रामायणको रचनामा तथ्यगत आधार छैन

प्रारम्भमा त्यसका एक सय श्लोकहरू मात्र थिए । तर, पछि ती श्लोकहरू थप्दै गएर रामायण २४ हजार श्लोकको ग्रन्थ बनेको थियो । वास्तवमा विभिन्न कविहरूले नयाँ–नयाँ कल्पना गरेर नयाँ–नयाँ रामायणहरू लेख्ने तथा रामसम्बन्धी नयाँ–नयाँ कथाहरू लेख्दै जाने मात्र गरेका थिएनन्, उनीहरूले वाल्मीकि रामायणमा नै श्लोकहरू थप्दै गएका थिए । समाजमा धार्मिक वा सांस्कृतिक मान्यताहरू बदलिँदै गएपछि त्यसअनुसार नयाँ–नयाँ रामायणहरू लेख्ने वा त्यसमा वृद्धि गर्ने काम पनि हुँदै गएको थियो ।

मोहनविक्रम सिंह

रामद्वारा सीतालाई परित्याग गरेको विषयमा सबैभन्दा प्रचलित कथन यो छ – रावणले अपहरण गरेर लगेकी पत्नीलाई फेरि ल्याएर राखेको भनेर जनताले उनीमाथि आक्षेप लगाएका थिए । त्यसैले रामले सीतालाई परित्याग गरेका थिए । अद्भुत रामायणमा सीतालाई कालीका रूपमा चर्चा गरिएको छ । त्यसमा रावणको हजार शिर भएको र त्यसले युद्धमा राम, लक्ष्मण, हनुमान्सहित सबै वानर सेनालाई मूर्छित बनाइदिएको कुराको उल्लेख गरिएको छ । त्यसपछि सीताले कालीको रूप धारण गरेर रावणसहित त्यसका सबै सेनालाई मारिदिएकी थिइन् र आफ्ना मूर्छित भएका सबै व्यक्तिहरूलाई ब्युँताइदिएकी  थिइन् ।

अद्भुत रामायणको सीतासम्बन्धी त्यो कथा वाल्मीकि रामायणको भन्दा बेग्लै छ । तर त्यो अद्भुत रामायण पनि वाल्मीकिले नै लेखेको बताइन्छ । वाल्मीकिले आफूले लेखेको सबै रामायण सीतालाई सुनाएपछि उनी धेरै नै प्रसन्न भइन् तर उनले आफूलाई सामान्य नारीका रूपमा प्रस्तुत गरिएकोमा असन्तोष प्रस्तुत गरेकी थिइन् । त्यसपछि सीतालाई खुसी पार्न वाल्मीकिले अद्भुत रामायण लेखेको बताइन्छ ।

अद्भुत रामायण र सीतासम्बन्धी त्यो प्रसंगबाट रामायणको रचना कुनै तथ्यगत आधारमा होइन, लेखकको कल्पनाको आधारमा नै लेख्ने गरिएको देखिन्छ । त्यसैले राम, सीता, लक्ष्मण आदिबारे बेग्लाबेग्लै कल्पनाहरू गरेर रामायणको रचना गरिएको बताइन्छ । रामायणमा अरू पनि कैयौँ अविश्वसनीय र काल्पनिक प्रसंगहरू जोडिएका छन्, जस्तै कि हनुमानले हत्केलामा द्रोणागिरी पर्वत राखेर ल्याएको रावणका १० वा हजार शिर भएको, बाँदरको सेना भएको, लंकामा जाने ढुंगाको पुल बनाएको, रामले अयोध्यामा १० हजार वर्षसम्म शासन गरेको आदि ।

जुन बेला वाल्मीकिले रामायणको रचना गरे त्यो बेला उनलाई दक्षिण भारत वा श्रीलंकाको समेत भौगालिक अवस्थाबारे कुनै ज्ञान नभएको कुरा स्वयं रामायणका कतिपय कथनहरूबाट प्रस्ट हुन्छ । त्यसैले उनले दक्षिण भारत वा श्रीलंकाको भौगोलिक स्थितिबारे सही विवरण दिन सकेका छैनन् । रामेश्वरबाट श्रीलंकासम्म १०० योजन लामो पुल बनाएको बताइएको छ, तर रामेश्वरबाट श्रीलंकासम्मको दुरी खालि १८ माइल मात्र छ । रामायणमा वानर सेनाले सालका रुखहरू उखेलेर राक्षसहरूमाथि हमला गरेको बताइएको छ । तर, श्रीलंकामा सालका रुखहरू नै हुन्नन् । त्यसकारण सालका रुख उखेलेर राक्षसहरूमाथि हमला गरिएको भनाइ पनि असत्य र काल्पनिक नै हो ।

रामायणमा अग्नि प्रवेशसम्बन्धी पनि कैयौँ प्रसंगहरूको उल्लेख गरिएको छ । त्यसमध्ये एउटा प्रसंग रामले सीतालाई लंकाबाट मुक्त गरेर ल्याएपछिको अग्नि प्रवेशको प्रसंग हो । सीताले अग्निमा प्रवेश गरेर आफ्नो चरित्र शुद्ध भएको प्रमाण दिएकी थिइन् । सीताको अग्नि प्रवेशको सन्दर्भमा कुर्मपुराणमा एउटा अर्को कथन पनि लेखिएको छ । रामले वनवास जाँदा सीतालाई अग्निमा प्रवेश गराएका थिए र उनले आफ्ना साथमा जुन सीता लगेका थिए, ती नक्कली सीता नै थिइन् । लंका विजयपछि ती नक्कली सीताले नै अग्निमा प्रवेश गरेकी थिइन् र अग्निबाट पहिलेकी सक्कली सीता नै निस्केकी थिइन् । नक्कली सीताको विवरण वाल्मीकि रामायणमा छैन र पछि कूर्मपुराणमा नै त्यो कथा थपिएको थियो ।

अग्नि प्रवेशको सन्दर्भमा एउटा अर्को कथा पनि प्रचलित छ । स्वर्गको राजा इन्द्रकी छोरी लक्ष्मणप्रति धेरै नै आसक्त भएर एउटी युवतीको भेषमा राति लक्ष्मणकहाँ सुत्न गएकी थिइन् । तर, लक्ष्मण उनीसित सुत्न तयार भएका थिएनन् । तैपनि राति एउटी युवती लक्ष्मणकहाँ गएको कुरा थाहा पाएर सीताले त्यो कुरा रामलाई बताइदिएकी थिइन् । आफू्माथि त्यसप्रकारको आक्षेप लागेपछि आफ्नो चरित्र शुद्ध भएको प्रमाणित गर्न लक्ष्मणले अग्नि प्रवेश गरेका थिए । रामायणको सिलसिलामा यो पनि भन्ने गरिन्छ मूल रामायणमा उत्तरकाण्ड थिएन । मूल रामायण युद्धकाण्डमा नै समाप्त भएको थियो । त्यसमा पछि उत्तरकाण्ड थपिएको थियो । त्यो भनाइअनुसार रामले सीतालाई परित्याग गरेको तथा शम्बूकवधको कथा पनि मूल रामायणमा नभएको र पछि थपिएको भन्ने गरिन्छ ।

रामायणका सन्दर्भमा यो पनि भन्ने गरिन्छ, प्रारम्भमा त्यसका एक सय श्लोकहरू मात्र थिए । तर पछि ती श्लोकहरू थप्दै गएर रामायण २४ हजार श्लोकको ग्रन्थ बनेको थियो । वास्तवमा विभिन्न कविहरूले नयाँ–नयाँ कल्पना गरेर नयाँ–नयाँ रामायणहरू लेख्ने तथा रामसम्बन्धी नयाँ–नयाँ कथाहरू लेख्दै जाने मात्र गरेका थिएनन्, उनीहरूले वाल्मीकि रामायणमा नै श्लोकहरू थप्दै गएका थिए । समाजमा धार्मिक वा सांस्कृतिक मान्यताहरू बदलिँदै गएपछि त्यसअनुसार नयाँ–नयाँ रामायणहरू लेख्ने वा त्यसमा वृद्धि गर्ने काम पनि हुँदै गएको थियो ।

वाल्मीकि रामायणपछि सबैभन्दा प्रसिद्ध रामायण रामचरित्रमानस वा तुलसीकृत रामायण नै हो । वाल्मीकि रामायण संस्कृत भाषामा नै लेखिएको थियो । त्यसैले त्यसलाई पढ्नु जनसाधारणका लागि सजिलो थिएन । तर तुलसीदासको रामायण साधारण हिन्दी भाषामा लेखिएको हुनाले जनसाधारणका लागि त्यसलाई पढ्न धेरै सजिलो भयो र जनसाधारणमा त्यो धेरै लोकप्रिय पनि भयो । त्यो बेला एकातिर हिन्दू धर्म र अर्कातिर इस्लाम धर्मको प्रचारका कारणले हिन्दू धर्मको प्रभाव कम हुँदै गएको थियो वा हिन्दू धर्मका विरुद्ध कैयौँ विचारहरू पनि देखा पर्न थालेका थिए ।

महिला र दलितहरूमा पनि उनीमाथि गरिने सामाजिक बन्देजहरूका विरुद्ध आवाजहरू उठ्न थालेका थिए । त्यसैले हिन्दू धर्मप्रति जनताको आस्था बढाउन तथा महिला वा दलितहरूमा उठ्न थालेको विरोधको स्वरमाथि नियन्त्रण गर्न पनि तुलसीकृत रामायणको रचना गरिएको थियो ।

प्रतिक्रिया