काभ्रेमा बुद्धचित्त लुट्ने तीन जना युवक पक्राउ

काभ्रे । काभ्रे जिल्लाको विशेषताको रूपमा परिचय समेत पाउँदै आएको बोधिचित्त (बुद्धचित्त) मालाको लुटपाट चोरीको घटना नौलो होइन । तर यस वर्ष पनि टिप्ने सिजन नजिकिँदै गर्दा लुटपाटको घटना सार्वजनिक भएको छ ।

यसैबीच बुद्धचित्त माला बनेपामा भएको चोरीपछिको घटनामा संलग्न फरार तीन जनालाई काभ्रे प्रहरीले पक्राउ गर्न सफल भएको छ । घटनाको अनुसन्धान र सुराकीको आधारमा प्रहरीले लुकिछिपी हिँडिरहेका तीन जनालाई पक्राउ गरी म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यही असार २१ गते राति बनेपा नगरपालिका–१० रेशम मार्गस्थित भवानी पाण्डेको घरको कम्पाउण्डमा रहेको बुद्धचित्तको माला चार–पाँच जना अपरिचित युवकहरुले चोरी गरेका थिए । घटनापछि उनीहरूले प्रयोग गरेका चार जोर चप्पल र जुत्ता त्यहीँ छाडेर फरार भएका थिए ।

उक्त चोरी घटनामा भुक्तभोगी सार्कीमान तामाङले २२ गते बनेपा ईलाका प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए । उक्त उजुरीपछि घटनास्थलमा रहेको सीसीटीभी फुटेज जाँच गर्दा चोरीमा संलग्न युवकहरूको अनुहार र गतिविधि प्रष्ट देखिएको थियो । सोही सीसीटीभी फुटेजको आधारमा बुद्धचित्त लुटपाट गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेरूमा महाभारत गाउँपालिका–४ का १९ वर्षका विवेक लामा, बनेपा नगरपालिका–२ का वर्ष २० का मिलन मोक्तान र बनेपा नगरपालिका–३ बस्ने वर्ष १९ का लबाड तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई असार २६ गते बिहीबार बिहान बनेपा नगरपालिका–८ चारदोबाटो क्षेत्रको भित्री सडक खण्डमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले तत्काल जरुरी पक्राउ पुर्जी तथा खानतलासी पुर्जी जारी गरी खानतलासी मुचुल्कासहित कानुनी प्रक्रिया पूरा गरेको छ ।

पक्राउ परेकाहरूलाई चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत मुद्दा दायर गरिएको जनाएको छ । यस घटनासम्बन्धी मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले मिति २०८२ असार २६ गतेबाट लागू हुने गरी चार दिनको म्याद थप स्वीकृत गरिसकेको छ ।

अहिले घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरले जानकारी दिए । काभ्रेमा यसअघि पनि रोशीमा एक बुद्धचित्तको बोट नै मध्यरातमा काटिएको घटना केही वर्षदेखि चर्चामा छ । काभ्रेको विशेष तेमाल, रोशी ,नमोबुद्ध लगायत ठाउँमा बुद्धचित्त माला फलेर अहिले टिप्ने सिजन सुरु भइरहेको छ ।

प्रतिक्रिया