स्मृतिमा चिन्तक शान्तदास

तेजविलास अधिकारी

बाल्यकालमा शान्तदास (जीवनकाल वि.सं. १९९१–२०८०) नाम सुनेको हेक्का छैन । हाम्रोतिर बाल साहित्य लेख्ने, सुन्ने अनि पढ्ने संस्कृति अलि कमजोर रहेछ कि ! त्यतिबेला । जेहोस् २०५७ सालमा काठमाडौँ आएपछि शान्तदासको नाम सुन्न पाइयो, किताब पढ्न पाइयो अनि पाइयो उनलाई भेट्न पनि । पुराना पुस्तक पसल चहार्दा पाइएका साना पुस्तकहरू बालकोसेली पत्रिकाले मलाई शान्तदास मानन्धरसँग नजिक बनायो । अलिपछि त बालकोसेली पत्रिकामा मेरो एउटा कविता पनि छापियो । औधी खुसी लाग्यो त्योबेला । २०६०÷०६१ सालतिर हुनुपर्छ ‘शान्तदास’ लाई अभियान साहित्य प्रतिष्ठानको एक रुपैयाँको अभियान पुरस्कार दिने कार्यक्रममा म पनि पुगेको थिएँ । त्योबेला भने नजिकै भेट्ने र परिचय लिनेदिने मौका पनि मिल्यो ।

‘शान्तदास’ लाई मेरो बारेमा र मलाई शान्तदासबारे नजिक बनाउने काममा मलाई मित्र केदार श्रेष्ठ (बाल साहित्यकार एवं नाटक निर्देशक) र रामशरण ‘प्रयास’ ले सजिलो बनाइदिए । मभन्दा धेरै वर्ष कान्छा यी दुई पात्रहरूको हेलमेल शान्तदाससँग थियो । पछि उनीहरूले नै मेरो कविता मागेर बालकोसेलीमा छपाइदिए । म बाल साहित्यको राम्रो पाठक भइनसकेको मान्छेलाई बाल रचना लेख्न हौस्याउने शान्तदाससँग २/४ चोटि फोनमा कुराकानी भएको छ । एकचोटि केदार श्रेष्ठसँग उनको घरमा पुगेको याद छ ।

शान्तदासका कमिकमजोरी के के थिए मलाई त्यति थाहा छैन । उनले नेपालको सिङ्गो साहित्यिक फाँटमा महत्त्वपूर्ण योगदान दिएका छन् । बालबालिकालाई केन्द्रमा राखेर उनले धेरै काम गरे । उनी कोठेलेखक वा चिन्तक होइनन् उनी त फिरन्ते लेखक र वैचारिक पात्र हुन् । पछिल्लो समयमा शान्तदाससँग नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको प्रगतिशील लेखक सङ्घको कार्यक्रममा भेट भएको थियो । समय धेरै नै ढिलो भएपछि उनको बोल्ने पालो आयो । उपस्थिति पातलो होला कि भन्ने चिन्ता थियो । दुईचार जना मान्छे हिँडि पनि हाले । शान्तदासले निकै नै गहिरो कुरा गरे । उनको एकमात्र चिन्ता थियो देश बचाउने र बनाउने हो भने बालबालिकालाई देश चिनाउनु पर्छ, देश पढाउनु पर्छ । हँसाइ–हँसाइ कुरा गर्ने उनको शैली, दाँत झरेर थोतो भएको मीठो उच्चारणले हामीलाई सुनुञ्जेलसम्म पनि उत्साहित गर्यो ।

नेपालको बाल साहित्य लेखन, प्रकाशन र प्रचारप्रसार गर्ने कार्यमा निःस्वार्थ खटेका शान्तदासको विचारधारात्मक स्पष्टताले गर्दा नै लेखन र सम्पादन कला अत्यन्त सुन्दर छ । उनले लेखेका वा सम्पादन गरेका पुस्तक हाम्रो विषयबाट पक्षमात्र नभएर भाषागत पक्षसमेत सशक्त रहेको पाइन्छ । उनी लामो समय भूमिगत राजनीति, शिक्षण कार्ममा पनि समावेश भएको देखिन्छ । अन्तर्राष्ट्रिय स्तरको लेखन क्षमतालाई नेपाली साहित्यमा भित्र्याउने काममा उनको ठूलो योगदान रहेको छ । लु मुन, गोर्की अनि एण्डरसनजस्ता लेखकको उपयोगी रचनालाई उनले नेपाली भाषामा अनुवाद गरे ।

० नेपालको बाल साहित्य लेखन, प्रकाशन र प्रचारप्रसार गर्ने कार्यमा निःस्वार्थ खटेका शान्तदासको विचारधारात्मक स्पष्टताले गर्दा नै लेखन र सम्पादन कला अत्यन्त सुन्दर छ । उनले लेखेका वा सम्पादन गरेका पुस्तक हाम्रो विषयबाट पक्षमात्र नभएर भाषागत पक्षसमेत सशक्त रहेको पाइन्छ । उनी लामो समय भूमिगत राजनीति, शिक्षण कार्ममा पनि समावेश भएको देखिन्छ । अन्तर्राष्ट्रिय स्तरको लेखन क्षमतालाई नेपाली साहित्यमा भित्र्याउने काममा उनको ठूलो योगदान रहेको छ । लु मुन, गोर्की अनि एण्डरसनजस्ता लेखकको उपयोगी रचनालाई उनले नेपाली भाषामा अनुवाद गरे

नेपाल भाषामा समेत महत्त्वपूर्ण योगदान दिन भ्याएका शान्तदासले बालबालिकाको क्षेत्रलाई सम्मानपूर्वक योगदान दिए । उनले बालबालिकाहरूलाई बेलैदेखि सम्मान गर्न सिक्नुपर्छ भन्दै बालबालिकालाई अत्यन्त आदरभावका साथ व्यवहार गरेको देखिन्छ । श्यामप्रसाद, निनु चापागाई, रामबाबु सुवेदी, मुकेश चालिसे, ज्ञानु मानन्धर जस्ता शिक्षा, साहित्य र राजनीतिलाई राम्ररी बुझेका व्यक्तित्वहरूको साथीका रूपमा उनले युवा पुस्तालाई प्रशिक्षित गर्ने काम गरे । साहित्य सदन, नेपाल प्रज्ञा प्रतिष्ठान, पारिजात स्मृति केन्द्र, अभियान साहित्य प्रतिष्ठान, देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठान जस्ता दर्जनौँ सङ्घ संस्थाहरूले उनलाई सम्मान एवं अभिनन्दन गरे । कहिल्यै पनि व्यक्तिगत समस्यालाई प्रधान नठान्ने शान्तदास सामूहिक प्रयासबाट समाज सुधार्न सकिन्छ भन्ने विश्वास राख्दथे ।

उनीद्वारा लिखित, अनुदित र सम्पादित पुस्तक ग्रन्थ पत्रपत्रिकाको पठन र पुनर्पठनबाट उनको योगदानको कदर र नयाँ पुस्तामा ज्ञान र सिपको हस्तान्तरण गर्न सकिन्छ । दृढ इच्छाशक्ति भएका शान्तदास नेपाली साहित्यको क्षेत्रमा मात्र नभएर राजनीति क्षेत्रमा समेत गहन विचार राख्ने चिन्तक, विचार विस्तार गर्ने सङ्गठक र समग्रमा राष्ट्रले कहिल्यै नबिर्सने साधक हुन् । भौतिक हिसाबले भेट नहुने गरी २०८० कार्तिकमा उनको जीवनयात्रा समाप्त भयो ।

प्रतिक्रिया