महोत्तरी । २०७७ मंसिरमा बोरामा खाँदिएको अवस्थामा महोत्तरीको बर्दिवासस्थित शुभम् बस्तीकी ५ वर्षीया बालिका गुलाबसा खातुनको शव भेटियो । चकलेट किन्न स्थानीय अरुण साहको घरनजिकैको पसल पुगेका बेला एक्कासि हराएकी खातुनलाई साहले नै बलात्कारपछि हत्या गरेको पुष्टि भयो । अरुण साह अहिले जलेश्वर कारागारमा छन् भने घटनामा संग्लन अन्य २ जना फरार अभियुक्तलाई गत साताको शुक्रबार मात्र प्रहरीले पक्राउ गर्यो ।
२०८० सालमा धनुषाको हंसपुर नगरपालिकामा पनि यस्तै प्रकृतिको घटना भयो । सोही ठाउँकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सबैला नगरपालिका–९ कुसमाहाका ३१ वर्षीय विनोदकुमार राय र सोही ठाउँका २४ वर्षीय रोशनकुमार मुखियालाई प्रहरीले पक्राउ गर्यो । उनीहरू अहिले पुर्पक्षका लागि जेलमा छन् भने केही अभियुक्त अझै फरार छन् । उनीहरूको बयानका आधारमा सतोखर पोखरीनजिकै जमेको खाल्डोमा नग्न अवस्थामा बालिकाको शव फेला परेको थियो ।
२०८१ माघमा धारिलो हतियारले प्रहार गरी हत्या गरेको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका–८ निवासी खुश्बु यादवको शव फेला परेको थियो । केही दिनअघि मात्रै जनकपुर उपमहानगरपालिकामा लेनदेन तथा अंश विवादमा स्थानीय वासुदेवप्रसाद विमलको आफ्नै ज्वाइँले चक्कु प्रहार गरी हत्या गरे । कुर्था निवासी बेचन महासेठले विमलको जनकपुरको रामपुरस्थित घरमै चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते विमललाई तत्काल उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भयो ।
यी माथिका घटना एकदमै कम उदाहरण हुन् । तथ्यांकअनुसार मधेसमा बलात्कार, हत्या, अपहरण जस्ता घटनामा उल्लेख वृद्धि भइरहेको छ । घरायसी विवाद, अंशबन्डा, लेनदेन, प्रेम सम्बन्ध र अनैतिक क्रियाकलापले मधेसमा अपराध निकै भयावह वन्दै गएको प्रहरीको तथ्यांकले पुष्टि गर्छ । अभियुक्तहरूले लामो समयसम्म उन्मुक्ति पाउने र प्रहरीले सक्रियतासमेत नदेखाउनुले पनि मधेसमा अपराधका घटनाले पश्रय पाइरहेको स्थानीय बताउँछन् ।
आर्थिक वर्ष २०८१/८२ को यो अवधिसम्म मधेसमा ८३ वटा कर्तव्य ज्यानसम्बन्धी घटना भइसकेका छन् । मधेस प्रदेश प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी धनुषामा १४ वटा यस्ता घटना भएका छन् । आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म आइपुग्दा ३१७ वटा घटना त कर्तव्य ज्यानसम्बन्धी नै छन् ।
कुन जिल्लामा कति घटना ?
तथ्यांक हेर्दा मधेसमा हत्याको घटना बर्सेनि बढिरहेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा पर्सामा १६ वटा हत्याका घटना भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा पनि १६ वटा र २०८१/८२ को जेठसम्म ८ वटा कर्तव्य ज्यानसम्बन्धी घटना भएको तथ्यांक छ ।
यस्तै, बारा र रौतहटमा पनि अपराधको ग्राफ उकालो लागिरहेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा बारामा १३ र रौतहटमा १९ वटा कर्तव्य ज्यानसम्बन्धी घटना भएका थिए । २०८०/८१ मा बारामा १४ र रौतहटमा १७ वटा र २०८१/२०८२ को जेठ मसान्तसम्म दुवै जिल्लामा १०/१० वटा घटना भएको प्रहरीले जनाएको छ । सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा आर्थिक वर्ष २०७९/८० को तुलनामा यस्ता घटना बढेको प्रहरीको भनाइ छ ।
२०७९/८० मा सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा क्रमशः १३, १२, १५, १२ र ९ वटा घटना भएका थिए । २०८०/८१ मा यो संख्या ११, ९, २१, २० र १७ रहेको प्रहरीले जनाएको छ । यो आर्थिक वर्षमा भने जेठ मसान्तसम्मका घटना हेर्दा अहिलेसम्मकै रेकर्ड तोडिने अनुमान गरिएको छ । जेठसम्म नै पर्सामा ८ वटा, बारामा १० वटा, रौतहटमा १० वटा, सर्लाहीमा १३ वटा, महोत्तरीमा १० वटा, धनुषामा १४ वटा, सिरहामा ८ वटा र सप्तरीमा १० वटा गरी ८३ वटा हत्याका घटना भएको प्रहरी नायब उपरीक्षक तथा प्रदेश प्रहरी प्रवक्ता विजय यादवले बताए ।
किन बढिरहेको छ अपराध ?
कर्तव्य गरी ज्यान नै लिनेसम्मको क्रुर घटनाका विभिन्न कारण भए पनि मधेसमा पछिल्लो समय अपहरणका घटना पनि बढ्नुले समाज नै अपराधमय बन्दै गएको देखिएको सरोकारवाला बताउँछन् । बेरोजगारी र लागुऔषध सेवन गर्ने लतका कारण अपहरण तथा शरीर बन्धकका घटनाहरू बढिरहेको नेकपा (एमाले) मधेस प्रदेश स्कुल विभागका संयोजक शंकर महतो बताउँछन् । प्रहरीको तथ्यांकअनुसार यो वर्षको जेठ मसान्तसम्म मात्र ५९ वटा अपहरणका घटना भएका छन् । यसमध्ये कतिपयको सकुशल उद्धार गरिएको छ भने कतिपयको अवस्था अझै अज्ञात छ ।
छोटो अवधिमा धनुषामा १७ वटा, सप्तरीमा एउटा, सिरहामा ७ वटा, महोत्तरीमा ४ वटा, सर्लाहीमा १२ वटा, रौतहटमा ८ वटा, बारामा ७ वटा र पर्सामा ३ वटा अपहरण तथा शरीर बन्धकका घटना भएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को तुलनामा यो संख्या निकै उच्च हो । २०८९/८० मा पर्सामा ३ वटा, बारामा ९ वटा, रौतहटमा ४ वटा, सर्लाहीमा २ वटा, महोत्तरीमा ६ वटा, धनुषामा १२ वटा, सिरहामा ६ वटा, सप्तरीमा ५ वटा अपहरणका घटना भएका थिए भने २०८०/८१ मा पर्सामा ८ वटा, बारामा ७ वटा, रौतहटमा ८ वटा, सर्लाहीमा १५ वटा, महोत्तरीमा ४ वटा, धनुषामा १५ वटा, सिरहामा ५ वटा र सप्तरीमा २ वटा घटना भएको प्रहरीको तथ्यांक छ ।
आपराधिक घटनाको संख्या बढ्नु र न्यूनीकरण हुन नसक्नुमा अशिक्षा नै मुख्य कारक भएको प्रहरीको निष्कर्ष छ । ‘अशिक्षाले पनि अपराधलाई प्रोत्साहन गरेको छ । धर्म, संस्कार जस्ता विषयमा परम्परागत कट्टर दृष्टिकोण रहनु र जनसंख्या वृद्विले पनि असर गरेको छ,’ प्रवक्ता यादवले भने, ‘अर्कातिर मधेसमा भारतसँग जोडिएको खुला सिमाना छ । नेपाली छोरीहरूको भारतमा विवाह भएको छ । बिहार प्रदेशको दाइजो प्रथाको समस्या मधेसले झेलिरहेको छ ।’
यद्यपि समुदायमा पर्याप्त सचेतना फैलाउन सके र सुरक्षा निकायले चाहे यस्ता अपराधमा कमी ल्याउन सकिने बताउँछन्– महोत्तरीका प्रहरी नायब उपरीक्षक विकास बम । उनका अनुसार महोत्तरीमा पछिल्ला २ महिनाको अवधिमा यस्तै प्रकृतिका ९ वटा मुद्दा दर्ता भए । गत २ वर्षमा जम्मा १० वटा मुद्दा मात्र दर्ता भएका थिए ।
यसबीचमा उनले दर्जनाैँ पुराना फाइल खोले । अनुसन्धानका क्रममा मोटरसाइकल चोरीदेखि लागऔषध तस्करी र होटलहरूमा अमर्यादित क्रियाकलापजस्ता अपराधले समाज नै त्रस्त बनेको पाएको उनले बताए । उनले २ महिनाको अवधिमा यस्ता डेढ दर्जन घटनामा कारबाही गर्न सफल भएपछि अब थाती रहेका पुराना र जघन्य अपराधको अनुसन्धानमा लागेको बताए ।
‘वर्षौं पुराना र जघन्य अपराधका फाइल पल्टाउनुसँगै समाजलाई आश्वस्त पार्नु जरुरी हुँदोरहेछ । समुदायले साथ दिँदा प्रहरीले अपराध रोकथाममा उल्लेख्य काम गर्न सक्दोरहेछ,’ बमले भने । यसरी अघि बढ्दा बमले बर्दिवास–१४ स्थित घरबाट चकलेट किन्न जाने क्रममा २०७७ मंसिरमा अपहरणपछि बलात्कार गरेर हत्या गरिएकी बालिका खातुनको मुद्दामा सफलता पाएको बताए ।
समुदायकै सूचनाका आधारमा घटनाका अभियुक्त राजकिशोर साह र उनकी श्रीमती सुशीलादेवी साहलाई जलेश्वरबाट पक्राउ गर्न सफल भए । त्यस्तै, सरोज थापा हत्या प्रकरणको फाइलसमेत झन्डै ७ वर्षपछी अनुसन्धान थालिएको छ । महोत्तरीकै शैलीमा मधेस प्रदेशका अन्य जिल्लामा पनि अभियान नै चलाइएको छ । प्रदेश प्रहरी प्रवक्ता भन्छन्, ‘समुदायको साथ भए अपराध न्यूनीकरण गर्न सकिन्छ ।’
प्रतिक्रिया