै भयो । आसपासका गाउँहरूमा भय र त्रासको वातावरण उत्पन्न हुनु स्वभाविकै थियो । मेरो घर भएको गाउँ त यो जेलको सबैभन्दा नजिक हो । गाउँलेलाई भय तथा त्रासरहित बनाउन मेरा पिताजी होमनाथ उपाध्यायले भरमग्दुर प्रयत्न गर्नुभयो । लामो समय भारत बसेर भर्खर आफ्नो गाउँ आउनुभएकोले यो कारागार होइन, राजबन्दी गृह हो भन्ने कुरा पिताजीले बुझ्नुभएको रहेछ । राजबन्दी गृहको महत्व छुट्टै हुन्छ, भोलि यो ठाउँ ऐतिहासिक बन्छ, आत्तिनुपर्ने कारण केही पनि छैन भन्दै गाउँलेहरूलाई पिताजीले संझाउनुभएछ । निडर र हक्की स्वभावको भएकोले गाउँलेहरूले पिताजीलाई वडाध्यक्ष समेत बनाएछन् ।

२०२१ सालमा यस क्षेत्रमा नापी आयो । नापीका क्रममा घर जग्गा भएको ठाउँको नाम फिल्ड बुकमा उल्लेख गर्नुपथ्र्यो । त्यसका लागि वडाध्यक्षले उल्लेख गरेको नाम आधिकारिक मान्थ्यिो । बिपी कोइराला लगायतका नेताहरूलाई थुनेर राखिएको यो ठाउँको नाम फिल्डबुकमा के उल्लेख गर्ने ? भन्ने प्रश्न उठ्नु स्वभाविकै थियो । पिताजीले राजबन्दी गृह भनेर फिल्डबुकमा नाम उल्लेख गर्न लगाउनुभयो । अहिले यो भवन बिपी संग्रहालयको रूपमा आइपुग्नुको जग भनेकै पिताजीले गर्नुभएको यो हिम्मतदार निर्णय हो । बन्दीगृहको प्रशासन सिधै राजाबाट चल्ने भएका कारण राज्यका अन्य संयन्त्रले राजबन्दी गृह नाम उल्लेख भएकोमा तत्काल आपत्ति जनाउन जरुरी नठानेका पनि हुन सक्छन्, वा उनीहरूको ध्यान नपुगेको पनि हुनसक्छ । राजा महेन्द्रलाई यस विषयमा तत्काल जानकारी दिने पहुँच कसको थियो होला र ?

तर, जुन बेला यो कुरा दरबारमा पुग्यो, तत्काल मेरो पिताजीलाई वडाध्यक्षबाट हटाइयो । त्यसपछि पिताजी कहिल्यै वडाध्यक्ष बन्नु भएन । हुन त नेताहरूलाई यहाँ ल्याएर थुनेपछि राजा महेन्द्रले यो भवनको नाम गैंडागस्ती राखेका थिए । तर, नापीको फिल्डबुकमा नाम उल्लेख भइसकेपछि संशोधन गर्न नमिलेको पनि हुनसक्छ ।

संग्रहालय बनाउने घोषणा

म जन्मनुभन्दा दुई वर्षअघि नै बिपी कोइराला लगायतका नेताहरूलाई यस ठाउँमा ल्याएर थुनिएको हो । म यही बन्दीगृहको वरिपरि खेलेर हुर्कें । २०३६ सालको जनमत संग्रहका बेला म सुन्दरीजल क्षेत्रको बहुदल प्रचार प्रसार समितिको अध्यक्ष थिएँ । नेविसंघको राजनीतिमा सक्रीय भएका कारण पनि बिपी कोइरालालाई भेट्ने मौका पाएको थिएँ । त्यति बेलै मैले गाउँमा प्रचारप्रसारको क्रममा भनेको थिएँ, बहुदलले जित्यो भने यो राजबन्दी गृह संग्रहालयका रूपमा देशको ठूलो सम्पदा हुनेछ । भारतको राजघाटजस्तै यो क्षेत्र प्रख्यात हुनेछ ।’ नभन्दै काठमाडौंका अन्यत्र ग्रामीण क्षेत्रको तुलनामा यस क्षेत्रबाट बुहदलको पक्षमा धेरै नै राम्रो भोट खस्यो । तर देशभरको मत गणनापछि बहुदलले हारेको घोषणा गरियो । तै पनि बिपी कोइरालाले जनमत संग्रहको परिणाम स्वीकार गर्नुभयो ।

२०४६ सालको जनआन्दोलनका क्रममा पनि मैले पञ्चायत ढलेपछि बन्दीगृह बिपी संग्रहालय बन्ने भन्दै स्थानीय स्तरमा हिँडे । यस क्रममा सेनाको ब्यारेकका अफिसरहरूको आँखाको तारो बने । मेरा पिताजीलाईसमेत धम्की दिएछन् । मसँग त भनाभन नै भयो । सायद त्यतिबेला बहुदल नआएको भए हामी बाबु छोरामाथि सुरक्षाको धेरै ठूलो थ्रेट हुने संभावना थियो । तर सौभाग्यले जनआन्दोलन सफल भयो । अब त बिपी संग्रहालय बनाउन सकिन्छ भन्ने लाग्यो । स्थानीय बासिन्दालाई बोलाएर २०४७ जेठ २२ गते छलफलको कार्यक्रम राखेँ । तर, शाही नेपाली सेनाको सम्पत्तिको रूपमा रहेको यो ऐतिहासिक भवन तथा यति धेरै जग्गा खोसेर संग्रहालयमा परिणत गर्छु भन्नु दुस्साहस रहेछ । किनकी करिब पाँच रोपनी कम्पाउन्ड सहितको यो १२ कोठे भवनलाई सेनाका तत्कालीन जर्नेल शम्भुध्वज शाहले मोजमस्ती गर्ने स्थलका रूपमा प्रयोग गरेका थिए । कम्पाउन्डसँग जोडिएको करिब १७ रोपनी जग्गामा उनले सेनाका जवान प्रयोग गरेर धान रोप्ने गर्थे । त्यही कारण पनि संग्रहालयको कुरा उठाउनासाथ म आँखाको तारो भए ।

यो घटनापछि खुला रूपमा गतिविधि गर्न सक्ने कुरै भएन । डिउटीमा बसेका सिपाही तथा हवल्दारसँग बिस्तारै सम्पर्क बढाउन थालेँ । किनकी जसरी भवनभित्र छिरेर बिपी कोइराला लगायतका नेताहरूलाई राखिएको ठाउँ हेर्नुथियो । फोटो खिच्नु थियो । एकप्रकारले यो भवनको डिउटी दिने सैनिकहरू स्थायीजस्तै थिए । आठ–दश वर्ष यहीँ डिउटी गर्थे, त्यसैले सम्पर्क बढाउन सजिलो भयो । चुरोट किनेर दिने, पैसा सरसापटी गर्ने, बारीमा फलेका तरकारीहरू दिने गर्न थालेँ । उनीहरूलाई साथीजस्तै बनाएँ । भवन तथा जग्गाको लालपुर्जाको फोटोकपी, नापी नक्सा तथा फिल्ड बुकको फोटोकपी पनि हात पारेँ । यसैगरी बिपी कोइरालासँग संगत गरेको र गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु)को निकट रहेका केबी गुरुङ, खुमबहादुर खड्का, गोविन्दराज जोशी, लक्ष्मणप्रसाद घिमिरे, सुनीलकुमार भण्डारी लगायतका नेताहरूसँग सम्पर्क बढाउँदै संग्रहालयको अवधारणाबारे अवगत गराउन थालेँ । कम्तिमा एकपटक गिरिजाबाबुलाई ल्याएर यस क्षेत्रमा कार्यक्रम गराउन सकियो भने आफ्नो मिसन सफलताको बाटोमा जान्छ भन्ने लाग्यो ।

२०५४ पुस २६ गते सुन्दरीजल क्षेत्रमै ‘बिपी संग्रहालय अवधारणा’ विषयक गोष्ठी राखेँ । गोष्ठीको प्रमुख अतिथिका रूपमा गिरिजाप्रसाद कोइराला आउनुभयो । खेलकुद तथा संस्कृति मन्त्री शरतसिंह भण्डारी पनि आउनुभयो । गिरिजाबाबु आएपछि नेपाली कांग्रेसका अन्य नेताहरू त आउने नै भए । मिडियाहरूको पनि ओहिरो लाग्ने नै भयो । संस्कृति मन्त्री भण्डारीले बिपी संग्रहालय निर्माण अध्ययन समिति घोषणा गर्छु भन्नुभयो । गिरिजाबाबु पनि तयार हुनुभयो । मैले पूर्वाधार समिति गठन भइसकेको र यही समितिले यो कार्यक्रम राखेको बताएँ । पूर्वाधार समितिले अहिलेसम्म के के काम गरेको छ भनेर गिरिजाबाबुले सोध्नुभयो । मैले सबै विवरण उल्लेख गरेँ । । भवन तथा जग्गाको लालपुर्जाको फोटोकपी, नापी नक्सा तथा फिल्ड बुकको फोटोकपी आफूले ल्याइसकेको अवगत गराएँ ।

बिपीलाई नौ वर्षसम्म थुनेर राखिएको ठाउँ अब बिपी संग्रहालय बन्ने भयो भन्दै मिडियाहरूले निकै ठूलो प्राथमिकता दिएर समाचार प्रवाह गरे । ब्यापक चर्चा भयो । मिडियामा आएको समाचारले नेपाली सेनाभित्र हलचल नै ल्याइदिएछ । बहुदलीय प्रजातन्त्र आए पनि नेपाली सेना दरबारकै एउटा अंगजस्तो थियो । आफूसँग सम्बन्धित सबै कुरा राजदरबारमा जाहेर गर्ने र उसैको निर्देशनअनुसार चल्ने गथ्र्यो । ब्यारेकलाई संग्रहालय बनाउने घोषणा गिरिजाबाबुको मुखबाट आएपछि तत्कालीन प्रधानसेनापति प्रज्ज्वल्ल शमशेर राणाले राजदरबारको सैनिक सचिवालयमा पत्र लेख्नुभएछ । पत्रमा भनिएको रहेछ, ‘सुन्दरीजलस्थित आर्सनल गण माताहतको गैंडा गस्ती भवन जीर्ण भइसकेको छ, त्यसलाई भत्काएर नयाँ भवन बनाउने व्यवस्था गरिपाउँ ।’

भवन नै भत्काइदिएपछि बिपी संग्रहालय बनाउने कुरा हराउँछ भन्न नियतका साथ प्रधानसेनापतिलाई यस्तो पत्र लेख्न उक्साउने काम सेना भित्रैका मान्छेहरूले गरेका थिए । दरबारले के जवाफ दियो थाहा भएन, तर संग्रहालय घोषणा गर्न ढिलाइ भयो भने यो भवन रहँदैन भन्ने कुरा मलाई लाग्यो । मनमा छटपटी सुरु भयो । अर्कातिर नेपाली कांग्रेसका नेता तथा पार्टी तहबाट जे जस्तो अपेक्षा गरेको थिएँ, त्यो भएन, कांग्रेस भित्रैबाट षड्यन्त्र सुरु भयो । यो षड्यन्त्रको कहानी यो छोटो कुराकानीमा उल्लेख संभव भएन । बिपी संग्रहालय स्थापनाको प्रयास र यसको चुनौतीका सन्दर्भमा छुट्टै पुस्तक लेख्ने सोच बनाएको छु । पुस्तकमा सबिस्तार सबै कुरा समेट्ने प्रयास गर्नेछु ।

सरकारद्वारा साढे दुई करोड विनियोजन

पूर्वाधार समिति घोषणा गर्ने क्रममा मेरो प्रयासको अबमूल्यन गरियो, तर म निराश भएँ भने संग्रहालय बन्दैन भन्ने लाग्यो । तर, म थाकिसकेको थिएँ । त्यतिबेला म ओम अस्पताल सिटिस्क्यान सञ्चालनसम्बन्धी व्यवसाय थियो । अफिसमा बस्दै गर्दा बिपी संग्रहालय सन्दर्भमा लेख्न थालेँ । पत्रिकामा छपाउने हिसाबले देखेको थिएँ तर लेख्दालेख्दै अलि लामो भयो । १४–१५ पाना भयो । साथीहरूलाई देखाएँ । उनीहरूले यसमा बन्दीगृह भित्रका तस्बिरहरूसमेत राख्नसके अझ प्रभावकारी हुने सुझाव दिए । बन्दी गृहको डिउटीमा बस्ने सैनिकहरूसँगको व्यक्तिगत सम्बन्धलाई प्रयोग गरेर भवनभित्रै छिर्न सफल भएँ । चाहिए जति फोटो खिचेँ । त्यतिबेला हवल्दार विष्णुबहादुर श्रेष्ठले सारै नै ठूलो गुण लगाउनुभएको छ ।

लेख र फोटाहरू राखेर स्पाइलर ब्यान्डिङ गरी १५–२० वटा जति पुस्तिका तयार गरेँ । एउटा पुस्तिका गिरिजाबाबुलाई दिएँ । गिरिजाबाबुले नरहरि दाइलाई पढ्न दिनुभएछ । किनकी नरहरि दाइलाई कार्यदलको अध्यक्ष बनाउने कुरा भएको थियो । २०५४ माघमा नरहरि दाइको अध्यक्षतमा कार्यदल बन्यो । मलाई सदस्यको जिम्मेवारीमा राखियो । तर, कामले गति लिन सकेन । करिब चार वर्ष जति यत्तिकै अलमल भयो । २०५८ सालमा तत्कालीन संस्कृति मन्त्री तारिणीदत्त चटौत स्थलगत अवलोकनका लागि आउनुभयो । मैले सबै ब्रिफिङ गरेँ । गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो । चटौतजीले गिरिजाबाबुलाई सबै कुरा अवगत गराउनुभएछ । यो प्रयास सेनासम्म पनि पुगेछ । २ करोड ८६ लाख रुपैयाँ निकासा दिएर त्यो रकमबाट सानो भर्याङ नजिकै सेनाको डेटोनेटर राखिएको ठाउँसँगै जोडिएको ३० रोपनी जग्गा खरिद गरिदिनुपर्ने प्रस्ताव सेनाबाट आयो । सुन्दरीजलको २३ रोपनी जग्गाको सट्टा स्वयम्भू सानो भर्याङ्मा ३० रोपनी जग्गा पाए बिपी संग्रहालयका लागि मार्ग प्रशस्त गर्न सेना तयार भयो ।

सेनाको त्यो माग पूरा भयो । अहिले सानो भर्याङको त्यो जग्गामा भव्य बिल्डिङ बनाएर नेपाली सेनाले मेडिकल कलेज सञ्चालन गरेको छ । तर, सेनालाई सानो भर्याङमा जग्गा किनीदिनका लागि निकासा भएको रकममा कोइराला परिवारका केही सदस्यहरूकै आँखा लागेको प्रकरण छुट्टै छ । संग्रहालयको सट्टा बिपीका नाममा फिल्म बनाउन त्यो साढे दुई करोड रुपैयाँ प्रयोग गर्ने प्रयास स्वरूप धेरै षड्यन्त्र भएका थिए । कसकसले के के षड्यन्त्र गरे ? कसरी अलमल भयो ? यी षड्यन्त्र चिर्न के के प्रयास गर्नुपर्यो ? मैले के कति दुःख पाएँ ? भन्ने सन्दर्भमा पनि पछि पुस्तकमा सबिस्तार उल्लेख गर्नेछु । यसैगरी नेपाली सेनाले थप रकमका लागि के कसरी अल्झायो ? सेनाभित्रकै एउटा खेमा के कसरी संग्रहालय बन्नै नदिने रणनीतिमा लाग्यो ? भन्ने सन्दर्भमा पनि पुस्तकमा सबिस्तार उल्लेख गर्नेछु ।

बल्लतल्ल २०६१ सालमा कागजी प्रक्रिया पूरा भयो । तर, सेनाले ठाउँ छाड्दै छाडेन । सेनाका जर्नेल शम्भुध्वज शाहले ‘गिरिजा र तिमी त गोली ठोक्नुपर्ने मान्छे हौ’सम्म भन्नुभयो, मेरै अगाडि । मैले प्रतिवाद गरिनँ । किनकी यो जग्गामा उहाँले धान रोपेर खाइरहनुभएको थियो । तर, अर्का जर्नेल शंभुराम भण्डारीको सदासयताका कारण सेनाको स्थापित विभागले भवन संग्रहालयका लागि हस्तान्तरण गर्न आर्सनल गणका नाममा पत्र लेखिदियो । तत्काल त्यो पत्र मैले आर्सनल गणलाई बुझाएँ । त्यसपछि सेनाले भवनभित्र पसेर सरसफाइका लागि अनुमति दियो । सुरुको दिन भित्र पस्दा निकै डरलाग्दो थियो । मान्छे बस्न छाडिसकेकोले सर्पको गुण भइसकेको रहेछ । माटो र इँटा जोडेर बनाइएको पर्खालमा मुसाले खोल्न थालेपछि सर्पहरूको गुण भएको रहेछ । बारुला र अरिंगालका गोलाहरू कति कति । रक्सीका बोत्तल तथा शिशा त कति कति । तीन बोरा त रक्सीका बोत्तल मात्रै बटुल्यौँ । भवन बाहिर परिसरमा नीलकाँडाको घारी भइसकेको रहेछ ।

रातभरी निदाउन सकिन

करिव एक महिना लगाएर सफाइको काम सक्यौँ । अब उद्घाटनको तयारीमा लाग्यौँ । तर, सेनाले डिउटी नछाडेकोले सन्त्रास बाँकी नै थियो । हामीले बिपी जयन्तीको अवसर पारेर २०६१ भदौ २४ गते गिरिजाबाबुबाट संग्रहालय उद्घाटनको कार्यक्रम तय गर्यौँ । अन्य राजनीतिकदलका शीर्ष नेताहरूलाई विशिष्ठ अतिथिका रूपमा निमन्त्रणा पत्र दियौँ । तर, उद्घाटन समारोहमा नेताहरू आउन नसक्ने हल्ला पनि फैलाइयो । गिरिजाबाबु स्वयंलाई कांग्रेसकै एक प्रभावशाली नेताले शंका उब्जने गरी ब्रिफिङ गर्नुभएछ । किनकी त्यतिबेला नेपाली कांग्रेस प्रतिगमन विरुद्धको आन्दोलनमा थियो । गिरिजाबाबुलाई राजाले थुन्छन् भन्ने हल्ला पनि फैलिइरहेको थियो । नेपाली कांग्रेस फुटेको थियो । फुटेको टुक्राका सभापति शेरबहादुर देउवालाई राजाले प्रधानमन्त्री पदमा मनोनीत गर्नु अर्थपूर्ण भएको चर्चा गरिएको थियो । प्रधानमन्त्री देउवाले गोर्खाली राजा न्याय गरे भन्दै हिँड्नुभएको थियो । एमाले प्रतिगमन आधा सच्चियो भन्दै राजाले मानोनीत गरेको सरकारमा सहभागी थियो । त्यसैले संग्रहालय उद्घाटन गर्न जाँदा सेनाले पक्रेर त्यहीँ थुनिदिने त होइन ? भन्ने शंका गिरिजाबाबुलाई पनि लागेछ ।

मलाई तत्काल पार्टी कार्यालयमा बोलाइयो । मैले आधिकारिक रूपमा उक्त बन्दीगृह संग्रहालयका नाममा आइसकेका सबै विवरण गिरिजाबाबुलाई पढेर सुनाए । साथै बन्दीगृह खाली गर्न सेनाको स्थापति विभागले सुन्दरीजलस्थित आर्सनल गणलाई लेखेको पत्र पनि पढेर सुनाए । गिरिजाबाबु अलि ढुक्क हुनुभयो । बिहान सातै बजे छिटोछिटो उद्घाटन गरेर चितवनको कार्यक्रममा गइहाल्ने योजना गिरिजाबाबुले बनाउनुभयो ।

यता सेनाले डिउटी नछाडेकोमा मेरो मनमा पनि धुकचुक बाँकी नै थियो । २४ गते बिहान ७ बजे उद्घाटनको कार्यक्रम थियो । तर २३ गते बिहानसम्म सेनाले संग्रहालयमा पहरा दिइरहेको थियो । निमन्त्रणा चिठी बाँडेर २३ गते दिउँसो ३ बजेतिर सुन्दरीजल फर्कंदै थिएँ, ‘डिउटीमा बसेका सैनिकहरूले ट्रकमा सामान लोड गरेर फर्कंदै गरेको बाटोमा देखेँ ।’ जम्काभेट भयो । उनीहरूले हात हल्लाएर बाईबाई गरे । त्यसपछि सरासर संग्रहालयभित्र हामी गयौँ । त्यही राती १० बजेसम्म बसेर भोलिपल्टको कार्यक्रम तयारी गर्यौँ । सबै साथीहरूका लागि मैले घरबाटै खाना मगाएँ । तर सुत्ने ठाउँ थिएन । केही साथीहरूलाई बिदाइ गरेर हामी सात जना त्यहीँ कुरेर बस्यौँ । पिताजीले ओढ्ने ओछ्याउने ल्याइदिनुभयो । हामी सुत्यौँ । तर मलाई भने जीवनमा सबैभन्दा ठूलो खुसी भइरहेको थियो । खुसीका कारण निन्द्रा नै लागेन ।

बिहान ५ बजेतिर उठेर बाहिर निस्केँ । घरमा लुगा फेर्न जान लागेको थिएँ, नेपाल समाचारपत्रका पत्रकार किशोर सापकोटा टुप्लुक्क आइपुग्नुभयो । सेनाले डिउटी छाडेपछिको रित्तो भवन हेर्न आउनुभएको रहेछ कि जस्तो लाग्छ । उहाँले मलाई सोध्नुभयो, ‘दाइ कतिबेला आउनुभयो ?’ मैले यसको जवाफ कवितामै दिनु पुगेछु । त्यो कविता उहाँले समाचारसँगै छाप्नुभएको छ ।

उहाँले सोधेको प्रश्नको जवाफ दिँदै मैले भनेँ,

‘पहिलो परिवेशमा बिपीलाई राखे, चारैतिर संगीन सोझ्याए ।

दोस्रो परिवेशमा बिपी मुक्त भए, तै पनि संगीन सोझ्याइ रहे ।

तेस्रो परिवेशमा ती पनि गए, बिपीका अनुयायीहरूले कारागार रुँघेर बसे ।’

बिपीलाई राष्ट्रिय विभूति घोषणाको प्रस्ताव

२०६१ भदौ २४ गते सातै बजे गिरिजाबाबु आउनुभयो । तर, अन्य अतिथि आउन बाँकी थियो । उद्घाटनका लागि गिरिजाबाबुुले हतार गर्नुभयो । मेनगेटको कालोढोकाको ताल्चा खोलेर गिरिजाबाबुले उद्घाटन गर्नुभयो, तर एमालेका महासचिव माधव नेपाल आइपुग्नुभएको थिएन । गिरिजाबाबु फर्कने तरखरमा लाग्नुभयो । किनकी एमाले राजाको सरकारमा सामेल भएका कारण गिरिजाबाबु रिसाउनुभएको थियो । सय दिनदेखि माधव नेपालसँग बोलचाल थिए । केहीबेरमै माधव नेपाल अइपुग्नुभयो । मैले गिरिजाबाबुलाई भनेँ, ‘माधव नेपाललाई नलिई हजुर फर्कन पाउनुहुन्न, किनकी उहाँ तपार्इंलाई प्रमुख अतिथि मानेर यहाँ आउनुभएको हो, यो हजुरको ठाउँ हो, उहाँ हजुरको पनि अतिथि हो ।’

यसपछि गिरिजाबाबु फरक्क फर्केर मन्चमा आएर बस्नुभयो । माधव नेपालसँग बोलचालभयो । त्यहि बेला मैले बिपी कोइरालालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ भन्ने प्रस्ताव लेखेँ । यो प्रस्तावमा माधव नेपालले खुसी भएर हस्ताक्षर गर्नुभयो । संयुक्त जनमोर्चाका अध्यक्ष अमिक शेरचन, नेपाल सद्भावना पार्टीका अनिल झा तथा हृदयेश त्रिपाठीले पनि हस्ताक्षर गर्नुभयो । गिरिजाबाबुले के हो भनेर सोध्नुभयो, अनि हस्ताक्षर गर्नुभयो ।


माधव नेपालले त्यही कार्यक्रममा बिपी सबैका सझा सम्पत्ति हुन् भन्दै संग्रहालय बनेकोमा ज्यादै खुसी प्रकट गर्नुभयो । बरु कांग्रेसकै केही मान्छेहरू कम्युनिस्टलाई उद्घाटन समारोहमा किन बोलाएको भन्दै मेराविरुद्ध गिरिजाबाबुसँग कुरा लगाउँदै रहेछन् । उद्घाटन गर्दै गिरिजाबाबुले भन्नुभयो, ‘मैले बिपीलाई थुनेको कालो गेट मात्रै खोलेको होइन, मेलमिलापको ढोकासमेत खोलेको हुँ, अब माओवादीसँग वार्ता गर्छु ।’

प्रतिक्रिया