यो साधनामा सबैलाई सद्भाव र सद्भावना बाँड्ने नेपाल युग गुरुदेश हो भन्ने महसुस भयो । इतिहासमा पहिलोपटक यति ठुलो संख्यामा कोरा परिक्रमा गरेको सफलता यौगिकयात्रालाई प्राप्त भएको छ । साथै चिनियाँ तथा तिब्बती समुदायले हामीलाई देखाएको सम्मान अवश्य पनि अविस्मरणीय छ

नेपाल एक अलौकिक तपोभूमि हो । यो तपोभूमिको थप प्रर्वद्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय योग दिवस मनाउनका लागि विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका संस्थापक योगी आचार्य शर्माको नेतृत्वमा कैलाश यात्रा सुरुआत गरिएको थियो । असार ४ गते पशुपतिनाथको प्रांगणबाट विधिवत रूपमा रुद्री गरेर राजन शर्माज्यू खालीखुट्टा परिक्रमाका लागि तयार साथ यात्रा प्रारम्भ गरेका थियौँ । पहिलो दिन हामी केरुङको नाका नजिकै स्याप्रुबेसीमा बास बसेका थियौँ । त्यहीँ नजिकै नेपाल इमिग्रेसनको अगाडिबाट डिपार्चर स्ट्याम्प हानेर गुरु आचार्य शर्माज्यूको फलोअप गर्दै म पनि खाली खुट्टा परिक्रमा गर्ने संकल्प गरी नांगो खुट्टाको यात्रा प्रारम्भ गरेको थिएँ । यो यात्रा मेरो गुरु तथा शिवजीको कृपाले देराफुसम्म पूर्ण उत्साहका साथ यात्रा सम्पन्न भयो । खाली खुट्टा यात्रा गर्ने गुरुको सिको गर्नेमा गुरुमोहन सिंह तथा राजन बिडारीज्यू हुनुहुन्थ्यो । मोहन सिंह ज्यूले पनि खुट्टाको यात्रा आफ्नो रेकर्ड बनाउनुभयो । हामी केरुङभन्दा यता स्याप्रुबेसीमा बस्दा साँझ आभार तथा ओपन नोपो ओपन पो ध्यान गुरुले गराउनुभयो । जसमा हामीलाई पठाउने परिवार शुभचिन्तक सम्पूर्ण नेपाली, सम्पूर्ण विश्वभरिका परिवारलाई सम्झेर आभार प्रकट गर्यौँ । यसरी हामी त्यही दिन केरुङ नाका तिब्बतको केरुङ सहरमा बास बसेका थियौँ । जुन सामुद्रिक सतहबाट २ हजार ७०० मिटरको उचाइमा रहेको छ । त्यसको भोलिपल्ट बिहान हामीले यौगिक परिक्रमा गर्दै केरुङ सहरमा त्यहाँको बौद्ध गुम्बा नजिकै खुलाचौरमा ध्यान गुरुको प्रत्यक्ष सहभागितामा स्थानीयसहित सूक्ष्म साधना आसन प्राणायाम गर्ने अवसर प्राप्त गर्यौँ । यसले हाम्रो हृदयभित्र देखिने पुलकित तथा मन निकै हलुंगो भएको थियो । शरीर शिथिल मन शान्त थियो । बिहानको भोजन पश्चात हामी तेस्रो रात बिताउनका लागि सागा प्रस्थान गर्यौँ । उक्त सहरमा साँझको स्थानीय समयअनुसार साढे ८ बजेतिर पुगेका थियौँ । जाँदाजाँदै हामीले खुला चौरमा गुरुको प्रत्यक्ष मार्ग निर्देशनमा ५–७ मिनेट ध्यानमग्न भयौँ । त्यसपछि साँझको खाना, रात्रीको विश्रामका लागि कोठामा प्रवेश गर्यौँ । भोलिपल्ट अन्तर्राष्ट्रिय योग दिवस २१ जुन तदनुसार असार ७ गते २०८३ रहेको थियो । हामी बिहानको नास्ता पश्चात र बिहानको भोजन बाटामा गरेर अन्तर्राष्ट्रिय योग दिवस मनाउनका लागि त्यहाँको स्थानीय समयअनुसार ४–५ बजेतिर पुग्यौँ ।
नेपालबाट गएका सम्पूर्ण योगीहरू मानसरोबरको आँगनमा जम्मा भयौँ । नेपालको झन्डाकारमा जुन त्रिकोण शैलीमा रहेको छ त्यसरी नै त्रिकोण बनाई बीचमा चन्द्रमा र सूर्यको प्रतीक बनाउँदै हामी विभिन्न योगासनको प्रदर्शनी गर्यौँ, जसमा नटराजसन आसन तथा पूर्ण त्रिकोणासन, प्राणायाम, ध्यान लगभग हामीले ४५ मिनेटको समय बितायौँ । यौगिकआसन, सूक्ष्मसाधना प्राणायाम र ध्यानमा आनन्दका साथ अन्तर्राष्ट्रिय योग दिवस मनायौँ । यसपछि मानसरोवर परिक्रमाका लागि जल लिएर बसमा प्रस्थान गर्यौँ । करिब १ डेढ घण्टाको समय मानसरोवर तथा राक्षसतालको परिक्रमा गर्न लाग्यो र हामी मानसरोवर नजिकै एक सामूहिक टी हाउसमा बस्नका लागि सबैजना सकुशल पुग्यौँ । ‘हाइअल्टिच्युट’का कारण राति केही गुरुलाई नाकबाट रगत आउने, फोक्सोमा समस्या हुने र १ जना बुबालाई पिसाबको समस्या आएको हुनाले अकस्मात हस्पिटलमा लानुपर्यो । कही समयको उपचार पश्चात छिट्टै नै रिकभर हुन पुग्यो । भाषा र संस्कार, संस्कृति फरक–फरक बुझेका हामीलाई चाइनिज र तिब्बतियनले दिएको माया र श्रद्धा अविस्मरणीय रहेको छ ।

साधना पछि गाडीमा कैलाश मानसरोवर ताल २ घण्टामा परिक्रमा भयो । राक्षस तालको पनि परिक्रमापछि हामी कैलाश मानसरोवर किनारमा रहेको आश्रयका लागि बनाइएका अर्ध सुविधाका बासस्थानहरूमा बस्न पुग्यौँ । चिसोका कारणले सागा देखि नै शरीर गल्ने, वाकवाकी हुने, वान्ता हुने, खाना नरुच्ने, निन्द्रा नआउने तथा नाथ्री फुट्ने समस्याले केही गुरुलाई सताएको थियो । योगीले कहिले चिसो कहिले तातो कहिले शारीरिक असहजपन बासस्थानमा कहिले राम्रो कहिले केही कुराको अभाव भएता पनि यस्ता सानातिना कुराहरू सहज रूपमा लिनुपर्छ भन्ने कुराको बोध हुन गयो । चिसो ज्यादै र पानी–बिजुलीको पर्याप्त व्यवस्थापन नभए पनि सुरुमा गुरुले र त्यसपछि अर्का आदरणीय योगीबाट दुई चरणमा शिवलिंग स्थापना गरेर रुद्री सम्पन्न भयो । सबैले शक्ति मागेर पूजा–आजा, आरती, धूप, बत्ती, नैवेद्य, पढ्ने गुरुजीलाई दान–दक्षिणा, एक रुद्री बराबरको ३०० युआन भाडा सबै सकाएर झोला गाडीमा प्याक भए । फेरि गुरुको साथमा सूक्ष्म साधना आसन प्राणायाम र ध्यानका लागि एकछिन पुनः मानसरोवर किनारमा पुग्यौँ । खुब उत्साहका साथ साधना सम्पन्न हुन पुग्यो । ३ वटा यात्रु बस, २ वटा भरिया गाडी अनि ८४ जना योग यात्री परिवार सदस्यहरू बिहानी नास्ता–चिया लिएर हाम्रो यात्रा दार्चेन सहरतर्फ अगाडि बढ्यो । रातको बसाइमा रुद्राभिषेक र खुल्ला चौरमा ध्यान साधना पश्चात हाम्रो टोली दार्चेन सहरका लागि प्रस्थान गरेको थियो ।
दार्चेन सहर सानो–सानो भए पनि सुन्दर र मूल व्यापारिक नाका बनिसकेको रहेछ । यो सहर पुगिसकेपछि यहाँबाट हामी छुट्टै प्याकेजभन्दा बाहिर तीर्थपुरी यात्राका लागि प्रस्थान गर्छौं, यसमा हामी एक बस मात्र हुन्छौँ । करिब २ घण्टाको ड्राइभमा त्यहाँ पुग्छौँ । अल्टिच्युड सिक्नेसलाई कम गर्न हामी एकछिन उकालो यात्रा गरेर त्यहाँको गुम्बा शिव र पार्वतीले ध्यान गरेको स्थान बौद्ध भिक्षुहरू र भन्तेहरूसित प्रत्यक्ष रूपमा साक्षात्कार हुन्छ । एकछिनको ध्यान साधनापछि हामी त्यहाँबाट फर्कंदै तातोपानीको उपचार लिँदै एकछिन पछि हामी त्यहाँबाट फर्किएर दार्चेन सहरमै बास बस्छौँ ।

भोलिपल्ट सम्पूर्ण योगी गुरुहरू यमद्वार जाने तयारी हुन्छ । यमद्वारमा धूपबत्ती बाल्ने पित्रृहरूको फोटा चढाउने र त्यही मन्दिरबाट प्रवेश गरेर यात्राको प्रारम्भ हुने गर्छ । परिक्रमा जाने सम्पूर्ण योगी यात्रीज्यूहरूले त्यसरी नै हामीले त्यहाँबाट पैदल यात्रा प्रारम्भ गर्यौं । हामी कोराका लागि दार्चेनबाट अथवा कैलाश परिक्रमाका लागि सबैजना यमद्वारसम्म प्रस्थान गर्छौं । त्यहाँबाट नजाने गुरुहरू फर्कनुहुन्छ र यात्राका लागि त्यहाँ यमद्वारको मन्दिर प्रवेश गर्दै यात्रा सुरुआत गरिन्छ । यसमा केही गुरुहरू डेराफु पुगेपछि उहाँहरू परिक्रमा गर्न नसकिने जस्तो भएपछि त्यहाँबाट फिर्ता हुनुहुन्छ । यही कुरालाई जाने र नजाने बीचको योगीहरूको अन्तरलाई गुरुले परिक्रमा गर्न सक्ने जति कुमार र दार्चेनबाटै दर्शन गर्ने योगीहरूलाई गणेश भनेर उहाँहरूको आत्मसम्मान वृद्धि गर्नुभयो । जसमा म आफू पनि खाली खुट्टा यात्रा गर्दै सँगै प्रेरणादायी गुरु योगी आचार्य राजन शर्माज्यूको साथमा डेराफुसम्म पुगेँ । खाली खुट्टा यात्रा पूर्णरूपमा गुरु तथा शिवजीको कृपाले सम्पन्न भयो । भोलिपल्ट अत्यधिक हिउँ परेको हुनाले बढी रिक्स नलिकन म आदरणीय गुरुको सल्लाहअनुसार जुत्ता लगाएर यात्रा गरे । गुरुदेवले भने आफ्नो संकल्पअनुसार सम्पूर्ण यात्रा नांगो खुट्टामा नै गर्नुभयो । डोलमाला पास, गौरी कुण्ड र जथुलपुक पार गरेपछि कोरा परिक्रमा सकिन्छ । त्यहाँका स्थानीय भिक्षुहरूले १३ पटक कोरा पैदल अथवा सुतेर परिक्रमा गर्ने गर्छन् ।
कैलाश पर्वत बौद्ध बोन हिन्दु मष्टलगायत विभिन्न धर्मावलम्वीहरूको आस्थाको केन्द्र रहेको छ । नेपालबाट नेपाली पासपोर्टमा आउने आदरणीय योगीहरूले १ लाख ४५ हजार ट्राभल अफिसलाई बुझाएर प्याकेज तयार भएको थियो र नेपाली मूलका एनआरएनहरूलाई भिसाको रेट अलि महँगो पर्ने भएको हुनाले प्रतिव्यक्ति २ हजार १०० डलर लागेको थियो । रोचक कुरा त हामी योगी योगका गुरुहरूको यो भ्रमणमा गुरु आचार्य राजन शर्माले खाली खुट्टाले परिक्रमा सकेर जुथुलपुक पार गरेर दार्चेन सहर स्थानीयहरूले गुरुका खुट्टा समाएर प्रार्थना गर्दै आरामका लागि छिटो तन्दुरुस्तीका लागि उनीहरूको प्रेम सद्भाव करुणा असिम श्रद्धाका साथ भाव व्यक्त गरेका थिए । त्यसरी प्रार्थना गर्ने महिला तथा पुरुष ६–७ जनाको समूहमा हुनुहुन्थ्यो । एकछिनपछि हामी विश्राम र खाना तथा नास्ताका लागि त्यहीँको स्थानीय होटलमा प्रवेश गर्यौँ । स्थानीयसित भलाकुसारी गर्दागर्दै उनीहरू नेपाल आउन चाहेको योग सिक्न चाहेको र पुनः हाम्रो सम्पर्कलाई निरन्तरता चाहेको देखिन्थ्यो । उनीहरूले हामीले खाएको बिलको भुक्तानी नलिएर एक–डेढ घण्टाको समय दिएर र अन्त्यमा हामीलाई हामी बसेकै होटेलमा उनीहरूको टुकटुके गाडीमार्फत पुर्याइदिएर ठुलो गुण लगाएका थिए । गुरुका खुट्टा समाएर ढोगेर खाना, पानी र गाडीको भाडासमेत तिर्न नदिएर पछि असीम श्रद्धाका साथ बसेको होटलमा निःशुल्क पुर्याउन देखाएको भक्तिभावले योग गुरु देश बनाएर गएमा विश्वमा नेपालीको कोही पनि शत्रु नहुने रहेछन् भन्ने बोध भयो ।

यो दार्चेन सहरको भविष्य सुनौलो छ । यो सहर नेपालको अपर मुस्ताङ तथा हिमाली जिल्ला हुम्लाको पछाडिपट्टी अवस्थित छ । सुन्दर र विशाल फाँटमा रहेको दार्चेन सहरको होटल हिमालयनमा प्रवेश गर्यौँ । केरुङ, सागा, कैलाश मानसरोवर किनार, दार्चेन गरेर जाँदा–आउँदा ८ रात चिनियाँ भूमिमा बितायौँ । भाषा संस्कार संस्कृति मिल्दोजुल्दो नभएपछि हामीलाई सञ्चार गर्नका लागि इन्टरनेटको दोभासे सेवामार्फत कम्युनिकेसन गर्ने काम गरिन्थ्यो । अंग्रेजी त डाक्टरले पनि नबुझ्ने समस्या रहेछ । कसै–कसैले मात्रै काम चलाउ बुझ्दा रहेछन् । जता पनि दोभाषेको आवश्यकता पर्दो रहेछ । यहाँका सबै घर, पसल, होटल भनेका सरकारले बनाइदिएका घरहरू रहेछन् यसमा व्यक्तिले सरकारलाई कर बुझाएर आफ्नो व्यापार व्यवसाय निर्धक्कपूर्वक चलाउन सक्ने रहेछन् । आफ्नो व्यक्तिगत सम्पत्ति भनेकै नगद मात्र रहेछ ।समग्रमा यो यौगिक यात्रा चेतनाको यात्रा थियो । यो यात्रा केवल पैसाको टुर, भोगको यात्रा, भ्रमणको यात्रा नभएर साधनाको अभ्यास थियो । पशुपतिनाथबाट प्रारम्भ भएको यो साधना अभियान असार १३ गते पुनः पशुपतिनाथमा कैलाशको जल चढाएर विधिवत रूपमा समापन भएको थियो ।
यो साधनामा सबैलाई सद्भाव र सद्भावना बाँड्ने नेपाल, गुरुदेश हो भन्ने महसुस भयो । इतिहासमा पहिलोपटक यति ठुलो संख्यामा कोरा परिक्रमा गरेको सफलता यौगिकयात्रालाई प्राप्त भएको छ । साथै चिनियाँ तथा तिब्बती समुदायले हामीलाई देखाएको सम्मान अवश्य अविस्मरणीय छ । नेपालबाट जाने गाइडमा २–२ पटक सगरमाथामा सफल आरोही छोङ्बा शेर्पाको नेतृत्वले पहिलोपटक योगको महत्व र नेपालको प्राचीन ज्ञानबारे जानकारी पाएको बताए । यात्रामा सामान्य मानिसको जीवन बेहोसपूर्ण रहेको हुन्थ्यो भने योगीहरूको यात्राले नयाँ जीवन पाएको महसुस भयो । यतिको सात्विक र सुझबुझपूर्ण यात्रा जीवनको पहिलो अनुभूति भएको भन्ने धेरैको भनाइ थियो । योगीसँगको पहिलो मिलनले हामीले ज्ञान, सम्मान र समझदारीमा योगीहरू जस्तो अरू कोही पनि नदेखिएको पनि महसुस गरायो ।
बुद्ध, हिन्दु, जैन तथा बोन धर्मका मानिसको मुख्य तीर्थस्थल रहेकोले ती धर्मका मानिसका लागि मुख्य गन्तव्य कैलाश मानसरोवरलाई मानिँदो रहेछ । नेपालीलाई पहिला पहिला भिसा लगाउनुपर्ने झन्झट थिएन पछि मात्रै भिसा लगाउनुपर्ने व्यवस्था गरिएको रहेछ ।
मानसरोवर यात्रा सन् १९१९ देखिमात्र नेपालीका लागि पनि सहज भएको बुझियो । कैलाश मानसरोवर जानेहरूका लागि अनिवार्य त्यो देशमा तिब्बती गाइड लिनुपर्ने रहेछ । तिब्बती गाइड तिब्बती ट्राभल एजेन्टबिना नेपालका कुनै पनि ट्राभल एजेन्सीले काम गर्न सक्दैनन् । यो खालको स्वतन्त्रता चिनियाँ सरकारले दिएको छैन । र त्यहाँ कुनै नयाँ स्थान नयाँ ठाउँ सरकारको गाइडबिना जान सकिँदैन । त्यहाँ अन्य देशमा जस्तो जुनसुकै समयमा आफ्नो स्वतन्त्रताको प्रयोग असम्भव रहेछ । सरकारले दिएको अनुमतिबिना त्यहाँ कुनै पनि कर्म गर्नु कानुन विपरीत हुने रहेछ ।
हाम्रो यात्राको सुरुआत गर्दा पशुपतिनाथको परिक्रमा दर्शन आशीर्वाद लिएर नेपाल सरकारका प्रतिनिधि सहसचिवज्यूले नेपालको झन्डाका साथमा महादेव शिवको महिमासहित योगी आचार्यलाई बिदाइ गर्नुभएको थियो । बसपार्कदेखि शिक्षा तथा प्रविधि मन्त्रालयले दिएको राष्ट्रिय झन्डाका साथमा महादेव शिवको भक्तीगानसहित आचार्य राजन शर्मा गुरुदेव सहितको उपस्थितमा सम्पूर्ण समूहलाई फर्कदाखेरि हामीलाई काठमाडौँ भ्यालीभित्र रहनुभएका विश्वशान्ति तथा अध्ययन विज्ञान समाजका सम्पूर्ण योगी तथा गुरुहरूले फूलको वृष्टि गर्दै सम्पूर्ण गुरुहरूलाई हार्दिकताका साथ पुन पशुपतिनाथ मन्दिर परिसरमा स्वागत गर्नुभएको थियो । हामीले शंकराचार्य मठ अगाडि जलको संकलन गर्दै पशुपतिमा कैलाश मानसरोवरको जल चढाएर आदरणीय योगीज्यूहरूले तयार गर्नुभएको प्रसादी लिएर एकछिनको विश्राम पश्चात घर फर्केका थियौँ । असार ४ गते सुरुआत भएको हाम्रो यात्रा असार १३ गते तदनुसार १८ जुनदेखि २७ जुनसम्म २०२६ मा ९ रात १० दिनको यात्रा गुरुदेवको अन्तिम आशीर्वचनसहित समापन भएको थियो ।

गुरु देश गन्तव्य बनाउने अभियानका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाउन विश्व शान्ति तथा आध्यात्म विज्ञान समाजका संस्थापक योगी आचार्य राजन शर्माको नेतृत्वमा कैलाश यात्रा प्रस्थान गरिएको थियो । नेपाललगायत विदेशी भूमिमा रहेर आदरणीय गुरुहरूले आदरणीय योगीहरूले सहभागिता जनाउनुभएको थियो । साथमा पातञ्जल योग समिति नेपालका उपाध्यक्ष होमप्रसाद गौतमलगायतकोे पनि सहकार्य र सहभागिता रहेको थियो । यो यात्रामा ८४ जना योगी तथा साधकहरूलाई शिव कृपा प्राप्त भएको थियो ।
ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥
(घिमिरे, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालका केन्द्रीय सदस्य हुन्)
प्रतिक्रिया