१६ महिनामा ६ मुख्यमन्त्री !

काठमाडौँ । कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका हुन् । २८ गते शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएर प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेका हुन् ।

उपधारा ५ अनुसार प्रदेशसभामा बहुमत जुटाउन सक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् । मुख्यमन्त्री केदार कार्की पनि संविधानको सोही उपधाराअनुसार नियुक्त भएका थिए ।

प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेसँगै आज (बिहीबार) एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेकपा माओवादी केन्द्रको समर्थनसहित मुख्यमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गर्ने छन् । स्रोतका अनुसार कार्कीले दाबी गरेसँगै प्रदेश प्रमुखले दिउँसो समर्थन गर्ने सांसदहरूको सनाखत गराउने र आजै कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

कोसीका प्रदेश प्रमुख परशुराम खापुङले संघीय सरकारका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलसँग कानुनी राय लिएर मुख्यमन्त्रीमा दाबी आह्वान गरेका हुन् । सरकार गठनका लागि प्रयोग गरिएको उक्त उपधाराअनुसार प्रदेशसभाका सदस्यमध्ये जोकोहीले बहुमतको आधार प्रस्तुत गरी मुख्यमन्त्रीमा दाबी गर्न सक्छन् । यस धारामा दलको ह्विपसमेत लाग्दैन ।

यसअघि सोही धाराबमोजिम मुख्यमन्त्री नियुक्त भएका कांग्रेसका केदार कार्कीलाई विश्वासको मत दिएका एमाले र माओवादीले समर्थन फिर्ता लिएका थिए । बुधबार सरकारबाट समर्थन फिर्ता भएको ३० दिन पूरा भएसँगै एमाले र माओवादी केन्द्रसहितका दलहरूले प्रदेश प्रमुख खापुङलाई नयाँ सरकार गठन गर्न माग गर्दै निवेदन दिएका थिए । निवेदनका साथमा उनीहरूले प्रदेशसभा सचिवालयले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएको भन्दै दलहरूलाई दिएको पत्रसमेत समावेश गरेका थिए ।

१६ महिनामा छैटौँ पटक फेरिँदै मुख्यमन्त्री

प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएपछि २४ पुस, २०७९ मा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए । २४ पुसमा मुख्यमन्त्री बनेका कार्की १४ असार, २०८० सम्म मुख्यमन्त्री रहे । माओवादी र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कार्कीले प्रदेशसभामा विश्वासको मत पाउन सकेनन् र पदमुक्त भए ।

त्यसपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा कांग्रेसका उद्धव थापा २१ असार, २०८० मा मुख्यमन्त्री बनेका थिए । तर, बहुमतका लागि सभामुख बाबुराम गौतमको मतसमेत प्रयोग गरेपछि त्यसलाई असवैधानिक भन्दै एमाले सर्वोच्च पुग्यो ।

सर्वोच्च अदालतले सभामुखको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक भनेपछि थापा ११ साउन, २०८० मा पदमुक्त भए । त्यसपछि सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गरायो र माओवादी सांसदको हैसियतमा समर्थन गरेपछि १६ साउनमा फेरि थापा नै दोस्रो पटक मुख्यमन्त्री बने ।

प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरे पनि थापाले प्रदेशसभामा विश्वासको मत लिने बेलामा पुनः सभाको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि मतदान गरे । त्यसलाई पनि सर्वोच्चले असंवैधानिक भनेपछि २१ भदौ, २०८० मा थापा पुनः दोस्रो पटक पनि पदमुक्त भए । त्यसपछि सर्वोच्चको आदेश अनुसार नै प्रदेशसभाको सबैभन्दा ठुलो दलको संसदीय दलको नेताका रूपमा एमालेका हिक्मत कार्की नै २२ भदौ, २०८० मा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भए । विश्वासको मत पाउने सम्भावना नदेखेपछि कार्कीले २० असोज, २०८० मा राजीनामा दिए ।

पछि २७ असोज, २०८० मा कांग्रेस नेता डा. शेखर कोइराला पक्षका ८ जना र एमालेका सांसदको समर्थनमा संविधानको धारा १६८ (५) अनुसार कांग्रेसका केदार कार्की मुख्यमन्त्री बने । त्यसबेला कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसको शेखर कोइराला पक्षका ८ गरी ४७ जना सांसदले हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्री बनेपछि कार्कीले १ कात्तिक, २०८० मा प्रदेशसभाबाट भारी मतका साथ विश्वासको मत पनि पाए । उनलाई एमाले र कांग्रेसका ८ सांसदसँगै माओवादी, कांग्रेसका बाँकी सांसदसहित ८६ सांसद्ले विश्वासको मत दिएका थिए । तर, केन्द्रमा फेरिएको सत्ता गठबन्धनको प्रभाव कोसीमा पनि गरेसँगै केदार कार्कीको पद पनि धरापमा परेको थियो । २६ चैत, २०८० मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए । र, योसँगै अहिलेको परिस्थिति निर्माण भएको हो ।

यसरी हेर्दा १६ महिनाको अवधिमा कोसी प्रदेशमा ५ पटक मुख्यमन्त्री परिवर्तन भइसकेका छन् भने छैटौँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ । जसमा एमालेका हिक्मतकुमार कार्की र कांग्रेसका नेता उद्धव थापा २÷२ पटक र कांग्रेसकै केदार कार्की १ पटक मुख्यमन्त्री भए । आज फेरि एमालेका हिक्मतकुमार कार्की तेस्रो पटक र १५ महिनाको अवधिमा प्रदेशको छैटौँ मुख्यमन्त्री बन्दै छन् ।

केदार कार्की सर्वोच्च जाने

प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि आह्वान गरेसँगै त्यसको विरुद्धमा कोसी कांग्रेस सर्वोच्च जाने तयारीमा जुटेको छ । प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेसँगै मुख्यमन्त्री केदार कार्की कानुनी उपचार खोज्न सर्वोच्च जाने भएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुखले जतिसक्दो चाँडो नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउनुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया