धर्म र पहिचान

धर्मको अर्थ नै नबुझेका मानिसहरू एक चोक्टा मासु वा खानपिनलाई धर्म मानेर भूल गरिरहेका छन् । एकातिर सनातनरूपमा चल्दै आएको बलिप्रथाको विरोध भइरहेछ अर्कोतिर गोरु काट्नुलाई अधिकार हो भनेर तर्क गरिरहिएको छ । बाहुनले देश बिगारे भनिन्छ । त्यसैले होला अमेरिका, जापान, क्यानडा, अस्ट्रेलिया आदि देशले आफ्नो देश बिगार्नका लागि छानीछानी यिनलाई ओसारिरहेका छन् । मूर्खस्य बलं ठिंगो ।

मोहनप्रसाद सापकोटा

आफ्ना सुख वा स्वार्थका लागि अरूलाई दुःख दिनु धर्म होइन । धर्म, संस्कृति र पहिचान आफूले जोगाउने हो अरूले वा राज्यले जोगाउने होइन । हरेक धर्मका आआफ्ना शास्त्र छन् । ती कुनै पनि शास्त्रले आफ्नो धर्मको उत्कृष्टता देखाउँदै अर्को धर्मलाई खुइल्याउने काम गर्दैन । कुनै पनि धर्म वा सम्प्रदायमा भएका यस्ता विकृति धर्म होइनन् धर्मलाई पेसा बनाएका कारण पलाएका क्यान्सर रोग हुन् ।

धर्म र राजनीतिलाई पेसा बनाउन पल्केका व्यक्ति वा समूहले पौराणिक कालमा पनि यहाँको समाजलाई भाँडेर युद्ध गराएका अनगिन्ती उदाहरण छन् । मानव सभ्यताको शान्तिपूर्ण र अनवरत गति नै धर्मको मूल उद्देश्य हो । जसजसले यसमा बाधा हाल्दछन् ती विधर्मी वा दलाल वा दानव हुन् ।

चारैतिरबाट आएर हजारौँ वर्षअघिदेखि नेपालमा बसिरहेका वा बस्ने गरेका अनेकौँ जात र धर्मका मानिसहरू एक अर्काका धर्म, परम्परा र संस्कृतिलाई सम्मान गर्दै आआफ्ना धर्ममा पछि घुसाइएका विकृतिलाई अस्वीकार गर्दे आफू बाँच्न र अरूलाई बचाउन सिकिरहने गर्दछन् । धर्म र जातलाई पेसा बनाउनेहरूले पौराणिक कालदेखिको यो परम्परालाई त्यसबेला पनि सहन सकेका थिएनन् र अहिले पनि सहन सकिरहेका छैनन् । धातु पगाल्ने भाँडो (सामाजिक सद्भाव, मेल्टिंग पट) फुटाउन सके गहनाहरू (उत्कृष्ट शान्तिपूर्ण समाज) बनाउन सकिन्न भन्ने कुरा हामीलाई थाहा नभए पनि विदेशीहरूलाई राम्ररी थाहा छ ।

सनातन (हिन्दू र यसबाट जन्मिएका अनेकौँ सम्प्रदाय), मुसलमान, क्रिश्चियन आदि अनेक धर्मका बारेमा पुराणमा पनि वर्णन गरिएको छ । हजारौँ वर्ष अघिदेखि यी सबै धर्मको अस्तित्व यस क्षेत्रमा थियो । यहाँ बस्ने जोसुकै भए पनि यस क्षेत्रको सहिष्णुता र समाज विकास क्रमलाई विश्वले संकट पर्दा अध्ययन गर्न आउनु भनेर पुराणहरूले लेखे ।

सनातन धर्म भित्रको पेसाअनुसार गरिएको वर्णव्यवस्थालाई हिन्दू धर्मले छुवाछुतमुखी बनाइदिएको कुरा सत्य हो । तर त्यसो हुनुको कारणको खोजी कसैले गर्न चाहिरहेको छैन । घिनलाग्दो शरीर, पहिरन र आचरण गर्ने व्यक्ति बसमा चढ्दा बस भित्रका अरूलाई लाग्ने घिनमा धार्मिक भावभन्दा पनि मानवीय भावले बढी प्रभाव पार्दछ । सबै धर्मका मानिसले उसलाई घृणा नै गर्दछन् । छुवाछुतको विकास यसरी नै भएको हो ।

अरूको धर्ममा भएका कमजोरीलाई इन्जेक्सन बनाएर दिमागमा लगाई मुखले तथानाम ओकलेर आफ्नो धर्म उत्कृष्ट हुँदैन, ठहर्दैन । हिन्दू धर्ममा पेसाअनुसार वर्णव्यवस्था गरिएकोले ब्राह्मण पनि पद हो भनेर बुझ्नु पर्दछ । सनातन धर्मलाई हिन्दू धर्म र पेसा बनाइएपछि पेसा संरक्षणका लागि यसमा अनेक थरी विकृति घुसाइएका हुन् । उपनिषद्कालसम्म यस्तो विभेदकारी समस्या देखिँदैन । स्मृति कालमा आएर जब अनेकथरी धर्मलाई पेसा बनाउनेहरूको बीचमा भीषण युद्ध हुन थाले तब मात्र छुवाछुत आदिका कडा नियम बनाइएका हुन् ।

सृष्टिकालदेखि नै मानव समुदाय शाकाहारी र मांसाहारी गरी दुई वर्गमा विभाजित थियो । प्राचीनकालका मानिस आफू रहेको वासस्थान वरिपरि पाइने कुराको उपलब्धताको आधारमा शाकाहारी वा मांसाहारी हुन थाले । प्रकृतिप्रदत्त शाकाहारी कुराको (फलफूल र कन्दमूल) कम हुन थालेपछि पनि मानिस मांसाहारी भएका हुन् । तर जब मानिसले खेती गर्न सिके तब मांसाहार कम हुन थाल्यो । मासु खानुलाई नियमित नभई विशेष नियम र अवसरको परिधिले बार्न थालियो । यसरी विशेष परिस्थितिमा गरिने, गरिएका र भएका मांसाहारलाई पनि पौराणिक कालमा विवादका विषय बनाइने गरिन्थ्यो । विशेष प्रयोजनका लागि विशेष अवसरमा विशेष जीवजन्तुको बलि दिने परम्परा आधुनिक बौद्धधर्मको शास्त्रमा बाहेक सबै धर्मशास्त्रमा छ ।

सनातन धर्ममा संकटकालीन र अरू बेला गर्ने आचरण फरक फरक छन् । संकटकालमा आफ्नो ज्यान जोगाउन अपनाइने सबै उपायलाई धर्मअनुसार नै गरिएको मानिन्छ । सनातन धर्ममा भएको यो विशेष व्यवस्थालाई आधुनिक वणिक् धर्मले कमजोरी ठान्ने भूल गरे यसले तेस्रो विश्ययुद्ध जन्माउनेछ । यसलाई नेपालको मात्र समस्या हो भनेर विश्व समजले सोच्ने भूल कदापि नगरोस् ।
मानव भित्रको सहअस्तित्वको भावलाई दैवी र आफू मात्र ठिक अरू सबै बेठिक भन्ने भावलाई राक्षसी नामले चिनिन थाल्यो । यसैका आधारमा पृथ्वीमा भीषण नरहसंहार हुन थाले । विश्वका जहाँसुकै र जहिलेसुकै भएका नरसंहार अरूको लुटेर आफूले थुपार्ने दानवीय स्वभावका कारण भए र भइरहन्छन् । यसरी भएका, भइरहेका र हुने युद्धमा प्रयोग गरिने धर्म र आस्थाका विषय बहाना मात्र हुन् ।
नेपालमा अहिले जे भइरहेको छ त्यो बहाना मात्र हो । बहाना भावनात्मक हतियार हो । हतियारमा अन्धोपन हुन्छ । हतियार बोक्नेले आफू र आफ्नो भविष्य सोच्दैन । परिवार, समाज र देश सबैले आफ्नो अकर्मण्यता लुकाउन अरूका दोष खोतल्न सिके । राजनीति पनि यसबाट अछुतो हुन सक्ने विषय होइन ।

बिस्तारै समाज सामाजिक विभेदबाट उन्मुक्त भइरहेको थियो । मानिसहरू होटलमा गएर कुन जातले थापेको होटल नभनी खानपिन गर्न सिकिरहेका थिए तर इन्जेक्ट गरिएका वाद र धर्मलाई यी कुरा सह्य भएनन् । ‘यी यसरी मिले भने त यिनले संसारलाई कब्जा गर्दछन्’ भनेर पहिले भारत आदि देशलाई र अहिले नेपाललाई तहसनहस बनाउन खोजिँदै छ । धर्मको अर्थ नै नबुझेका मानिसहरू एक चोक्टा मासु वा खानपिनलाई धर्म मानेर भूल गरिरहेका छन् । एकातिर सनातनरूपमा चल्दै आएको बलिप्रथाको विरोध भइरहेछ अर्कोतिर गोरु काट्नुलाई अधिकार हो भनेर तर्क गरिरहिएको छ ।
बाहुनले देश बिगारे भनिन्छ । त्यसैले होला अमेरिका, जापान, क्यानडा, अस्ट्रेलिया आदि देशले आफ्नो देश बिगार्नका लागि छानीछानी यिनलाई ओसारिरहेका छन् । मूर्खस्य बलं ठिंगो । अर्काको प्रशंसा र गालीका भरमा यहाँ हुनेगरेका परिवर्तनले अब कस्तो रूप लिन्छ पर्खेर हेर्न बाँकी नै छ । ईश्वरले हामीलाई बेलैमा सद्बुद्धि प्रदान गरुन् ।

भोलि नसोचेको कुरा हुन थाले एकथरीको जस्ताको टहरा भत्किन्छन् अर्को थरीको करोडौँको मन्दिर गुम्बा । विश्व घुमेको नेपालीहरूले नै भनून्, के चर्च यस्तै हुन्छन् ? चर्चमा छिर्दा शान्ति महसुस हुन्छ । के यहाँ हुन्छ ? कि होइन ? धर्मको व्यापार भइरहेको हो वा होइन यसैबाट प्रष्ट हुन्छ । धार्मिक मानिस जुनसुकै धर्मको भए पनि डराउनुपर्दैन । तर व्यापार र कुत्सित मनशाय भएकासँग बेलैमा सचेत हुनुपर्दछ । सबै धर्ममा लागेका नेपालीले यो खतरनाक योजनालाई बेलैमा परास्त गरौँ ।

प्रतिक्रिया