सरकार छाड्दै नाउपा, समर्थन पनि फिर्ता

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभामा ४ सिट रहेको नाउपाको तर्फबाट सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी छन् । उनले आज (आइतबार) प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।

सौर्य दैनिकसँग कुरा गर्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारबाट आफ्नो पार्टीको मन्त्रीलाई बर्खास्त गरिएका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिइएको बताइन् । ‘हाम्रो पार्टीलाई जानकारी नदिई सुदूरपश्चिम सरकारबाट हाम्रो मन्त्रीलाई बर्खास्त गरियो । यसैकारण हामीले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएका हौँ,’ उनले भनिन्, ‘हाम्रो मन्त्रीले आज प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनु हुनेछ ।’

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पावरटिलर वितरणमा अनियमितता र खप्तड क्षेत्र पर्यटन विकास समितिको पदाधिकारी नियुक्तिमा चलखेल गरेको आरोपमा नाउपाका उद्योगमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए । सोही कुरामा असन्तुष्टि जनाउँदै सुदूरपश्चिम सरकारबाट बाहिरिएको नाउपा संघीय गठबन्धनबाट पनि बाहिरिएको हो ।

प्रतिक्रिया