बझाङमा युवा रोजगारी सिर्जना गर्ने योजना तयार

बझाङ । बझाङमा युवा रोजगारी सिर्जना गर्ने योजना तयार भएको छ । जिल्लाको थलारा गाँउपालिकालाई पञ्चवर्षीय युवा रोजगारी सिर्जना गर्ने योजना हस्तान्तरण गरिएको हो । मंगलबार प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले पालिकाका अध्यक्ष प्रकाश रोकायालाई हस्तान्तरण गरेका हुन् ।

यस पालिकामा अधिकांश युवाहरु रोजगारीको सिलसिलामा भारतलगायत विभिन्न मुलुकमा जाने भएका कारण कोभिडको समयमा धेरै युवाहरुको रोजगारी गुमेकाले गाँउ फर्केका युवाहरुलाई आफ्नै माटोमा कसरी आयआर्जनसँग जोड्न सकिन्छ भन्ने उदेश्यले यो परियोजना सुरुवात गरेको अध्यक्ष केसीले बताए ।

अध्यक्ष केसीले जनताबाट निर्वाचित भएर आफ्नो पालिकाको विकास निर्माणमा अहोरात्र खटिने र आगामी हिनहरुमा पनि संस्थाबाट लागू भएका कार्यक्रमहरुको अवलोकन गरी कमिकमजोरी भए सुझाव सल्लाह दिन आग्रह गरे । साथै त्यस सुझाव सल्लाहलाई मनन गरी कार्यक्रम अझै कसरी दिगो र प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा पहल गर्ने र गाँउमा खाली बसेका तर केही उद्यमशिलता गर्न चाहनेहरुलाई उत्पादनसँग जोड दिन पञ्चवर्षीय युवा रोजगारी सिर्जना योजना विमोचन गरेर हस्तान्तरण गरिएको उनले बताए ।

त्यसैगरी युएमएन थापाथली काठमाडौंका कार्यक्रम साझेदारी टिम लिडर विशालबाबु श्रेष्ठले नेपाली युवाहरुले विदेशमा श्रम गरे अनुसारको तलब नपाएको र कतिपय युवाहरु अकालमै बाकसमा घर फर्किनुपरेको घटनालाई मध्यनजर गर्दै केही भए पनि आफ्नै माटोमा श्रम गर्न सिकाउने, गाँउमै बसेर श्रम गरिरहेकाहरुको कथा समेटिएको युवा रोजगारी सिर्जनाका प्रयासहरु विमोचन भएको र पालिकालाई पञ्चवर्षीय युवा रोजगारी सिर्जना योजना हस्तान्तरण हुँदा खुसी लागेको बताए ।

त्यसैगरी गाँउपालिकाका अध्यक्ष प्रकाश रोकायाले युएमएन र प्रगतिशिल युवा समाजले गर्ने कार्यशैली राम्रो भएको र गाँउमै बसेर केही न केही गरौँ भन्ने सोच भएकाहरुलाई स्वरोजगार बनाउने भूमिका खेलकोमा धन्यवाद दिए । कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ युएमएन बझाङ परियोजना व्यावस्थापक इन्दिरा राईले दिएकी थिइन् ।

प्रतिक्रिया