सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्दै काठमाडौँ

काठमाडौँ । सरकारी/सार्वजनिक कार्यालय र निकायमा सूचना प्राप्त गर्न सूचनाको हक प्रयोग गरी लिखित निवेदन दिनुपर्छ । त्यसरी निवेदन दिँदा पनि कतिपय निकायले सूचना दिन आलटाल गर्छन्, कतिले दिन नमिल्ने, कति अन्य बहाना बनाएर सूचना लुकाउने परिपाटी पुरानो होइन ।

तर, संघीय राजधानीको काठमाडौँ महानगरपालिकाले भने तथ्यांक र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन तथा प्रसारण गर्ने भएको छ । आफ्नो नियमन क्षेत्राधिकारअन्तर्गतका प्रतिनिधिहरूलाई बोलाएर सूचना प्रवाह संयन्त्रका विषय समेत अवगत गराउने महानगरको तयारी छ ।
महानगरको क्षेत्राधिकारभित्र सामुदायिक तथा संस्थागत विद्यालय, शिक्षण तथा शैक्षिक संस्थाहरू, सहकारी संस्थाहरू र स्वास्थ्य सेवा प्रदायकहरू छन् । महानगरका सूचना अधिकारी वसन्त आचार्यले २०८० सालमा महानगरले जारी गरेको ‘सञ्चार तथा सूचना ऐन’ को परिच्छेद ८ मा ‘सूचनाको हक कार्यान्वयन गराउने व्यवस्था’ भएको जानकारी दिए । यसमा सार्वजनिक महत्वका सूचनाको हकको प्रचलन, संरक्षण सम्बद्र्धन, स्वतः प्रकाशन, प्रसारण तथा प्रवाहलाई महानगरको दायित्वका रूपमा राखिएको उनको भनाइ छ ।

ऐनले विभाग र वडाका प्रमुख वा त्यसपछिको जिम्मेवारीमा रहने अधिकारीलाई सहायक सूचना अधिकारीका रूपमा तोकेको छ । नियमन क्षेत्राधिकारभित्र रहेका संघसंस्थामा सूचना अधिकारी तोक्न लगाउने व्यवस्था गरेको उनले बताए ।

महानगरका सहप्रवक्ता दीपक अधिकारीले महानगरपालिकाले प्रणालीमार्फत आफूले दिनुपर्ने सूचना नियमित दिएको, आमसञ्चारमाध्यममा स्वतः प्रकाशन प्रसारण गर्ने गरिएको स्पष्ट पारे । सूचना माग गर्ने र प्राप्त गर्ने नागरिकको अधिकारलाई संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सार्वजनिक निकायका व्यक्तिगत वा सार्वजनिक सरोकारका विषयमा नागरिकले सूचना माग गर्न सक्छन् । सूचना माग्ने र पाउने हकभित्र सूचना प्रवाहको हक पनि पर्छ ।

सूचनाको हकसम्बन्धी नेपालको कानुनले सूचना माग्दा लिखित रूपमा माग्नुपर्ने र तोकिएको समयमा प्राप्त गर्नुपर्ने व्यवस्था छ । सूचना दिने अधिकारीले सूचना नदिए उजुरी गर्न सकिने व्यवस्थासमेत छ ।

प्रतिक्रिया