शक्ति लालचमा शून्यको यात्रातिर उपेन्द्र

छिन्नभिन्न मधेस राजनीति

मधेस । २०६३ सालमा जारी भएको नेपालको अन्तरिम संविधानप्रति असन्तुष्टि जनाउँदै सुरु भएको मधेस आन्दोलनबाट उदाएका नेता हुन्– उपेन्द्र यादव । तत्कालीन समयमा मधेसका मुद्दा जोडतोडका साथ उठाएर राष्ट्रिय राजनीतिमै तहल्का मच्चाएका उनलाई त्यस समयमा मधेसी जनताले पनि पत्याए ।

आफूहरूका मुद्दा सम्बोधन गर्न सक्ने नेताका रूपमा यादवलाई स्वीकार्दै यहाँका जनताले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा जिताएर मधेसको हितमा संविधान बनाउन पठाए । त्यसपछि राष्ट्रिय राजनीतिका मुख्यमध्येकै पात्र बनेका यादव अहिले अहिले आफ्नो ओरालो यात्रामा छन् ।

२०५४ सालमा ‘मधेसी जनअधिकार फोरम नेपाल’ नामक गैरराजनीतिक संस्था खोलेका यादवले उक्त संस्थालाई २०६४ वैशाख १४ गते राजनीतिक दलका रूपमा स्थापित गरे । अचानक पाएको सफलताको स्वाद पनि नचाख्दै यादवले आफ्नो हैकमवादी प्रवृत्ति देखाउन सुरु गरेपछि पार्टी गठन भएको ५ महिना नबित्दै मधेसी जनअधिकार फोरम नेपाल फुट्न पुग्यो । उपेन्द्रको हठी स्वभावबाट आजित भएर पार्टीका प्रमुख नेता भाग्यनाथ गुप्ताले भदौ १५, २०६४ मा ‘मधेसी जनअधिकार फोरम मधेस’ नामको पार्टी गठन गरे ।
हुन त नेपालको राजनीतिमा अवसरको खोजीमै पार्टी जोड्नेदेखि सक्नेसम्म भएका घटना कैयौँ छन् । उपेन्द्र नेतृत्वको पार्टीबाट फुटेर जाने सबै नेता पनि सत्ता र शक्तिको खोजीमा भौँतारिएका हुन् । तर, राष्ट्रिय राजनीतिको एक मुख्य पात्र बनिसकेका उपेन्द्र नेतृत्वको पार्टीबाट नेताहरू जोगाउन नसक्नुमा मुख्य दोषी उनकै नेतृत्व क्षमता हुन्छ ।

आफ्ना प्रमुख नेता अलग्गिएपछि पनि आफू नै सर्वेसर्वा ठान्ने प्रवृत्तिका कारण चैत ७, २०६५ मा फोरम नेपाल फेरि फुट्यो र अमर यादवको नेतृत्वमा मधेस तराई फोरम गठन भयो । अचानक पाएको जितबाट हौसिएका यादवले मधेसका जनताले गरेको विश्वास जोगाउन सकेनन् । दूरदर्शी र मधेसको ‘मसिहा’ बन्न उनले पटक–पटक विभाजित हुँदै गएको पार्टीलाई बचाउन कुनै पहलसमेत गरेनन् । फलस्वरूप २०६६ साल जेठमा फोरम नेपाल फेरि फुट्यो । पदलोलुपताकै कारण विजयकुमार गच्छदारको नेतृत्वमा ‘मधेसी जनअधिकार फोरम लोकतान्त्रिक’ गठन भयो ।

पार्टी टुटफुट भइरहेको विषयमा गहन विश्लेषण गरी त्यसमा सुधार ल्याउनुको सट्टा अध्यक्ष यादव सत्ताको मातमा डुबिरहे । पार्टीभित्र आफू मात्रै हाबी भइरहने सोचका कारण ९ जेठ, २०६८ मा फोरम नेपालमा फेरि एकपटक फुटको शृंखला दोहोरियो । परिणाम स्वरूप उपेन्द्रबाट अलग्गिएर नेता जयप्रसाद गुप्ताले आफ्नो नेतृत्वमा ‘मधेसी जनअधिकार फोरम गणतान्त्रिक’ गठन गरे ।

आफ्नो पार्टी धुजाधुजा हुँदै गएपछि उपेन्द्रले एमालेसँग अलग भएका अशोक राईसँग एकीकृत हुँदै पार्टीको नामबाट मधेस शब्द नै हटाएर ‘समाजवादी फोरम’ नामको पार्टी गठन गरे । अशोक राईसँग पार्टी एकता गरी पहाडको पनि माया पाउने सोचका साथ मधेस शब्द हटाएका यादव निर्वाचनमा भने पहाडबाट भोट ल्याउन सफल भएनन् र फेरि मधेस नै फर्किए । यति हुँदाहुँदै पनि यादव आफूलाई परिवर्तन गर्दै मधेसका जनताको चाहना बुझ्नतिर भने कहिल्यै लागेनन् ।

त्यसपछि उनले बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीसँग एकता गर्दै ‘समाजवादी पार्टी’ गठन गरे । क्षेत्रीय पार्टीको दर्जा पाएका यादवले राष्ट्रिय पार्टी बनाउन भट्टराईसँग एकता गरे पनि पार्टीलाई केही फाइदा भएन । अन्ततः २ मधेसी शक्ति एक हुनुपर्ने जनचाहना अनुरूप ‘राष्ट्रिय जनता पार्टी’सँग एकता गर्दै ‘जनता समाजवादी पार्टी’ बन्यो ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) मिलेर २०७७ वैशाखमा जसपा बनेको थियो । पछिल्लो समय पनि नेपालको राजनीतिमा शक्तिशाली दलका रूपमा अगाडि आएको जसपा उपेन्द्र यादवकै बर्चस्ववादी चिन्तनका कारण फेरि फुटको अवस्थामा पुग्यो ।

५ पुस, २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि जसपामा विवाद सुरु भयो । सुरुमा प्रतिगमन भनेर सडकमा आएको जसपाको ठाकुर पक्ष क्रमशः मध्यावधि निर्वाचनतिर ढल्कियो । फागुन ११ मा संसद् पुनस्र्थापना र फागुन २३ मा नेकपाको एकता खारेज भएपछि यो समूह ओली समूहसँग निकट भएको थियो । वैशाख २७ सम्म तत्कालीन प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिँदा महन्थ ठाकुरसँग छलफल नै नगरी उपेन्द्र यादवले एकलौटी गरेपछि महन्थ ठाकुर पक्ष तटस्थ बसेको थियो ।

यता, महन्थ ठाकुर पक्षले साथ नदिएको भन्दै उपेन्द्र यादवले छलफल नै नगरी ठाकुरलाई कारबाहीको पत्र काटेर औपचारिक रूपमै विखण्डनको बिउ छरे । अन्ततोगत्वा असार ३ मा यादवबाट अलग भई महन्थ पक्षले ‘लोकतान्त्रिक समाजवादी पार्टी’ गठन ग¥यो । ‘फुटाऊ र राज गर’ भन्ने शीर्ष राजनीतिक दलको नीतिले सार्थकता पाउनुमा पनि उपेन्द्रकै हात रहेको बताउँछन्– मधेस राजनीतिबारे जानकारहरू । उपेन्द्रलाई सत्ताको लोभमा मधेस र मधेसीको शक्तिशाली पार्टीलाई टुक्रा–टुक्रा बनाएको आरोप लागिरहेको छ ।

यता, उपेन्द्र यादवसँग उनकै पार्टीका नेता अशोक राई सन्तुष्ट थिएनन् । राई समूह संसदीय दलको नेता चयन गर्दादेखि नै अध्यक्ष यादवसँग असन्तुष्ट थियो । आमनिर्वाचनपछि प्रतिनिधिसभाको छैठौँ ठुलो दल बनेको जसपाले संसदीय दलको नेतामा आकांक्षी राईलाई किनारा लगाएर बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई चयन गर्यो ।

पार्टीको विधानअनुसार पहिलो वरीयता अर्थात् कार्यकारी अध्यक्ष यादवभन्दा पनि माथि रहेका संघीय परिषद् अध्यक्ष राईले सर्वसम्मत संसदीय दलको नेता हुने इच्छा व्यक्त गरेका थिए । तर, पार्टी अध्यक्ष यादवले रामसहायलाई अघि सारेर मतदानको तयारी थालेपछि राईले संसदीय दलको नेतामा उम्मेदवारी नै दिएनन् । रामसहाय नै संसदीय दलको नेतामा चयन भए ।

पछि रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनको क्षेत्र बारा–२ मा भएको उपनिर्वाचनबाट जितेपछि उपेन्द्र आफैँ संसदीय दलका नेता चयन भए । आफू किनारामा परिरहेको र उपेन्द्रले हैकमवादी प्रवृत्ति लादेको भन्दै अशोक राई १२ मध्ये ७ सांसद लिएर वैशाख २३ मा जसपा नेपालबाट अलग भए । कुनै समय मधेसमा एकमात्र शक्तिशाली पार्टीका रूपमा रहेको जसपा नेपाल अन्ततः शक्तिहीन बनेको छ । यादवले अझै पनि सबै मधेसवादी शक्तिलाई समेटेर बलियो पार्टी बनाउन सके मधेसको हितमा काम हुने, नत्र उपेन्द्रसँगै मधेसका एजेन्डा पनि छायामा पर्ने मधेसका जनता बताउँछन् ।

प्रतिक्रिया