नेपालका सबै नदी प्रणालीहरू तराई हुँदै भारतका नदी प्रणालीहरूमा पुग्छन् । साथै नेपालका नदी प्रणालीहरू उत्तरबाट दक्षिण दिशातर्फ बग्ने भएकोले तराईका लागि कृषि–सिंचाइ कहिले पनि असहज हुने स्थिति छैन । कृषि–जल उपयोगका लागि राम्रो नीति तथा योजनाहरू निर्माण गर्ने हो भने तराईका कृषकहरूले सजिलै र प्रभावकारी किसिमले सिंचाइ सुविधा प्राप्त गर्न सक्छन । राम्रो सिंचाइ सुविधाको प्रयोग गरेर आफ्नो जमिनको उत्पादकत्वमा वृद्धि गर्न सक्छन ।
मूलधारको अर्थ ब्यवस्थामा राखेर मधेस वा तराईको अर्थ ब्यवस्थालाई हेर्नु हुँदैन । तर यही हुँदै आएको छ । बर्षौदेखि तराइको अर्थ व्यवस्थालाई नेपालको समग्र अर्थ ब्यवस्था भित्र जोडेर सोही अनुसार नीति, योजना एवं कार्यक्रमहरू निर्माण गरिंदै आएको छ । अचम्म त लाग्छ ! २०४६ सालमा भएको राजनितक परिवर्तन पछि पनि तराईलाई एकत्रित रुपमा हेर्ने चलनमा संसोधन हुन सकेन ।
तराईको अर्थ ब्यवस्थालाई छुट्टै किसिमले लिनु पर्छ । अर्थतन्त्र सम्बन्धी नीतिहरू निर्माण गर्दा तराइको लागि छुट्टै नीतिहरू निर्माण गर्नु पर्छ । छुट्टै योजना तथा कार्यक्रमहरु ल्यउनु पर्छ । तराइको अर्थ तन्त्रलाई देशको समग्र अर्थतन्त्रसँग जोडेर हेर्नु हुँदैन । किन ?
नेपालको अर्थ व्यवस्थामा तराईको विशेष किसिमको भूमिका छ । तराईको भौगोलिक स्थिति, भूमिको उर्बरता, श्रम बजार, हावापानी, मौसम र सिंचाइ प्रणाली आदिले तराईलाई अनेक किसिमका औसर एवं फाइदाहरू दिएको छ । तर तराई सम्बन्धी छुट्टै नीतिहरू निर्माण नभएको कारणले यस क्षेत्रमा रहेका अनेक औसरहरू जस्तै कृषियोग्य भूमि, अविरल सिंचाइ व्यवस्था, भूमिको ऊर्बरता आदिको राम्रो उपयोग हुन सकेन । कुनै समयमा अन्नको भण्डार कहलिने तराईमा अहिले ठूलो परिमाणमा अन्न भारतबाट आयात हुन्छ ।
तराईसम्बन्धी छुट्टै नीतिहरु निर्माण नभएको कारणले, तराइको राजनीतिलाई नेताहरूले आफ्नो फाइदाको लगि उपयोग गरेको हुनाले र मधेसी नेताहरूले आफूहरू सत्तामा पुग्न मधेसमा पटक पटक उत्पात (मधेस आन्दोलन) मच्चाएको कारणले कुनै समयमा लाखौलाई रोजगारी दिने तराई अहिले रोजगारी विहीन हुन पुगेको छ । ओठ निचोर्दा दुध आउने उमेरका तराईका युवाहरू समेत पनि रोजगारीका लगि खाडीका देशहरूमा पुगेका छन । तातो रेगिस्तानमा उँट चराउन बाध्य भएका छन् । आमाको काखमा हुनु पर्ने उमेरका युवाहरू पनि आफ्नो भाग्य खोज्न रेगिस्तानमा भौतांरिन बाध्य भएका छन् ।
तराईमा उपलब्ध निम्न महत्वपूर्ण कुराहरूले गर्दा समग्र राष्ट्रको आर्थिक विकासको लागि तराईको अर्थ तन्त्रलाई छुट्टै किसिमले हेरिनु पर्दछ । नीति, योजना र कार्यक्रमहरू निर्माण गर्दा तराइका लागि छुट्टै नीति, योजना तथा कार्यक्रमहरूको निर्माण गर्नु पर्छ ।
भौगोलिक स्थिति
तराईको भौगोलिक स्थिति अन्तर्राष्ट्रिय ब्यापारको लगि अति नै अनुकूल छ । तराई, अति ठूलो बजार भारतको ज्यादै निकट त छ नै, साथै भारत निकट रहेको स्थितिलाई उपयोग गर्दै यहाँबाट ठूलो परिमाणमा, समुन्द्री मार्गद्वारा, संसारका अनेक देशहरूमा अनेक किसिमका नेपाली मौलिक वस्तुहरु निर्यात गर्न सकिने औसर पनि छ । अर्थात नेपालबाट भारतको भूमि प्रयोग गर्दै, समुन्द्री मार्गबाट, ठूलो परिमाणमा तेस्रो मुलुकहरुमा निर्यात गर्न सकिन्छ । यो स्थिति राष्ट्रको अर्थ व्यवस्थाको लगि ज्यादै ठूलो कुरा हो । पश्चिम तराईको तुलनामा पूर्वी तराई समुन्द्र सँग अझ नजिक छ ।
ऊर्बर भूमि
तराईका खेतीयोग्य भूमिहरू अति नै ऊर्बर छन् । ऊर्बरता राम्रो भएको कारणले गर्दा एक वर्षमा तीन–चार बालीहरू लगाउन सकिने स्थिति छ । तराईको भूमि अति ऊर्बर भएको र छोटो समया धेरै बाली लगाएर बढी लाभ प्राप्त गर्न सकिने अवस्था रहेकोले यस क्षेत्रलाई अन्नको भण्डार भनिएको हो । साथै खन जोतका लागि पनि तराईको जमिन सहज छ ।
सिंचाइ
नेपालका सबै नदी प्रणालीहरू तराई हुँदै भारतका नदी प्रणालीहरूमा पुग्छन् । साथै नेपालका नदी प्रणालीहरू उत्तरबाट दक्षिण दिशातर्फ बग्ने भएकोले तराईका लागि कृषि–सिंचाइ कहिले पनि असहज हुने स्थिति छैन । कृषि–जल उपयोगका लागि राम्रो नीति तथा योजनाहरू निर्माण गर्ने हो भने तराईका कृषकहरूले सजिलै र प्रभावकारी किसिमले सिंचाइ सुविधा प्राप्त गर्न सक्छन । राम्रो सिंचाइ सुविधाको प्रयोग गरेर आफ्नो जमिनको उत्पादकत्वमा वृद्धि गर्न सक्छन । ठूलो परिमाणमा उत्पादन गर्न सक्छन । तराई क्षेत्रमा बेलैमा सिंचाइको सुविधा पु¥याउन नसक्ने हो भने देशलाई नै खाद्यान्न संकट पर्छ । उदाहरणका लागि मधेस प्रदेशको खेतियोग्य जमिन करिव पाँच लाख हेक्टर ( एक करोड रोपनी) छ । जनसंख्या ६० लाख भन्दा माथि छ । यस हिसावले एक व्याक्तिका भागमा पौने दुई रोपनी जमिन पर्ने देखिन्छ । पौने दुई रोपनी जमिनको उत्पादनले एक जना व्याक्तिलाई वर्षभरी खान पुग्ने अन्न उत्पादन त्यतिबेला हुन्छ , जतिबेला १२ रै महिना सिंचाइको सुविधा उपलव्ध गराउन सकिन्छ ।
यातायात
नेपालको हिमाली र पहाडी क्षेत्रमा यातायात व्यवस्था जति असहज र समस्याग्रस्त छ त्यति तराई क्षेत्रमा छैन । तुलनात्मक रुपमा, तराईको यातायात ब्यवस्थालाई अति सुगम नै मान्नु पर्छ । तराईको सुगम यातायात व्यवस्थालाई ब्यापारिक वस्तुहरू ओसार पसार गर्नमा प्रभावकारी किसिमले प्रयोग गर्न सकिन्छ । पहाडी र हिमाली क्षेत्रको तुलनामा तराईमा यातायात लागत पनि उच्च छैन ।
क्षेत्रीय बजार
हिमाली र पहाडी क्षेत्रको तुलनामा तराईमा क्षेत्रीय बजारहरू ठूलो संख्यामा छन् । र साथै तराईका क्षेत्रीय बजारहरूमा ठूलो परिमाणमा उत्पादन र बिक्री गर्न सकिने सम्भावना पनि प्रशस्त छ । तर तराईका बजारहरूलाई प्रभावकारी किसिमले प्रयोग गर्न सकिएको छैन । स्मरण रहोस, कुनै समयामा तराईमा ऊँखू, जुट, धान, काठपात आदि ठूलो परिमाणमा उत्पादन हुन्थ्यो। चारकोसे झाडीले, कुनै समयमा, तराइको अर्थ व्यवस्थालाई बलियो तुल्याउनमा महत्वपूर्ण योगदान पु¥याएको थियो । तराईमा उत्पादन हुने खाद्यान्नको मुख्य बजार हिमाली तथा पहाडी क्षेत्र पनि हो । यसका लागि नेपालको भूगोलले समेत साथ दिएको छ । उदाहरणका लागि कन्चनपुरको खाद्यान्न दार्चुला बझाङ ढुवानी गर्न टाढा छैन । झापाको खाद्यान्न ताप्लेजुङ ढुवानी गर्न टाढा छैन । खाँचो भनेको भरपर्दा उत्तर दक्षिण सडकहरुको हो ।
ऊर्जा वा इन्धन
घरेलु प्रयोग एवं कृषि, उद्योग तथा ब्यापारका लागि आवश्यक पर्ने ऊर्जा वा इन्धनको आपूर्ति तराईमा सहज छ । र यो आपूर्तिलाई झनै सहज तुल्याउन सकिन्छ । तराईमा सौर्य ऊर्जा ठूलो परिमाणमा उत्पादन गर्न सकिन्छ । जल–विद्युत पनि ठूलो परिमाण उत्पादन गर्न सकिन्छ, यदि ठूलो योजान निर्माण गर्ने हो भने । नारायणी र कोशी नदीको जललाई व्यवस्थित किसिमले उपयोग गर्ने हो भने ।
जलवायु
तराईको जलवायु कृषि अनुकूल रहेको मान्ने गरिन्छ । अर्थात तराईको जलवायुले तराईको कृषि प्रणालीको उत्पादकत्वमा ठूलो बृद्धि ल्याउन सक्छ । खासमा भन्ने हो भने तराईको जलवायु यस क्षेत्रको लागि वरदान हो । वरदान यस हुनाले हो किनभने यो मानव–निर्मित होइन। यस्तो जलवायु प्रकृतिले तराई क्षेत्रलाई दिएको उपहार हो । तर अफसोच ! विगतका व्यवस्था र सरकारहरूको अकर्मण्यताले गर्दा तराइ क्षेत्रको यो अनुकूल जलवायुको कृषि क्षेत्रमा ब्यापक प्रयोग गर्न सकिएको छैन ।
माथि उल्लेख गरिएका तथ्यहरूबाट के प्रष्ट हुन्छ भने तराइका आफ्नै किसिमका विशेषताहरू छन । र यी विशेषताहरूले केवल यस क्षेत्रको लागि मात्र होइन समग्र राष्ट्रको आर्थिक विकासमा ठूलो योगदान पु¥याउन सक्छन् । त्यसकारण तराईका विभिन्न विशेषता वा विशिष्ठताहरूको उपयोग गर्न तराइका लागि, तराइको आर्थिक विकासको लागि, छुट्टै किसिमका नीतिहरू निर्माण गर्न आवश्यक छ । छुटै किसिकमा योजना तथा कार्यक्रमहरू निर्माण गर्न आवश्यक छ । यस्तो गर्न सकिएमा तराईको अर्थ व्यवस्थामा सुधार ल्याउन सकिन्छ । तराइको आर्थिक विकासको गतिलाई तिब्र पार्न सकिन्छ । तराइबाट रोजगारीका लागि ठूलो संख्यामा युवाहरू खाडीका मुलुकहरु, मलेशिया, भारत तथा अन्य मुलुकहरूमा जाने स्थितिमा सुधार ल्याउन सकिन्छ ।
तराइको अर्थ व्यवस्थालाई सिंगो राष्ट्रको अर्थ व्यवस्था भित्र राखेर होइन, छुट्टै किसिमले राखेर हेर्न अब ढिलो गर्नु हुँदैन । यस्तो गर्न सकिएमा समग्र राष्ट्रको आर्थिक विकासको गतिले तिब्रता पाउने छ ।
प्रतिक्रिया