कृषि, किसान र देश बचाउनु आजको राष्ट्रिय कर्तव्य

इतिहास र समाजशास्त्रलाई खोतल्ने हो भने हाम्रो समाज पनि एक जमानामा उत्तम खेती, मध्यम ब्यापार, नीच नोकरी मान्ने प्रचलन थियो । हाम्रो समाजले पनि त्यतिबेला कृषिलाई सर्वोपरी स्थानमा राखेको कुरा यसबाट प्रष्ट हुन्छ । तर, आज त्यसको ठीक विपरीत कृषि कर्म सबैभन्दा नीच, व्यापार मध्यम नै र नोकरी सर्वोत्तम बन्न पुगेको छ ।

लोकनारायण सुवेदी

मानव समाज विकासको क्रममा विश्वमा जब कृषि सभ्यताको प्रादुर्भाव भयो त्यसबेलादेखि चलेको कृषि कर्म आज मानव जीवनको विकल्परहीत आधारभूत कर्म बनेको छ । जीवन धान्न, स्वस्थ राख्न र चलायमान गराउनका लागि अक्सिजन र पानीपछि खाद्य बस्तु नै नभई नहुने अति आवश्यक पदार्थमा पर्दछ । खानेकुरा वास्तवमा कुनै कारखानामा बन्ने पनि होइन । यो कृषिबाहेक अन्य कतैबाट प्राप्त हुँदैन ।

कृषिले दिने ऊर्जाले नै मानिसलगायत प्रायः अधिकांश जीव जगत जीवित छ र जीवात्माहरूको जीवन चलेको छ र गुजारा भएको छ । कृषिमा रहेका समस्या हल गर्नसके उत्पादन वृद्धि, गरिबी निवारण, रोजगारी अभिवृद्धि तथा व्यापार घाटा कम गर्न र भुक्तान सन्तुलनलाई व्यवस्थापन गर्नसमेत ठूलो मद्दत मिल्ने छर्लंग छ । तर यसलाई हामीकहाँ लामो समयदेखि एउटा सामान्य, गाउँले गँवार किसानहरूको उपेक्षित र तिरष्कृत कर्म जस्तै मात्र कृषिलाई मानिएको छ र व्यवहार गरिँदै आएको छ । यसका अतिरिक्त कृषि क्षेत्रमा विचौलिया र भू–माफियालाई खेल्न र बिगबिगी चलाउन दिएर किसान र आमउपभोक्ता निरन्तर ठगिने क्रम निरन्तर चलेको छ । फलतः यसले नीतिगत र व्यवहारगत पाउनुपर्ने, प्राथमिक स्थान, सम्मान र शतत सहयोग र पाउनबाट यो कर्म प्रायः वञ्चितजस्तै छ । कतै पाएको छ भने पनि त्यो पनि व्यापारिक र नाफाको एउटा बजारमुखी दृष्टिकोणले मात्र पाएको छ ।

स्वयं कृषि र किसानको समग्र हित र सुनिश्चित भविष्य कायम हुने गरेर कतै पाएको छैन । यस सम्बन्धमा शब्दावली पदावलीहरू जेसुकै प्रयोग गरिएका किन न हुन् ती किसानबाट अलग्गिएका बजारसँग जोडिएका र मुठ्ठीभर मुनाफाका साधन बन्ने गरी बनाएका जस्ता छन् । प्रकृतिपछिको यो मानव निर्मित अर्थात श्रमजीवी किसानहरूले निर्माण गरेको यो दोस्रो प्रकृति– खाद्यान्न, पक्वान्न, मिष्टान्न– अन्न, सागपात, फलफूल, दूध, माछा, मासु जुन रूपमा भए पनि ती प्राचीन, आधुनिक या अत्याधुनिक कल कारखानाका उपज बिल्कुलै होइनन् । ती दोस्रो प्रकृति– प्रकृतिका अधिशासित नियमहरूको नियमित अनुपालन गरेर गरिने प्रकृतिसँग जोडिएको जीवन्त कृषि कर्म हुन् । मानव जीवनको जीवन्त आधार यो कृषि कर्मको अभावमा अरू जतिसुकै अत्याधुनिक धेरै नाफा कमाउने विशालकाय उद्योगधन्धाहरू नै किन नहुन् तिनको कतै केही चल्दैन, हलचल बन्द हुन्छ । ती मृत प्रायः बन्छन् र सकिन्छन् । त्यसैले कृषिलाई जीवनदायिनी कर्म र किसानलाई जीवनदायिनी शक्ति भनिएको र मानिएको हो । यो यथार्थ सत्य कुरा हो ।

तर, किसानले आफूलाई त्यस्तो शक्ति मान्दैन, मान्न दिइएको छैन । उसले आफूलाई काम नलाग्ने धन्धा गर्न अभिशप्त गँवार, गाउँले, अशिक्षित रातो दिन झरी बादल, घाम पानी, हावा हुरीसँग खेल्ने एउटा कमजोर र छरपस्ट जमात मान्दछ । त्यस्तै मान्ने बनाइएको छ । उसले आजका सबै ‘सभ्य’ मानिने र ठानिने सहरबासी, नगरबासीहरूलाई कृषि उपजहरूको आपूर्ति गर्दछ । त्यो अकिञ्चन जमातले आफ्नो कर्म गर्न छोड्यो भने कथित सभ्यहरूको अस्तित्व नरहने कुरा उनीहरूले सोचेकै छैनन्, सोचेकै हुँदैनन् । तिनमा रहेको निष्कपट उच्च मानवीयताले उनीहरूलाई त्यस्तो सोच्ने कुनै कुसंस्कार दिएकै छैन । बरु त्यसको विपरीत ती प्रकृतिसँग खेल्ने, त्यसैमा रमाउने र अधिकांशतः अबोध प्राणीहरू नित्य निरन्तर कृषि कर्ममा लागेका हुन्छन् । प्रकृति अनुकूल भइदियो भने खुसी हुन्छन् । प्रतिकूल भइदियो भने पनि त्यसको सामना गर्न उनीहरू बाध्य छन् । रुन्छन्, कराउँछन्, छाती पिट्छन् र फेरि सम्हालिँदै प्रकृतिकै काखमा हिलो, धुलोसँग खेल्छन् । यो साल बिग्रियो अर्को साल कसो नसप्रेला भनेर आशावादको स्वप्नमय संसारमा डुब्छन् । यो तिनको नित्य कर्म हो रहँदै आएको छ ।

इतिहास र समाजशास्त्रलाई खोतल्ने हो भने हाम्रो समाज पनि एकजमानामा उत्तम खेती, मध्यम ब्यापार, नीच नोकरी मान्ने प्रचलन थियो । हाम्रो समाजले पनि त्यतिबेला कृषिलाई सर्वोपरी स्थानमा राखेको कुरा यसबाट प्रष्ट हुन्छ । तर, आज त्यसको ठीक विपरीत कृषि कर्म सबैभन्दा नीच, व्यापार मध्यम नै र नोकरी सर्वोत्तम बन्न पुगेको छ । कृषिजस्तो आधारभूत कर्मलाई आधारभूत स्थान दिइएको त्यो जमानाको सही कुरालाई आज पनि पुनस्र्थापना गरी कृषि कर्म र किसानलाई चौतर्फीरूपमा निरन्तर सहयोग गरेर उन्नत तुल्याउन सकिएन र यसलाई उद्योगलाई जोडेर अघि बढाइएन भने मानव अस्तित्व नै ठूलो र अपूर्व संकटमा पर्ने कुरा दिनप्रतिदिन सन्निकट हुँदै गइरहेको छ ।

आजको विश्वको बढ्दो जनसंख्या र जमिनको धान्न सक्ने क्षमता र कृषिले दिने समग्र उत्पादन अपुग हुने स्थितिको आँकलन गरेर नै संयुक्त राष्ट्र संघले पनि अरू धेरै खान हुने स्रोतहरू (एडिबल्स अहिले अस्तित्वमा भइरहेका बाहेक) अरू थप झारपात, बोट बिरुवा, पशुपंक्षी समेतलाई खाद्य बस्तुमा जोड्न बाध्य बनेको देखिँदै छ । यसले पनि कृषिको विश्वव्यापी महत्व, आवश्यकता तथा बढ्दो औचित्य र ज्वलन्तरूपमा चालिनुपर्ने थप कदमलाई प्रष्ट दर्शाउँछ ।

त्यसैले समय नाघिसकेको सामन्ती वितरण र उत्पादन पद्धतिकोे अन्त्य गरी बास्तविक किसानलाई जमीनकोमा स्वामित्व प्रदान गर्न, कृषि क्षेत्रमा सबैतिरमा रहेको ब्याप्त भएको भ्रष्टाचार र कमिसनखोरीको महाजाल तथा लघुवित्त, मिटर ब्याज, ठग सहकारीका किसान चुसाहा प्रवृत्तिलाई समाप्त पारेर कृषि र किसानमा नयाँ आशा र विश्वासको सञ्चार गर्न कृषिलाई आकर्षक तुल्याउने किसिमले अघि बढ्नुपर्ने आवश्यकता आज अपरिहार्य र टड्कारो बनेको छ । यस सन्दर्भमा भूमिसँग जोडिएको असमान वितरण, भू–माफियाहरूलाई पोस्ने नीति, भू–स्वामित्व र भू–उपयोगको समस्या, उत्पादकत्वको समस्यालाई हल गर्नुपर्ने पहिलो सर्वोपरी आवश्यकता छ । यसैलाई विगतदेखि नै वैज्ञानिक क्रान्तिकारी भूमिसुधार भनिँदै आएको हो ।

यसका अतिरिक्त अर्कोतिर कृषिलाई निरन्तर दिगो र उत्पादनशील तुल्याइराख्न किसानलाई लाभकारी मूल्य प्राप्त हुने किसिमको प्रगतिशील र सुनिश्चित बजार व्यवस्थापन, क्षतिपूर्तिको सही व्यवस्थाका साथ उन्नत र गुणस्तरीय प्रांगारिक, जैविक मल र सन्तुलित रासायनिक मल, बिउ, निरन्तर दिगो सिँचाइ प्रविधिको उपाय, रोग किरामुक्त बिउवीजन, रोाग लाग्न नदिने र लागि हालेमा नियन्त्रण गर्ने जैविक प्रविधिको उन्नत उपाय अबलम्बन गरिनु अत्यावश्यक छ । अनि कृषि क्षेत्रका कृषि श्रमिक, त्यस क्षेत्रका शिल्पी समुदाय (कथित दलित), कृषिमा काम गर्ने महिला किसान (जसको कामको गन्ती हुँदैन) का जमिन र ज्यालादारीका समस्याहरू पनि हल गरिनैपर्ने आवश्यकता छ ।

यसका अतिरिक्त माथि उल्लेख गरिएजस्तै मिटर ब्याज र लघुवित्त र ठग सहकारीका किसानमारा ऋणको मारले पनि किसानहरू आक्रान्त भइरहेका र संघर्ष गरिरहेका छन् । अझ किसानमारा नाफाखोरी उदारीकरण र निजीकरणको माध्यमबाट साम्राज्यवादी शोषण र उत्पीडन कृषि र किसानले झेलिरहनुपरेको छ । यी यावत मागलाई ६५ बुँदामा सूत्रबद्ध गरेर यतिबेला विभिन्न वामपन्थी ६ वटा किसान संगठनहरूले सरकारसमक्ष प्रस्तुत त गरेको छ । तर, ती महत्त्वपूर्ण समस्याकोे कुनै सुनावाई भएको छैन । कृषि र किसानको क्षेत्रमा उनीहरूमाथिको शोषण र अन्यायका विरुद्ध विभिन्न किसिमले संघर्षरत र कार्यरत सबैलाई समेटर राष्ट्रिय किसान आन्दोनल उठाउनुपर्ने आवश्यकता जोडदाररूपमा औँल्याइरहेका छन् । किसानको एकता नै राष्ट्रिय एकताको सबल आधार हो र हुनुपर्दछ भन्ने कुरा उठाइरहेका छन् ।

यी सबै कार्यका अतिरिक्त जल–ऊर्जा शक्ति अर्थात जल विद्युत् वास्तवमा किसानको प्राथमिकतामा पर्नुपर्दछ र कृषि, वन वातावरणलाई जोगाउन विद्युत्को भरपूर र सार्थक उपयोग गर्ने गरी मूलतः आन्तरिक खपतका लागि जल विद्युत उत्पादन कृषिसँगै जोडिएको अर्को महत्त्वर्ण र आधारभूत राष्ट्रिय कदम हो र हुनुपर्दछ । अन्यथा हामी मौसम अनुकूल हुँदा धानबालीलगायत बालीनाली सप्रिने, राष्ट्रिय आम्दानी (जिडिपी) बढ्ने, अर्थतन्त्र सामान्य सुध्रिने र अनुकूल नहुँदा ती सबै कुरा बिग्रने या गुम्ने स्थितिभन्दा माथि उठ्न कदापि सक्ने छैनौँ । अनि आजसम्मको कृषिप्रति गर्ने गरिएको अपहेलना र तिरष्कारकै निरन्तरताबाहेक थप अरू केही पनि हुने छैन । त्यसैले आज किसान वर्ग नै कृषिको चौतर्फी समुन्नति, प्रगति र आमूल परिवर्तनका लागि पहिल्यै कहिल्यैभन्दा जागरुक, संगठित र संघर्षशील हुनुको कुनै विकल्प छैन ।

वास्तवमा कृषि र किसान सामन्तवाद र साम्राज्यवादबाट मुक्त नभई सही अर्थमा कृषि र किसानको चौतर्फी समुन्नति हुन सक्ने वातावरण नबन्ने मात्रै होइन, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरू पनि सही अर्थमा समाधान भएर जान सक्तैनन् । त्यसैले नै किसान वर्गका विभिन्न तह र तप्का नयाँ जनवादी क्रान्तिका मेरुदण्ड हुन् भन्ने महत्त्वपूर्ण विश्लेषण गरिएको र निष्कर्ष निकालिएका हो र यो शक्तिलाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाको महत्त्वपूर्ण आन्दोलनको संवाहक र पहरेदारको रूपमा लिएर अघि बढ्नुपर्दछ भन्ने मान्यता विकसित गरिएको हो । वस्तुतः किसान र कृषिलाई बचाऔँ देश बचाऔँ, राष्ट्रियतालाई सुदृढीकरण गरांँ भन्नुको तात्पर्य पनि यही नै हो ।

कोभिड–१९ महामारीले कृषिमा ध्यान केन्द्रित गर्न विश्वव्यापीरूपमा नै गम्भीर ध्यानाकर्षण गरिरहेको विश्वको पछिल्लो सन्दर्भमा यी कुराहरूलाई जीवन्त र गहनरूपमा मनन गर्न सकियो र सिकियो भने मात्र मुलुकलाई सही दिशामा अग्रसर तुल्याउन अग्रसर हुन सकिन्छ । देशलालाई आत्मनिर्भर र परनिर्भरताको पासोबाट मुक्त बनाउन सकिन्छ । अन्यथा देश र जनताको अस्तित्वकै भयावह संकट उत्पन्न हुने कुरा निश्चित छ । यसर्थ यो असामान्य अवस्था सिर्जना हुन नपाओस् भन्ने अत्यन्त संवेदनशील विषयमा गम्भीर ध्यान पु¥याउन राज्यले तत्कालै विशेष र दृढ कदम चालोस् । लगानी सम्मेलन या अरू कुनै बहानामा भूमाफिया र बिचौलियाहरूलाई हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा र किनबेच गर्न नदिइयोस् ।

। यी पछिल्ला समस्याका अतिरिक्त नेपाली किसानका ६५ बुँदामा सूत्रबद्ध गरेर सरकारसमक्ष प्रस्तुत गरेको पनि महिनौँ महिना बितिसकेको छ । तर ती महत्त्वपूर्ण समस्याकोे कुनै सुनुवाइ भएको छैन । त्यसैले कृषि र किसानको क्षेत्रमा उनीहरूमाथिको शोषण र अन्यायका विरुद्ध विभिन्न किसिमले संघर्षरत र कार्यरत सबैलाई समेटर राष्ट्रिय किसान आन्दोनल उठाउनुपर्ने टड्कारो आवश्यकता बनेको छ । किनभने किसानका कुरा नसुन्ने र सुने पनि आलेटाले गर्ने निरन्तरको सत्ता संस्कृतिले गर्दा कृषि र किसान निरीह र कमजोर बन्नुपरेको मात्र छैन, हामी कृषिप्रधान देशबाट कृषि आयात प्रधान देश बनिसकेका र बनिरहेका छौँ ।

फलतः हाम्रो परनिर्भरताको पासो झन् झन् कसिँदै गएको छ । यसले हाम्रो राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकालाई पनि स्वभावतः कमजोर र निरीह तुल्याइरहेको छ । त्यसैले किसान र कृषिलाई बचाउन र वास्तवमा प्रकारान्तरले देश बचाउन शक्तिशाली किसान आन्दोलन उठाउन बाध्य र अपरिहार्य भएको छ ।

प्रतिक्रिया