पत्रकार सुवेदी, थापा र बस्न्यात पुरस्कृत

काठमाडौं । ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बिजमाण्डु डट कमकी सरला सुवेदीलाई प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शुक्रबार काठमाडौंमा पुरस्कार वितरण समारोह आयोजना गर्दै सुवेदीलाई ५० हजार राशिको पुरस्कार प्रदान गरेको हो ।

यस्तै, ५० हजार राशिकै ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ टक्सार म्यागजिनका रविबहादुर थापालाई प्रदान गरिएको छ ।
यो दुई पुरस्कारका लागि नाफिजले भरतमोहन अधिकारी स्मृति फाउन्डेशनसँग सहकार्य गर्दै आएको छ ।

पुरस्कार वितरण समारोहमा फाउन्डेशनकी संस्थापक महासचिव लिमा अधिकारीले भरतमोहन अधिकारीले नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्र पुर्याएको योगदानको चर्चा गरिन् । यो पुरस्कारले आर्थिक पत्रकारितालाई थप प्रोत्साहन गर्ने उनको भनाइ छ ।

यस्तै, ५० हजार रुपैयाँ राशिको ‘निर्जीवन बीमा व्यवसायी संघ–नाफिज बीमा पत्रकारिता पुरस्कार’ रेडियो सगरमाथाकी उर्वसी बस्न्यातलाई प्रदान गरिएको छ । यो पुरस्कारका लागि नाफिजले निर्जीवन बीमा व्यवसायी संघसँग सहकार्य गर्दै आएको छ ।

कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र मल्लले यो पुरस्कारले पत्रकारलाई बीमा पत्रकारितामा थप प्रोत्साहन मिल्ने बताए । यस्तै, उनले बीमा क्षेत्रमैत्री नीति ल्याउनुपर्नेमा पनि जोड दिए ।

नाफिजले यी तीन वटै पुरस्कार खुुला प्रतिस्पर्धामार्फत प्रदान गरेको हो । जुरी कमिटीका सदस्य तथा नाफिज सल्लाहकार राजेन्द्र रिमालले प्राप्त आवेदनका आधारमा आज बिशेष समारोहका बीच अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले तीन वटै पुरस्कार प्रदान गरेका हुन् । नाफिजले यही अवसरमा नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालसँगको सहकार्यमा बजेट र मौद्रिक नीति समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि गरिहेको छ ।

प्रतिक्रिया