कांग्रेस ओलीको भुंग्राेमा जाकिने सम्भावना

इलाम र बझाङको उपनिर्वाचनको नतिजाले मूलधारका राजनीतिक दलहरूको मूल संकट भने टार्न सक्दैन । रविको रन्को माई खोलामा सेलाए पनि बालेनको बादलले ग्रहण लगाउने देखिन्छ । कुनै उल्काको बज्रपात नहोला भन्न पनि सकिन्न । मन, वचन र कर्मले आफूलाई परिवर्तन नगरेसम्म संकट टरेर जाने होइन बढेर जाने देखिन्छ ।

ताराबहादुर कोइराला

पुराना राजनीतिक दलहरूमाथि अविश्वास र भरोसा घटेर गइरहेको अवस्थामा इलाम र बझाङमा भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी र नेपाली कांग्रेस नजिकको प्रतिद्वन्द्वी बन्यो । परिवर्तनको तथाकथित विकल्पमा उम्लिएको रास्वपाको जमानत जफत भयो । राप्रपा र नेकपा समाजवादी लगायतका राजनीतिक दलहरूको सर्वनाक हार भयो ।

आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पहुँच, प्रतिनिधित्व र सहभागिता स्थापित गर्नु पहिचान आन्दोलनको लक्ष्य हुनुपर्छ । पहिचानको आन्दोलनलाई सत्ता स्वार्थको भ¥याङ मात्र बनाएको कारण पहिचानवादीहरूप्रति जनताको समर्थन कमजोर देखियो । कांग्रेस एमालेले लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको सकारात्मक योगदानको स्मरण र मूल्यांकन पनि हो यो निर्वाचन । लोकप्रिय मतमा कमजोर भए पनि सांगठानिक रूपमा पकड मजबुत देखियो । विज्ञ, विद्वान र विश्लेषक भन्नेहरूदेखि सञ्चार जगतका स्याल हुइँया पिटनेहरूले मतगणना सुरु हुँदादेखि अन्त्यसम्म धेरैपटक आफ्नो दावी र अड्कल फेर्नु प¥यो । यो परिणामले भविष्यको संकेत त गर्छ तर यसको संरक्षण, विकास र दुर्घटनाबाट जोगाउन कति सफल हुन्छन् समयले देखाउला ।

इलाम र बझाङको उपनिर्वाचनको नतिजाले मूलधारका राजनीतिक दलहरूको मूल संकट भने टार्न सक्दैन । रविको रन्को माई खोलामा सेलाए पनि बालेनको बादलले ग्रहण लगाउने देखिन्छ । कुनै उल्काको बज्रपात नहोला भन्न पनि सकिन्न । मन, वचन र कर्मले आफूलाई परिवर्तन नगरेसम्म संकट टरेर जाने होइन बढेर जाने देखिन्छ ।

झन् यो उपनिर्वाचनको परिणामले केपी ओलीको तुजुक बढेर पार्टीभित्रसमेत तीव्र दमनको अवस्था सिर्जना हुने र गुटबन्दी सतहमा आउने अनि विद्रोह तथा विभाजनसम्मको स्थिति आउन सक्ने सम्भावना पनि छ । नेपालका कम्युनिस्टहरू लामोसमय मिलेर बसेको इतिहास पनि छैन । २००६ सालमा स्थापना भएको नेकपा २०१७ सालदेखि फुटन सुरु गरेर आजसम्म आइपुग्दा असंख्य टुक्राहरूमा विभाजित छन् । २०४६ सालको परिवर्तन पछाडि शक्तिशाली (मालिक) बनेका लोकतान्त्रिक नेताहरूको घमण्ड, स्वेच्छचारिता र निरंकुश कार्यशैलीका कारण पार्टी विभाजन र सरकार विगठन धेरैपटक भएका छन् । जेलनेल भोगेर खारिएका विभिन्न उमेर समूहका पुराना पुस्ता र उदयीमान नयाँ पुस्ता बीचको द्वन्द्व सबै पार्टीमा जबर्जस्त रूपमा देखा परेको छ ।

कामरेड ओली अझै २० वर्ष नेतृत्व गर्छु भनेर थर्काइरहेका छन् । ३३ वर्षका सुहाङ नेम्वाङ जितेर आइसके । सुहाङदेखि ओलीको वर्तमान उमेरसम्म १० वर्षलाई एक पुस्ता मान्ने हो भने सुहाङलाई छाडेर ५ पुस्ता विभिन्न पदमा नेतृत्व पाउन कुरेर बसेका छन् । नेकपा (एमाले) यी नेता कार्यकर्ताको पार्टीभित्र कसरी व्यवस्थापन गर्छ ? पार्टी भित्रको गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा र ओलीको हुकुमी शासनले उत्पन्न गर्ने संकटलाई कसरी समाधान गर्नसक्छ, यसैमा एमालेको भविष्य निर्भर छ । नौटंकी र बतासे पार्टी धेरै हुनुभन्दा एमाले पार्टी मजबुत र एकताबद्ध बनोस् मेरो त शुभकामना ! बाँकी कुरा समयले देखाउला ।

कांग्रेस सम्मानजनक दोस्रो मत प्राप्त गरेकोमा चित्त बुझाएर बस्ने र आन्तरिक प्रतिस्पर्धामा अल्झिएर रमाउने देखिन्छ । पराजयको दोष एकआपसलाई लगाएर दोषमुक्त हुने अवस्था छैन । टिकट वितरणमा चर्को विवाद भए पनि निर्वाचनको समयमा नेताहरू एकमत देखिनु सकारात्मक पक्ष थियो तर स्थानीय स्तरमा कांग्रेसकै केही नेता कार्यकर्ताले डम्बरबहादुर खड्कालाई सहयोग नगरेको भन्ने सुनियो । केन्द्रीय स्तरबाटै दुवै जिल्ला खासगरी इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको गम्भीरतापूर्वक समीक्षा र विश्लेषण हुनु जरुरी छ । अब परम्परागत सोच, शैली र मनस्थितिले नेपाली कांग्रेसको भविष्य सुरक्षित हुन नसक्ने यथार्थतालाई नेपाली कांग्रेसले बुझ्नु जरुरी छ । असन्तुष्ट साथीहरूको पहिचान गरेर उनीहरूको राजनीतिक भविष्यको ग्यारेन्टी नेताहरूले किन गर्न सकेनन् । आफ्नो पदका लागि मरिमेटने र स्पेस खोज्न रडाको मच्चाउने हाम्रा नेता आफूभन्दा तलका पार्टीमा योगदान गरेकाहरू पद, प्रतिष्ठा र सम्मानको आशा राख्छन् भनेर किन बुझ्दैनन् ।

‘सुहाङ इलामको जिम्मा लिन्छ, म सुहाङको जिम्मा लिन्छु । इलाममा भए जति विकास मैले गरेको र बाँकी सबै गर्छु,’ भनेर खड्ग ओलीले छाती ठोके र इलामेली जनतालाई आश्वस्त गराए । कांग्रेस सभापति इलाम किन नजानुभएको ? कि तपाईं त्यहाँ जानबाट कसैले रोक्यो । नेता शेखर कोइराला र महामन्त्री दुबै जना इलाम गएर भोट त माग्नुभयो तर पार्टी भित्रका समस्या समाधानमा कतिको ध्यान दिनुभयो ? नेताले भोट मागेर मात्र जनताले दिँदैन । जनताले नेताबाट वचनको भरोसा र मुलुकका मूलभूत समस्याको समाधान खोजेको हुन्छ । ओलीले सुहाङको जिम्मा लिएजस्तो तपाईंहरूले डम्बरको जिम्मा लिएको सुनिएन । त्यहाँ कतिपय मागहरू डम्बरले जिम्मा लिएर जनताले विश्वास गर्ने स्थिति थिएन । नेताहरूबाट अरूलाई गाली गर्ने, हिजोको गठबन्धनलाई गलत सावित गर्ने र पहिचानवादीलाई रिझाउने कुराहरूमा बढी केन्द्रित भएजस्तो लाग्यो ।

पहिचानको ठेक्का कांग्रेसले लिनुपर्ने थिएन । पहिचानवादीको आफ्नै उम्मेद्वार डेकेन्द्र थिगिम भएको अवस्थामा हामीलाई विश्वास गर्ने अवस्था थिएन । नेताहरूले पार्टी भित्रका साथीहरूलाई सम्हाल्ने, केन्द्रमा एमाले माओवादी गठबन्धन भए पनि माओवादी कार्यकर्ता समेटने र डम्बर र इलामको जिम्मा कांग्रेस केन्द्रले लिने कुरामा विश्वास दिलाउनुपथ्र्यो । उपनिर्वाचन त सकियो । यो उपनिर्वाचनलाई कांग्रेसको हितमा आवश्यक मात्रामा प्रयोग गर्ने कुरामा कमजोरी भए तर इलामको उपनिर्वाचनले कांग्रेसको हैसियत कमजोर बनेको भने छैन । आगामी दिनमा उपयुक्त रणनीति, निश्चित लक्ष्य र उद्देश्यकासाथ निर्वाचनमा जाने तयारी गर्नु आवश्यक छ ।

सुभाष नेम्वाङको छोरा भएर सहानुभूति पाउनु, जातमा लिम्बू हुनु, माओवादी र विप्लव माओवादीको भोट थपिनु सँगसँगै उमेरमा सानो भए पनि सुहाङ नेम्वाङसँग एक परिपक्व राजनीतिक संस्कार भएका कारण पनि अतिरिक्त मत थपिएकोले एमाले जित्न सफल भयो । झन् अरू पार्टीले निर्वाचनको तयारी गरिसकेपछि चरम विवादको बीच अन्तिम अवस्थामा टिकटको निर्णय हँुदा कांग्रेसभित्र अन्तरघात हुन्छ भन्ने सन्देश गइसकेको परिवेशमा केही स्थानीय नेता कार्यकर्ताको असहयोगसमेत हुँदाहँुदैको प्रतिकूल अवस्थामा ५ हजार ८०० चानचुनको मात्र मत फरकमा पराजय हुनुलाई अस्वभाविक मान्न मिल्दैन ।

प्रचण्डको ताउबाट उछिट्टिएको कांग्रेस ओलीको भुंग्र्रोमा जाकिने सम्भावनाको चर्चा व्यापक छ । यो कांग्रेसका लागि दुर्भाग्यपूर्ण निर्णय हुनेछ । कांग्रेसलाई सत्ता फाप्ने गरेको पनि छैन । गुमेको शक्ति र हराएको साख फर्काउन अनि फाटेको मनलाई जोड्नका लागी पार्टीलाई सशक्त बनाउन लागे कांग्रेसको हित हुनेछ । कांग्रेस आत्तिनु, हरेस खानु र उदास हुनुपर्ने जरुरी छैन तर आफूभित्र विकसित सत्तालिप्सा, निजी स्वार्थ र निरंकुशतालाई त्यागेर विधि, पद्धति र लोकतान्त्रिक मर्यादाको पालना गर्नु भने जरुरी छ ।

गृहमन्त्री रवि र अन्य मन्त्रीसमेत केन्द्रीय नेताहरू सम्मिलित राष्ट्रिय स्वतन्त्र पार्टीको ठूलो पल्टन इलाम उपनिर्वाचनमा सक्रिय देखियो । अन्य जिल्लाहरूबाट पनि सम्भव भएसम्म निर्वाचनमा जुटे । २०७९ सालमा भएको आमनिर्वाचन अनि चितवन र तनहुँको उपनिर्वाचनको विजयले हौसिएको रास्वपा इलामको निर्वाचन सजिलै जित्ने भ्रममा थियो । तर, परिणामले रास्वपाको राजनीतिक भविष्य नै अनिश्चित बनाइदियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी पढेलेखेका, पेसामा लागेका, पैसा कमाएका महत्वाकांक्षी युवाहरूले खोलेको पार्टी हो । मूलधारका राजनीतिक दलहरूसँग असन्तुष्ट जनमतको समर्थनमा २१ सिट जित्न सफल यो पार्टी मूलतः गैरकम्युनिस्ट पार्टी हो । राजनीतिक इतिहास, नीतिगत मान्यता र आर्थिक सामाजिक दृष्टिकोण स्पष्ट नभएकोले व्यवहार र बोलीमा मेल खाएन । राजनीतिक यात्राका कठिन दिन, जनपरिचालनका जटिलताहरू र नेपाली मनोविज्ञानको अनुभव उहाँहरूसँग छैन । यसको संवेदनशीलता, दायित्व बोध र भावनात्मक सम्बन्धका विषयमा गम्भीर देखिनु हुन्न । लहड, सौख र उत्तेजनाको कारण राजनीतिमा प्रवेश हुनुभएको छ । चोखो परिवर्तनको आकांक्षा राख्ने, राजनीतिक प्रतिष्ठा आर्जन गर्ने र अवसर छोप्ने तीन थरीका मानिसहरू छन् रास्वपामा । राजनीतिमा असफलता भोग्दै जानुप¥यो भने जिन्दगीभर राजनीति गर्ने धैर्यता र सहास धेरैमा नहोला । धेरैजसो आआफ्नो पेसामा फर्केलान् ।

नेपाली समाजले चिनेदेखि विवादित व्यक्ति रवि लामिछाने नेतृत्वमा छन् । अमेरिकामा ११ वटा मुद्दा बेहोरेका, वैवाहिक सम्बन्धमा विवादमा मुछिएका, एकपटक देशको माया मारेर नागरिकता त्यागेका, आर्थिक स्रोतविना करोडौँको मिडिया हाउस सञ्चालन गरेका र सहकारी ठगीमा मुछिएका रवि लामिछानेले लामो समय राजनीतिमा विश्वास पाउने देखिँदैन । विनाएजेन्डा गृहमन्त्री र अरू केही मन्त्रीमा मोलतोल गरेर सत्तामा जान हतार गर्नु, नीति, विधि र पद्धति मिचेर गठबन्धन गर्नु र इलामको निर्वाचनमा आफ्नै मान्यता र उद्देश्य विपरीतको एजेन्डा बोकेको व्यक्तिलाई टिकटदिनु जस्ता धेरै कामहरूले चरम अवसरवादी चरित्र प्रस्तुत भएको छ । इलाममा हारको कारण पनि यही बन्यो । राजनीति एक कठिन यात्रा हो । रास्वपा लामो समय टिक्ने देखिएन । जसरी उदायो त्यसैगरी अस्ताउने भयो । राजनीतिको महासागरमा पौडेर सफलता प्राप्त गर्न सबैले सक्दैनन् ।

प्रतिक्रिया