साहित्यमा प्रविधिको प्रयोगमाथि चर्चा

काठमाडौं । साहित्य सन्ध्याको आयोजनामा ‘साहित्य र संस्कृतिको अन्तरसम्बन्ध र साहित्यमा प्रविधिको प्रयोग’ विषयमाथि चर्चासहित कविगोष्ठी सम्पन्न भएको छ । प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा भएको कार्यक्रममा साहित्यकार विधान आचार्यले साहित्य र संस्कृतिको अन्तरसम्बन्ध तथा साहित्यमा प्रविधिको प्रयोग विषयमा परिचर्चा गरे । उनले साहित्य समाजको उपज भएको बताउँदै संस्कृतिको एउटा अंशका रूपमा रहने धारणा राखे ।

उनले भने, ‘संस्कृति भनेको चाहिँ सामाजको समग्र व्यवहार हो । सामाजिक व्यवहार असल हुँदा संस्कृति बन्ने र खराब हुँदा विकृति हुने भए पनि कतिपय खराब प्रवृत्ति पनि संस्कृतिका रूपमा समाजमा रहेका हुन्छन् । असल विचार तथा भावले रूपान्तरणमा सहयोग पु¥याउँछ ।’ उनले साहित्य समाजको ऐना भएको सुनाउँदै भाव वा विचारले व्यक्ति, परिवार, समाज र देशको हित गर्दछ त्यही लेखन नै साहित्य भएको जिकिर गरे । आचार्यले भने, ‘भोलिको दिशानिर्देश नगर्ने साहित्य साहित्य हुनसक्तैन र त्यस्तो साहित्य दीर्घजीवी पनि हुँदैन त्यसैले साहित्य भनेको संसारको परिवर्तनको संवाहक हो ।’

उनले प्रविधि मानवश्रमको सट्टामा सघाउने उपकरण भएको बताउँदै प्रविधिले प्रकाशन बढायो र पत्रपत्रिका प्रकाशित भए साथै अहिले त सामाजिक सञ्जालको प्रयोग व्यापक बनेको जनाए । उनले थपे, ‘प्रविधिको फरक शैलीका माध्यमबाट प्रयोग गर्नसकिन्छ र भइरहेको छ । अहिलेको अवस्थामा प्रविधिविना समाज, जीवन, साहित्यलेखन केही पनि चल्नसक्तैन ।’ उक्त कार्यक्रममा ओमप्रसाद कोइराला, कुमार नेपाल, सोइना दाहाल, ऋचा अधिकारी, असीम सागर, लीलाराज दाहाल, भीष्म उप्रेती, नवराज श्रेष्ठ, डा.गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी एलाक, महेशराज खरेल, गायत्रीकुमार चापागाईँ, नवराज श्रेष्ठ, निर्भिक राई, डा.मनोज जोशी, रमेश भट्टराई पुजारी, बलराम विष्ट, प्रशान्त खरेल, भानुप्रकाश जोशी, राज रजक, गोपालकुमार मैनाली, रूपक अलङ्कारले आआफ्ना कविता, गीत, गजल, लघुकथा, हाइकु, एलाक वाचन गरेका थिए ।

वाचित रचनामाथि साहित्यकार गीता सापकोटाले टिप्पणी गर्दै शास्त्रीय, लोकलय र मुक्तलयका कविता र दुई लघुकथा वाचित भएको सुनाइन् । उनले कवितामा सशक्तीकरणको चेतना उद्घाटित भएको जनाउँदै बेरोजगारीका कारण बिदेसिन बाध्य नेपालीले विदेशमा भोगेका पीडा र कतिपय अवस्थामा बाकसमा लास मात्र स्वदेश आएको मर्मान्त पीडा पनि कवितामा अभिव्यक्त भएको बताइन् । उनले भनिन्, ‘आँसु दुःखसुखको साथी हो भन्ने भाव र आँसुमा मातृत्वचेत उजागर गरिएको कविता पनि वाचित भएको छ । नारीचेतना र विद्रोहको भाव कवितामा आएको छ । समाजमा सात किसिमका वर्ग पैदा भएका विकृत सामाजिक यथार्थलाई कवितामा उजागर गरिएको छ ।’

सापकोटाले वर्गीय भेदले सामाजिक रूपान्तरण नभएको पीडायुक्त आक्रोश तथा लोकको दूरावस्था उजागर कवितामा भएको जिकिर गरिन् । उनले भनिन्, ‘बनमारा मौलाएझैँ भ्रष्टाचार मौलाएकोप्रति कडा आक्रोश कवितामा व्यक्त गरिएको छ । अनमेल विवाह तथा समाजमा नारी हेलाँहोचोमा परिरहेको अवस्था सिर्जनामा उजागर गरिएको छ ।’ उनले साहित्यका माध्यमबाट पहिचान बनाउने अपेक्षा कविता बनेर आएको, समाज परिवर्तनको अपेक्षा राखिएका एलाक सुनिएका, समाजमा विद्यमान सामन्ती शोषणजन्य यथार्थ सिर्जनामा उजागर गरिएको, स्वपहिचान तथा आत्मपहिचान खोज्नेपर्ने सन्देश समप्रेषण गरिएका कविता वाचन गरिएको बताइन् । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा नेपाली समाजको यथार्थ पक्षलाई सर्जकले सिर्जनामार्फत प्रस्तुत गर्नुपर्ने धारणा वक्ताले राखेका थिए ।

प्रतिक्रिया