बोक्सी हिन्दू र डलरको खेती

योजनाको नाम कुसंस्कार हटाउने हो, उद्देश्यचाहिँ यहाँको धर्म संस्कृतिमाथि घुमाउरो प्रहार गर्नु हो । जुन मैले माथि नै भनिसकेको छु कि २० हजार चर्च घरमा एचआइभी, क्यान्सरजस्ता रोगको पनि उपचार हुन्छ भन्दै लगेर अकालमा मृत्यु हुन पुगेका दर्जनौँ घटना हुँदाहुँदै पनि यी पात्रहरू मौन बस्छन् तर हिन्दूको कुरीतिको भने प्रमुख एजेन्डा बनाएर अभियान चलाउने गर्छन् ।

मोहन लामा रुम्बा

हालसालै अमेरिकाको सदनमा अमेरिकी सरकारका व्यवस्थापन तथा स्रोतसाधन क्षेत्रका सहायक विदेशमन्त्री रिचर्ड राहुल वर्मालाई सांसद ब्रिआन म्यास्टले नेपालमा परम्परागत रूपमा मानिने सनातन धर्मप्रति जनस्तरमा घृणा र अनास्था फैलाउनका लागि ६ करोड ६५ लाख रुपैयाँभन्दा बढी खर्च किन गरेको ? भनेर प्रश्न सोधेका थिए ।
नेपाल प्रेसको (२०८० चैत १० गते) मा प्रकाशित समाचारअनुसार ‘अमेरिकाबाट धार्मिक अनास्था फैलाउने एक संस्था ह्युमानिस्ट इन्टरनेसनलका प्रमुख गेरी सन् २०१८ मा नेपाल आएर अमेरिकी दूतावासमा बिहानको नास्तासँगै भेटघाट सुरु गरेका थिए । नेपालमा आएर पूर्वमाओवादी नेता नरेन्द्र जंग पिटरसँग भेटेका थिए ।

पिटरलाई उनले नेपालको धर्म, संस्कृति तथा परम्पराको खराब कुरा बाहिर ल्याइदिने पात्रको रूपमा व्याख्या गरेका छन् । पिटरसँगको भेटको तस्बिरमा अर्का नेपाली उत्तम निरौला देखिएका छन् । सोही दिनको साँझको खानाको व्यवस्था उत्तम निरौलाको ‘सोच नेपाल’ नामक संस्थाले गरेको उनले उल्लेख गरेका छन् ।

उक्त सोच नामक गैरसरकारी संस्थाको प्रमुख उत्तम निरौला हुन् । उक्त संस्था दशकौँदेखि धार्मिक कुरीति हटाउने नाममा हिन्दूको संस्कृतिमाथि मात्रै टिप्पणी गर्दै युट्युब च्यानल चलाइरहेको छ । उनको एक मात्र अभियान बोक्सी प्रथालाई देखाउँदै धामीझाँक्रीमाथि प्रहार गरिरहेको देखिन्छ ।

सोच नेपालले २०७३ भदौ १ देखि मंसिर मसान्तसम्म कुरीतिसम्बन्धी एक अध्ययन भन्दै एउटा रिपोर्टिङ बाहिर ल्याएको थियो । सञ्जय खड्का र एलिनोर मिडलटनद्वारा बाहिर ल्याएको उक्त रिपोर्टमा अन्धविश्वास र कुरीतिको नाममा बोक्सीको नाममा घटेको घटनाको तथ्यांक सार्वजनिक गरेको थियो र तर नेपालभरी २० हजार चर्च घरमा बिमारीलाई लगेर हाम्रो प्रार्थनाद्वारा निको हुन्छ भन्दै अकालमा मृत्यु हुनगएको घटनाका एक ठाउँमा पनि उल्लेख गरेको छैन ।

उद्देश्य र योजना

कुनै देशको कुप्रथा कुसंस्कारलाई हटाउने नाममा विदेशीद्वारा लगानी ओइराएर कसरी त्यो समाजको मूल्य–मान्यतालाई ध्वंस गरेर नयाँ धर्म नयाँ संस्कार अर्थात पश्चिमी सभ्यताको जग राख्न सकिन्छ भनेर पश्चिमीहरूले लामो अध्ययनपछि गरेको लगानीको एउटा योजना हो, ‘नेपालमा बोक्सी ।’

यसलाई बुझ्न एउटा उदाहरण प्रस्तुत गर्छु । युरी बेजमेनोव नामक व्यक्ति सन् ७० र ८० को दशकमा सोभियत गुप्तचर प्रमुख भएर भारतमा काम गरेका थिए । त्यसपछि क्यानडामा शरण लिएर सिआएको लागि काम गरे । उनको भनाइअनुसार उनलाई सोभियत गुप्तचर निकाय केजिबीले भारतमा ‘वैचारिक तोडफोड’ का लागि निर्देशन दिएको थियो । उनी अगाडि थप भन्छन्, ‘राजनीतिक वेश्याहरूलाई वास्ता नगर्नु । बरु त्यो देशका ठुला दक्षिणपन्थी मिडियाकर्मीहरू, धनी फिल्म निर्माताहरू, प्राज्ञिक व्यक्तिहरूसँग संगत गर्नु । किनकि केजिबीको नजरमा यिनीहरू आत्ममुग्ध, लोभी र नैतिकरूपमा पतन भएका व्यक्तिहरू थिए जो आफ्नो देशलाई अस्थिर बनाउन सहयोगी हुन सक्छन् ।’ युरी बेजमेनोवको उक्त कथन अहिले शक्ति राष्ट्रहरूले निमुखा देशमा कार्यान्वयन गरिरहेको हुन्छ ।

शत्रु देशको समाजको मनोबल र मनोविज्ञानलाई ‘निरुत्साहीकरण’ गर्न, उनीहरूको आस्थाका बिम्बहरूमा स्खलन ल्याउन सबैभन्दा दरिलो र प्रभावकारी पात्रहरू हुन्छ, त्यो देशको नाम चलेका अभिनेता, फिल्म निर्माता, साहित्यकार, रंगमञ्चको रंगकर्मीहरू हुने गर्छन् । जसले निर्माण गरेका फिल्महरूबाट घुमाउरो रूपमा त्यो देशको समाजको आस्था विश्वास संस्कृतिमाथि कलात्मक रूपमा प्रहार गरिरहेका हुन्छन् ।

भारतको बम्बैको हिन्दी फिल्म उद्योगमा यो मिसन कामयाब तरिकाले काम भइरहेको सबैलाई जगजाहेर नै छ । नेपालमा विशेषगरी २०४७ मा बहुदलीय व्यवस्था आएपछि रंगमञ्चमार्फत नेपाली समाजको मध्ययुगीन कुसंस्कारलाई हटाउने नाममा प्रमुख निशाना हिन्दूलाई लक्षित गर्दै रंगमञ्चमा होस् वा फिल्म क्षेत्रमा होस् हिन्दू धर्म र त्योसँग जोडिने ब्राह्मण जातिलाई जोडेर खुइल्याउने नंग्याउने उद्योग चलिरहेको छ ।

योजनाको नाम कुसंस्कार हटाउने हो, उद्देश्यचाहिँ यहाँको धर्म संस्कृतिमाथि घुमाउरो प्रहार गर्नु हो । जुन मैले माथि नै भनिसकेको छु कि २० हजार चर्च घरमा एचआइभी, क्यान्सरजस्ता रोगको पनि उपचार हुन्छ भन्दै लगेर अकालमा मृत्यु हुन पुगेका दर्जनौँ घटना हुँदाहुँदै पनि यी पात्रहरू मौन बस्छन् तर हिन्दूको कुरितीको भने प्रमुख एजेन्डा बनाएर अभियान चलाउने गर्छन् ।

लहरो तान्दा पहरो

लहरो त अमेरिकाको सदनमा सांसद ब्रिआन म्यास्टले पोल खोलिहालेका छन् । हाम्रो पैसाको दुरुपयोग किन गरिरहेको छ ? भनेर सार्वजनिक गरिसके । लहरो हल्का अमेरिकामा हल्लेको हो नेपालमा पहरो कम्पन भएको मात्रै हो । यस्ता डकुमेन्ट्री फिल्महरूको निर्माताका लागि एक जना नाम चलेको पात्र उभ्याउने मात्रै हो । लगानी उनको हुँदैन । पर्दा पछाडिको डलरबाट भुक्तानी दिने अर्को कोही हुन्छ । यस्तो थुप्रै टेलीचलचित्र, फिल्म, रंगमञ्चमा नाटक प्रदर्शनी अधिकांश लगानी बाहिरबाट हुन्छ तर सबैको लगानीको स्रोत पर्दापछाडिबाट एउटै हुन्छ ।

सामान्यतया हामीले अनुमानसम्म गर्ने मात्रै हो । योभन्दा अगाडि बोक्सीमा आधारित ‘रक्तभोग’ बनाइएको थियो । लगत्तै जस्तो अर्को ‘अग्नीदहन’ फिल्म ल्याइएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नारी दिवसको सन्दर्भ पारेर आफ्नो निवास बालुवाटारमा चलचित्र देखाएका थिए । केही वर्षअगाडि रंगमञ्चमा एउटा ‘बोक्सीको घर’ प्रदर्शन गरिएको थियो फेरि अहिले अर्को ‘बोक्सी’ ल्याएर प्रदर्शन गरिँदै छ ।

सहजै तरिकाले बुझ्नुपर्ने के हो भने अहिले बजारमा हिरोइनको सेतो साप्रा देखाएर त फिल्म नचलेर बसिरहेको बेला एकपछि अर्को ‘बोक्सी’ को फिल्मचाहिँ लगातार निर्माण भइरहनु चलाइरहनु ठूलो ठूलो मिडियामा कभर पेज निक्लिनु, डलरवादी महिला संस्थाद्वारा प्रचारप्रसारमा लगानी ओइर्याउनु कहीँ न कहीँ अमेरिकी सांसदले हाम्रो पैसा नेपालमा कहाँ खर्चेको ? भन्दै गरेको प्रश्नको उत्तर हो ‘बोक्सी’ । खर्च यहीँ भएको छ । अझै आउने दिनमा यस्तो फिल्म बनिरहनेछन् र तथाकथित बुद्धिजीवी पत्रकार साहित्यकारको मुखबाट निचोडमा भन्न लगाउनेछन् ब्राह्मणवादी पितृसत्तात्मक सत्ताको उपज हुन् बोक्सी प्रथा ।

प्रतिक्रिया