प्रकृतिले पनि पानी वर्षाउने यो महिना आफैँमा हरियालीले गुल्जार छ । साउन अर्थात् हरियो महिना । तर, प्रकृति मात्रै होइन बजारले यतिखेर मानिसहरूलाई पनि हरियो हुन प्रेरित गरिरहेझैँ देखिन्छ । साउन महिना सुरु भएसँगै बजारमा हरियो कपडा, हरियो चुरा, पोते र मेहेन्दीको रौनक बढेको छ ।

साउन महिनालाई हरियो महिना भन्ने गरिन्छ । मेहदी, हरियो पहेँलो चुरा र त्यस्तै पहिरनको पनि विशेष प्रयोग हुने गर्छ साउन महिनामा । केही वर्ष पहिला विशेषगरी भारत र नेपालको तराई क्षेत्रमा मात्र मेहदीको प्रयोग हुने गर्थ्यो । तर, अहिले भने देशभर यसको प्रयोगले व्यापकता पाएको छ ।
साउन लागेसँगै शृंगारका पसलमा हरियो पहेँलो चुरा पोते किन्नेको भिड लाग्ने गर्छ । महिलाका हातमा कलात्मक रूपमा मेहदी सजिएको पाइन्छ । अझ सडकपेटीमै मेहदी लगाइदिने डिजाइनरसम्मको भिड बाक्लै देखिने गरेको छ । प्रायः महिलाको हातमा मेहदी लगाएकै हुन्छ । यो महिनामा युवतीदेखि, विद्यार्थी, कामकाजी र गृहणी महिलाको हातमा समेत मेहदीका साथै हरिया पहेँला चुरा र गलामा त्यसै अनुसारका पोते देख्न पाइन्छ ।
हिजोआज साउन महिनाले हरियो रंगको सारी लगाउने, चुरा, पोते लगाउने चलन जस्तै बनेको छ । साउनमा विवाहित महिलाले हरियो रंगको चुरा, पोते, सारी वा हरियो रंग धारण गर्दा परिवारमा खुसी बढ्ने तथा पतिको भविष्यमा राम्रो प्रभाव पर्ने चलन चल्दै आएको छ । यस अलावा रातो रंग धारण गर्दा खुसी र सौभाग्य बढ्ने विश्वास गरिन्छ ।
धार्मिक दृष्टिकोणमा ग्रहको प्रभाव व्यक्तिको भविष्य र व्यवसायमा सिधा रहने गर्दछ । यस रंगलाई धारण गर्दा आफ्नो क्षेत्रमा सफल हुने विश्वास गरिन्छ । हिन्दु मान्यता र ज्योतिषशास्त्र अनुसार हरियो रंगलाई बुध ग्रहको प्रतीक मानिन्छ । तसर्थ साउनमा हरियो रंग धारण गर्दा बुध बलियो हुने विश्वास छ । बुध बलियो हुँदा मानिसले सन्तान सुख प्राप्त गर्ने तथा बुद्धि र समृद्धिलाई बढावा दिने धार्मिक मान्यता छ ।
भगवान् शिवलाई प्रसन्न पार्न र शिव कृपा पाउन पनि हरियो रंग धारण गर्ने चलन रहेको पाइन्छ । शिव आफैँमा योगी भएकाले हरियो प्रकृति र यसको रंगले शिवलाई चाँडै प्रसन्न पार्ने धार्मिक विश्वास छ । तसर्थ महिलाहरू साउन महिनामा हरियो मेहदी, चुरा, पोते र सारी लगाउने गर्दछन् ।
पछिल्लो समय हाम्रा संस्कृतिहरू देखासिखीमा बढी प्रभावित भएको पाइन्छ । फलानाले लगायो, मैले किन नलागाउने ? भन्ने सोचले पनि साउनमा हरियो पहेँलो पहिरनको विकास भएको पाइन्छ । विवाहित महिला पनि अरू बेला चुरापोतेमा ध्यान नदिनेले साउनमा भने सकेसम्म धेरै लगाएर हिँडने गरेको पाइन्छ । अफिस होस् कि घर, कामकाजी महिलाहरू हातभरी मेहदी र छन्छन् चुरा बजाउँदै कामकाज गरिरहेका देखिन्छन् ।

०००
महिलाको शृंगारको चर्चा धर्मशास्त्रहरूमा पनि गरिएको छ । नारीका १६ शृंगारमा मेहदीको पनि उल्लेख गरिएको छ । मेहदीलाई शुभ कामको प्रतीकको रूपमा मात्रै होइन जीवनका साथ परिवारमा प्रेम र स्नेहको प्रतीकको रूपमा लिने गरिन्छ । कतिपयले हातमा वा खुट्टामा लगाइएको मेहदीको रंगको अवस्थाले प्रेमीप्रेमिका वा पतिपत्नीबीचको सम्बन्धलाई दर्शाउने बताउँछन् ।
प्रकृतिले पनि पानी वर्षाउने यो महिना आफैँमा हरियालीले गुल्जार छ । साउन अर्थात् हरियो महिना । तर, प्रकृति मात्रै होइन बजारले यतिखेर मानिसहरूलाई पनि हरियो हुन प्रेरित गरिरहे झैँ देखिन्छ । साउन महिना सुरु भएसँगै बजारमा हरियो कपडा, हरियो चुरा, पोते र मेहदीको रौनक बढेको छ । बजारले निर्देशन गरेको फेसनमा हरियो रङले यतिसम्म अधिग्रहण गरेको छ कि ससाना बालबालिकादेखि वृद्धासम्म पनि हरियो पहिरनमा सजिन थालेका छन् ।
केही संस्कृतिविद् भने, साउनमा लगाइने हरियो पहिरन र मेहदी नेपालीको मौलिक चलन नै नभएको दाबी गर्छन् । हरियो पहिरन र मेहदी लगाउने चलन नेपाल भित्रिएको केवल दुई दशक मात्र भएको बताउँछन् । अहिले भने त्यही अयातित चलनले सहर बजार र ग्रामीण भेगलाई छपक्कै ढाकेको छ । साउनमा लगाइने हरियो चुरा पोतेका बारेमा नेपाल पञ्चांग निर्णायक विकास समितिको सदस्य रतिदेवी जोशी श्रेष्ठले भने, आफूहरूको समुदायमा त्यस्तो चलन नरहेको बताइन् । उनले भनिन्, ‘हामी त नेवार समुदायको हौँ, हाम्रो समुदायमा साउनमा हरियो, पहेँलो चुरा पोते वा मेहदी लगाउने गरिन्न ।’
खासमा यतिबेला धार्मिक दृष्टिले सौभाग्यका सामग्री मानिएका ती बस्तु लगाउँदा पतिको आयु बढ्ने विश्वास छ । तर यसलाई अस्वीकार गर्ने महिलाको पनि संख्या समाजमा प्रशस्तै भेटिन्छ । साउनको नाममा हावी भएका हरिया चुरा, मेहदी र पहिरन आयातित संस्कृतिको रूपमा भित्रिए पनि विस्तारै विकसित हुँदै आएको छ । पहिलेपहिले घरमै तिउरीको पात पिसेर लगाइने मेहदी हिजोआज भारतबाट सोलीमा प्याक भएर आउन थालेको छ । चुरापोते मात्रै होइन मेहदीमा पनि नेपालबाट करोडौँ रुपैयाँ भारत जाने गरेको छ ।
मेहदी मात्रै होइन, अहिले त साउनमा हरियो चुरा, टीका, पालिस, काँटा, लिपिस्टिकदेखि लुगासम्म हरिया पहेँला प्रयोग भएका छन् । नेपाली परम्पराअनुसार हरियो रङलाई उर्वरशीलता, प्रजननशीलताको प्रतीकको रूपमा मानिने हुँदा साउनमा महिलाहरूले हरियो रङमा सजिने चलन चलिआएको हुन सक्ने संस्कृतिविद्को बुझाइ छ । हुन पनि अहिले शृंगारका पसलमा अरू रंगका चुरा पोते पाउनै मुस्किल छ । बजार पुरै हरियो र पहेँलो भएको छ ।
०००
हिन्दु धर्मको परम्परागत संस्कृतिअनुसार चुरा, टीका, पोते नारीको सौभाग्यको प्रतीक र सौन्दर्यको साधन मानिन्छ ।
हुन त पछिल्लो समय आयातित संस्कृतिका नाममा विवाहित महिला दिदीबहिनीले पतिलाई खुसी तथा दीर्घायु बनाउन उसको भावना बुझेर आत्मनिर्भर र स्वाबलम्बन बन्नुपर्छ भन्नेहरूको संख्या पनि समाजमा बढ्दै गएको छ । परम्पराको नाममा राम्रा कुराको अनुशरण गर्ने तर धर्म, संस्कृतिको नाममा आफ्नो स्रोत–साधन समय अनुत्पादक क्षेत्रमा खर्चिन हुँदैन भन्ने मत पनि बाक्लिँदै गएको छ ।
००००
साउन महिनामा लगाइने विभिन्न रंग जस्तो हरियो पहेँलो, चुरा पोते र मेहदीचाहिँ हाम्रो संस्कृति होइन् । संस्कृति भएको भए त हाम्रा आमा हजुरआमाले पनि लगाउनुहुन्थ्यो होला । उहाँहरूले लगाएको देखिएन । त्यसैले यो संस्कृति होइन ।
साउनमा हरियो चुरा पोते हाम्रो संस्कृति होइन् : प्राडा वीणा पौड्याल संकृतिविद्

साउन महिनाको चाहिँ धेरै नै महत्व छ । साउनमा प्राकृतिक रूपमा हरियो हुने भएकाले पनि यसको महत्व छ । तर, साउन महिनामा लगाइने विभिन्न रंग जस्तो हरियो पहेँलो, चुरा पोते र मेहदीचाहिँ हाम्रो संस्कृति होइन् । संस्कृति भएको भए त हाम्रा आमा हजुरआमाले पनि लगाउनुहुन्थ्यो होला । उहाँहरूले लगाएको देखिएन । त्यसैले यो संस्कृति होइन ।
तर, बजारमा जताततै पाउने र सबैले लगाएको देख्दा सौन्दर्यका लागि म पनि लगाउँछु । मैले संस्कृति धर्मसँग जोडेर होइन, सबैले लगाएका छन् लाउँ न त भनेर रहरले लगाउने गरेको छु । यो हाम्रो संस्कृतिभन्दा पनि व्यापार व्यवसाय फैलिएको हो । यसमा एउटा अर्को पक्ष के पनि हो भने पहिला चुरापोते लगाउन महिलाले पतिसँग हात थाप्नुपर्थ्यो तर अहिले महिलाहरू आर्थिक रूपमा सबल हुँदै गएका छन् । आफूलाई मन लागेको कुरा आफ्नै पैसाले खरिद गरेर लगाउने सक्ने भएका छन् ।
यसमा अर्को कुरा के हो भने, व्यपार गर्न जान्नेले पनि यसको प्रचार गरे । प्रचारको व्यापकताले पनि मान्छेको आकर्षण बढेको छ । सबैले लगाए मैले पनि लगाउनै पर्छ भन्ने मान्यताको विकास गरायो । महिलाहरूलाई अहिले पनि साउनमा हरियो, पहेलो चुरा पोतेर र मेहदी लगाए पतिको आयु बढ्छ भन्ने छ । अनि एउटा अन्धविश्वास र अर्को देखाउनका लागि भए पनि लगाउने चलन बढेको छ । उसले यस्तो लगायो मैले किन नलगाउने ? भन्ने सोचको विकास भएको छ ।
साउनमा लगाउने हरियो, पहेँलो चुरापोते वा मेहदीको धार्मिक महत्व छैन । यो सौन्दर्यका लागि लगाउने हो । जहाँसम्म सिन्दुर, पोते, टीका चुरा लगाउने भनेको विवाहमा लगाइने, वैदिक विवाह पद्धतीमा पर्ने कुरा हो । त्यसैले विवाहित महिलाले यी सामग्री लगाउँछन् । साउनमा मात्रै होइन, सबै महिनामा लगाउँछन् । धार्मिक दृष्टिले त यी सामग्री लगाउनु अनिवार्य जस्तै हो ।
हामी सानो हुँदा अहिले लगाउने जस्तो मेहदी होइन, तिउरी भन्ने फूलको पात पिसेर लगाउथ्यौँ । राती लगाएर कर्कलोको पातले बाँधेर सुत्थ्यौँ, बिहान उठ्दा रातो हुन्थ्यो । त्यसमा कुनै पनि प्रकारको केमिकल मिसाइएको हुँदैनथ्यो । त्यसले खेतमा काम गर्दा हिलोले खुट्टा खाँदैनथ्यो । हातमा मात्रै होइन खुट्टामा पनि लगाउथ्यौँ । त्यसले हात खुट्टाको काप पानीले खाँदैनथ्यो । त्यो प्राकृतिक मेहदी स्वास्थ्यका लागि पनि राम्रो थियो । तर, अहिले लगाइने मेहदीमा केमिकल हुन्छ ।
हामीले समयअनुसार कतिपय कुराको अनुशरण गर्नुपर्ने हुन्छ । हिजो जे गर्यौँ आज त्यही हुँदैन । हिजो टुकी बाल्थ्यौँ, आज बिजुली बत्ती बाल्छौँ । त्यसैले संस्कृति एउटा पाटो छ तर समयले ल्याएको परिवर्तनलाई पनि रोक्न सकिन्न । लगाउने, खाने वा हिँड्ने कुरामा समयअनुसार परिवर्तन हुन्छ । त्यसलाई सहज रूपमा लिनुपर्छ । समयको परिवर्तनलाई हामीले रोक्न सक्दैनौँ । तर, हाम्रा हरेक चाडवाड र मौलिक संस्कृतिको भने रक्षा र सम्मान गर्नुपर्छ । नयाँ पुस्तालाई पनि ती कुरा बुझाउनु पर्छ । आफ्नो मौलिकता गुमाउनु हुँदैन ।
प्रतिक्रिया