काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताएका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सिंहले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको बताएका हुन् । उनले जनसंख्याका आधारमा भौतिक पूर्वाधारहरुको निर्माण गर्न जरुरी रहेको बताए । सांसद सिंहले भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको भन्दै अनुसन्धान हुनुपर्ने बताए ।
‘मधेस प्रदेशमा त्यत्रो जनसंख्या छ तर त्यहाँ एयरपोर्ट छैन । भैरहवामा छ, एउटै प्रदेशमा दुई वटा बनेका छन् । तर प्रयोग हुन सकेको छैन । भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको छ। विमानस्थलहरुलाई अलिकति सही ढंगले सदुपयोग हुने बनाउनु पर्छ । विदेशीको ऋण लिन्छौं भने त्यसबाट इन्कम हुनुपर्यो। ऋण भ्रष्टाचार गर्नका लागि मात्रै लिने परिपाटी छ, त्यसमा समितिमार्फत ध्यानाकर्षण गराउँछु । जहाँ धेरै जनता छन् त्यही संरचनाहरु निर्माण गर्नुपर्छ । आम्दानी नहुने ठाउँमा लगानी नगरौं,’ उनले भने । सांसद सिंहले नागरिक धेरै भएको ठाउँमा नै संरचनाहरु बढी बनाउँदा प्रयोग बढी हुने बताए ।
प्रतिक्रिया