चिनियाँ निर्माण कम्पनीको हेलचेक्र्याइँले यात्रुलाई सास्ती

चिनियाँहरू मनले खाएका आयोजना छिट्टै बढाउँछन्, तर बाँकीको अवस्था ढिलासुस्ती नै रहेको छ । पश्चिमसेती, बुढीगण्डकी, मेलम्ची सबस्टेसन, माथिल्लो त्रिशूली ‘ए’ लगायतका अनेकौँ आयोजनामा काम निकै ढिलासुस्तीले भएको अथवा बीचमै छाड्ने काम चिनियाँ निर्माण कम्पनीबाट भएको हो । नेपालमा चिनियाँ निर्माण कम्पनीहरू आफ्नो विश्वसनीयता गुमाउँदै छन् । नेपाल र नेपाली जनताको हितलाई प्राथमिकता नदिने निर्माण कम्पनीलाई बोकी राख्नुको कारण छैन ।

श्रीमन नारायण

एसियाली विकास बैंकको ऋण सहयोगमा थालिएको नारायणगढ–बुटवल सडक खण्ड बिस्तारको कार्य कछुवाको गतिमा अगाडि बढेको छ । सडक विस्तारको ठेक्का हात पारेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले २०७९ साउनभित्रै यस सडक खण्डको विस्तार गर्न सम्पन्न गरिसक्नुपर्ने थियो । २०७५ पुसमा ठेक्का प्राप्त गरेको यस कम्पनीले अहिलेसम्म ५० प्रतिशत जति काम मात्रै पूरा गरेको छ । २ वर्षअघि सरकारले ठेक्काको म्याद थप गरेर २०८१ साउनसम्म पु¥याउँदा पनि यो सम्पन्न हुने छाँटकाँट देखिँदैन ।

सडक भत्काएर अस्तव्यस्त बनाइएको कारण दिनहुँ दुर्घटनाका भइरहेका हुन्छन् । वर्षायाममा हिलोका कारण हिँड्न नसकिने अवस्था र बाँकी समयमा धुलोका कारण नारकीय यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । धूप, धुँवा र धुलोलाई मानव शरीरको निम्ति अत्यधिक हानिकारक मानिन्छ । यस सडकखण्ड भएर यात्रा गर्नेहरूले धुँवा र धुलोसित मित्रता गाँस्नुको विकल्प छैन । चिनियाँ निर्माण कम्पनीहरूको हेलचेक्र्याइँका घटना यो एक्लो होइन । नेपालका कतिपय ठाउँमा चिनियाँ निर्माण कम्पनीहरूले लिएको ठेक्काको कार्यप्रगतिको अवस्था यस्तै खालका रहेका छन् । यसका बाबजुद नेपालका कतिपय नेता र अधिकारीहरूले पटकपटक तिनै निर्माण कम्पनीहरूलाई टेन्डर दिने र तिनको टेन्डरको म्याद थप्ने काम गर्दै आएका छन् । आफ्नै जनतालाई दुःख दिने र आफ्नो देशको विकास कार्यमा समस्या निम्त्याउनेलाई समर्थन गर्नेहरू नै आफूलाई राष्ट्रवादी पनि ठान्दै आएका छन् ।

नारायणगढ–बुटवल सडक खण्डको ११३ किलोमिटर लामो दुरीमा ११२ वटा कलभर्टमध्ये ४० वटाको मात्रै निर्माण सकिन लागेको अवस्था छ । अझ ७२ वटाको निर्माण बाँकी छ । साउन मसान्तसम्म यो सम्पन्न हुने सम्भावना देखिँदैन । निर्माण कार्यमा अपेक्षित प्रगति नदेखिएपछि सरकारले २०७९ सालको असोज महिनामा १ महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी चिनियाँ निर्माण कम्पनीलाई दिएको थियो, तर उसले चाँडै नै अधुरो रहेको निर्माण कार्य सम्पन्न गर्ने भन्दै सरकारलाई ढाँट्ने काम गरिरह्यो, सम्झौताअनुसार २ खण्ड गरेर ठेक्का रकम सय अर्ब रुपैयाँ जतिको रहेछ ।
नारायणगढ–बुटवल सडक विस्तारको काममा ढिलाई भएपछि एसियाली विकास बैंकले नेपालकै काम गर्ने क्षमतामाथि नै प्रश्न चिन्ह उठाएको छ ।

यसले नेपालको विश्वसनियतामाथि पनि असर पार्नेछ । जब एसियाली विकास बैंककै ऋणमा काम गर्नुछ भने चिनियाँ कम्पनीलाई नै टेन्डर किन ? नेपालका कम्युनिस्ट पार्टीका नेता र मन्त्रीहरू चिनियाँ निर्माण कम्पनीमाथि आँखा चिम्लेर विश्वास गर्दै आएका छन् । यसैको परिणति हो चिनियाँ निर्माण कम्पनीहरूको ढिलासुस्ती र हेलचेक्र्याइँ । नेपालका वामपन्थीहरूले चीनको देवत्वकरण नै गरिदिएका छन् । गत वर्ष निर्माण कम्पनीले २०८१ वैशाख दोस्रो साताभित्र काम सक्छु भनेको थियो तर साउनसम्म पनि यसको सम्भावना नदेखिएपछि अब २०८२ मंसिरसम्मका लागि परामर्शदार्तामार्फत म्याद थप मागेको छ । सरकारले चिनियाँ निर्माण कम्पनीको यो मागलाई कदापि मान्नु हुँदैन ।

८६ दशमलव ८२ किलोमिटर दुरीको कन्चनपुर–कमला सडकखण्डको ठेक्का सम्झौता २०७७ कात्तिक १३ मा भएको हो । सम्झौताअनुसार २०८० कात्तिक ११ भित्र निर्माण सकिसक्नुपर्ने हो । १५ अर्ब ६६ करोड रुपैयाँको यो ठेक्का चिनियाँ निर्माण कम्पनी चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कम्पनीले लिएको हो । काम नसकिएकोले आगामी पुस १० सम्मका लागि म्याद थपिएको हो । प्रगति अहिलेसम्म ४७ प्रतिशत मात्रै भएको छ । साढे ३ वर्षमा हुन नसकेको काम ९ महिनामा पूरा हुने कुरा पत्यारलाग्दो देखिँदैन । नेपाल सरकारलाई ढाँटेर आफ्नो टेन्डरको म्याद लम्ब्याउने प्रयास मात्रै गरिरहेको छ, चिनियाँ निर्माण कम्पनीले । पूर्वी खण्ड ३९ दशमलव ४२ किलोमिटर र पश्चिमी खण्ड ३६ दशमलव ९९ किमी दुरी रहेकोमा अहिलेसम्म ३२ दशमलव ८३ किलोमिटरमा २ लेन कालोपत्र गरिएको छ ।

सडकको निर्माण कार्य सुस्त गतिमा हुँदा यात्रुहरूले मास्क लगाई हिँड्नुपर्ने तर त्यसबाट पनि राहत पाउन नसकिने अवस्था रहेको छ । अहिले तराई मधेसको चर्को गर्मीका कारण धुलो र धुँवासँग धूपको गर्मीले पनि यात्रुहरूको अवस्था कष्टप्रद हुने गरेको छ । निर्माण सम्पन्न भएको केही ठाउँमा गुणस्तरको कुरालाई लिएर स्थानीय जनताले विरोध प्रदर्शन पनि गरेका थिए ।

पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा इटहरीखण्डको ९५ किलोमिटरमा ठेक्का भएको छ । यसको ठेक्का २०८० असोजमा भएको हो । काँकडभिट्टाबाट सीतापुरी खण्डको ४५ किलोमिटरसम्म ठेक्का युरो एसियन कन्स्ट्रक्सन कम्पनीले संयुक्त रूपमा लिएको छ जबकि सीतापुरी–इटहरी खण्डको ५० किलोमिटरमा भने चाइना रेलवे नम्बर २ र तुँदी कम्पनीले सयुक्त रूपमा ठेक्का लिएका हुन् ।

देशका अति नै व्यस्त सडक खण्ड मध्येहरूको पृथ्वीराजमार्गको आँबु खैरहनी जामुने पहिलो (पूर्वी) र जामुने पोखरा दोस्रो (पश्चिम) गरी २०७७÷०७८ मा विस्तारको ठेक्का भएको थियो । आर्थिक वर्ष २०८१÷०८२ भित्र सकिने गरी १३ अर्ब ६ करोड रुपैयाँमा ठेक्का भएको यस सडक खण्डको दुरी ८० दशमलव ३३ किलोमिटर रहेको छ । पहिलो खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना कन्स्ट्रक्सन कर्पोरेसनले लिएको छ । यो पनि एसियाली विकास बैंकको ऋण सम्झौतामा नै निर्माण भइरहेको छ । पहिलो खण्डको दुरी ४१ दशमलव ४५ किलोमिटर रहेको छ । दोस्रो खण्डको ठेक्का चिनियाँ निर्माण कम्पनी यान हुई कन्स्ट्रक्सनले लिएको छ । यसको दुरी ३ दशमलव ८८ किलोमिटर रहेको छ । यस सडकखण्डको कार्यप्रगति ३७ प्रतिशत हाराहारीमा छ । निर्माण कार्यको प्रगतिलाई हेर्दा यसको म्याद पनि १ वर्षको लागि थप्नुको विकल्प देखिँदैन ।

नागढुंगा–नौबिसे सडक खण्डको स्तरोन्नतिको अवस्था पनि अन्य ठाउँहरू जस्तै छ । विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यस सडक खण्ड अन्तर्गतको १२ दशमलव २६ दुरीको सडक खण्ड निर्माण १ अर्ब ३० करोडको ठेक्का जाङसु सगुनले लिएको हो । २०७९ जेठ २६ मा लिइएको ठेक्काको म्याद सकिन लाग्दा पनि ५० प्रतिशत काम मात्रै भएको छ । त्यसैगरी नौबिसे–मलेखुको ४३ दशमलव ५४ किमि दुरीको ठेक्का रकम ५ अर्ब ३३ करोड रहेको छ । जेडआइसिजी चाइना–शर्मा–लामा जेभीले यसको ठेक्का लिएको छ । यसको म्याद सकिन १ वर्ष बाँकी रहँदा अहिलेसम्म १९ प्रतिशत मात्रै काम भएको छ । तेस्रो खण्ड मलेखु–मुग्लिङको ठेक्का शर्मा–जेड आइसिजीले लिएको छ । ४ अर्ब २० करोड रुपैयाँको ठेक्का रहेको यसको म्याद २०८२ पुस १३ गतेसम्म रहेको छ । अहिलेसम्म यसको प्रगति ९ प्रतिशत मात्रै रहेको छ ।

नेपालको सडक पूर्वाधारमा सबैभन्दा बढी ठेक्का लिनेमा चिनियाँ कम्पनी छन् । तर, उनीहरूले लिएका प्रायः ठेकेदारी प्रगति भने निकै सुस्त देखिएको छ । कतिपयको पटकपटक म्याद थपिँदा पनि काम अघि बढ्न सकेको छैन । चिनियाँहरू मनले खाएका आयोजना छिट्टै बढाउँछन्, तर बाँकीको अवस्था ढिलासुस्ती नै रहेको छ । पश्चिमसेती, बुढीगण्डकी, मेलम्ची सबस्टेसन, माथिल्लो त्रिशूली ‘ए’ लगायतका अनेकौँ आयोजनामा काम निकै ढिलासुस्तीले भएको अथवा बीचमै छाड्ने काम चिनियाँ निर्माण कम्पनीबाट भएको हो । नेपालमा चिनियाँ निर्माण कम्पनीहरू आफ्नो विश्वसनीयता गुमाउँदै छन् । नेपाल र नेपाली जनताको हितलाई प्राथमिकता नदिने निर्माण कम्पनीलाई बोकी राख्नुको कारण छैन ।

प्रतिक्रिया