काठमाडौँ । बढ्दो सहरीकरणले नेपालमा खेतीयोग्य जमिन घट्दै गइरहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो १० वर्षको अवधिमै १६.६ प्रतिशतले खेतीयोग्य जमिन घटेको छ ।
ग्रामीण बस्तीहरूबाट बसाइँसराइ गरेर सहर र सहर बन्दै गरेको क्षेत्रमा बस्ने जनसंख्यामा उल्लेख्य वृद्धि देखिएको छ । सबै प्रदेशका सानाठुला सहर छेउछाउका खेतीयोग्य जमिनमा जथाभावी ‘प्लटिङ’ गर्ने क्रमसँगै सहरीकरण बढेको छ । तथ्यांकअनुसार सदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ९.१ प्रतिशतले खेतीयोग्य भूमि घटेको छ । त्यसैगरी, गण्डकी प्रदेशमा ७ प्रतिशत र कर्णाली प्रदेशमा ५.४ प्रतिशतले घटेको देखिएको छ ।
अर्कातर्फ गाउँघरको जमिन बाँझो छाड्दै मानिसहरू सहर केन्द्रित हुन थालेका छन् । यससँगै नेपालको सहरी जनसंख्या पनि २७ प्रतिशत पुगेको छ । २०६८ मा २२ लाख हेक्टर जमिनमा खेती हुने गरेको भए पनि २०७८ मा आइपुग्दा १८ लाख हेक्टरमा झरेको छ । खेतीयोग्य जमिनमा बस्ती बस्ने क्रमले सबैभन्दा बढी सहरी जनसंख्या बाग्मती प्रदेशमा छ । बाग्मतीमा सहरी जनसंख्या ५६ प्रतिशत पुगेको छ । काठमाडौँ उपत्यकामा मात्रै ९१.७ प्रतिशत मानिसहरू सहरी क्षेत्रमा बसोबास गर्ने तथ्यांकले देखाएको छ । त्यसैगरी, कोसी, मधेस र लुम्बिनी प्रदेशमा पनि सहरीकरण बढ्दै गएको देखिएको छ ।
शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरका लागि गाउँबाट सहरहरूमा बसाइँसराइको दर अझै तीव्र भएको छ । तथ्यांकअनुसार नगरपालिकाको कुल जनसंंख्याको २५.२ प्रतिशत अन्य जिल्लामा जन्मिएकाहरू रहेको देखिएको छ । यसैगरी, नगरपालिकाको २.६ प्रतिशत जनसंख्या विदेशमा जन्मिएको देखिएको छ ।
देशभरका महानगरहरूमा भाडाको घरमा बस्नेहरूको जनसंख्या ४३ प्रतिशत छ भने गाउँपालिकाहरूमा भाडाको घरमा बस्नेहरूको जनसंख्या २.६ प्रतिशत छ । तथ्यांकले नेपालमा पछिल्लो समय विदेशमोह र यसले अर्थतन्त्रमा परेको असर प्रष्ट देखिएको छ । विभिन्न नगरपालिकाबाट अध्ययन वा रोजगारीका लागि बिदेसिएकामध्ये १५ देखि ३४ वर्ष उमेर समूहका ७५.८ प्रतिशत छन् । यसले नेपालको श्रम शक्तिको ठुलो हिस्सा बिदेसिएको प्रष्ट देखिएको छ ।
प्रतिक्रिया