सोमबार र साउन

कलियुगले च्याप्दै च्यादै लगिरहेछ । आजभोलि विवाहको ईश्वरप्रदत्त अर्थात् कर्तव्यप्रधान होइन कि धनप्रधान एवं इन्द्रिय भोगप्रधान उद्देश्य बढिरहेछ । छिसिक्क केही हुनु हुँदैन पति र पत्नीका बीचको सम्बन्धमा खटपट सुरु भइहाल्दछ । प्राकृतिक कारणले नभई भौतिक कारणले गर्दा पति वा पत्नी बदल्दै जाने चलन चल्न थालेको छ । सहनशीलता पतिपत्नी दुवैमा धेरै नै कम देखिन थालेको छ । अलि कमजोर मन हुने पति वा पत्नीले आत्महत्या गर्ने तथा कठोर मन हुने पति पत्नीले एकअर्काको हत्यासम्म गर्ने जस्ता जघन्य अपराध बढिरहेछ ।

अहिले प्रायः धर्मकर्म आदि सबै अरूलाई देखाउनका लागि हुन थालेका छन् । धर्म गर्दा पाप कट्टा हुन्छ भन्ने धर्मको अधुरो सन्देशलाई बढी प्रचारप्रसार गरिनाले पाप गरिरहने र त्यसलाई कट्टा गर्न धर्म पनि गरिरहने चलन बढिरहेछ । सबै खालका व्रत पनि यही अधुरो कुरालाई सत्य मानेर वरिपरि घुमिरहेका देखिन्छन् । शास्त्रअनुसार कुनै पाप गरेपछि त्यसको उचित दण्ड नभोगी र प्रायश्चित व्रत नबसी पाप कट्टा हुँदैन भन्ने शास्त्रको मूलकुरा धेरैजसो पण्डितले व्यासासनमा बसेर बताउनसमेत छाडे । कर्मअनुसारको फल भगवान् शिव, सृष्टिकर्ता ब्रह्मा र भगवान् विष्णुलेसमेत भोगेका थिए, हामीले पनि भोग्नु नै पर्दछ भन्ने कुरा आजकलका पण्डित प्रायः बताउँदैनन् । ती अमुक भगवान्‌को नाम लिएपछि वा हाम्रो सम्प्रदायमा लागेपछि वा यति धन दान दिएपछि सबै पाप कट्टा हुन्छ र मोक्ष पाइन्छ भन्दै मोक्ष जस्तो अति कठिन शास्त्रीय पक्षलाई लिलाम गरेर वा ठेक्का लिएर हिँडिरहेका देखिन्छन् । यस्तो हुनुमा सबैभन्दा बढी बेलायती उपनिवेशले गिजोलेको वा उसले आफ्नो वीर्य हालेर जन्माएको अनि पटकपटक न्वारन गराएको दक्षिणी आधुनिक सनातन धर्म जिम्मेवार छ ।

सामाजिक सञ्जाल भएन भने आधाभन्दा बढी धर्मकर्म गर्ने तथा गराउनेहरू हराउनेछन् । सत्य कुरा तितो हुन्छ । मनमा एउटा सोच पाल्ने तर मुखले अर्को कुरा गरेर धर्म हुँदैन । धर्म बढिरहेको देखिन्छ तर किन समाजमा अशान्ति पनि बढिरहेछ त ? किनकि जुनसुकै धर्म पनि देखाउने वा कुकृत्य लुकाउने माध्यम भइरहेछ । धर्मका ढोंगी ठेकेदारहरूबाट मानव भित्रको कमजोर पक्षलाई धर्मका नाममा शोषण भइरहेछ । अझ दिक्कलाग्दो कुरा त के छ भने सनातन धर्मलाई गिजोल्न बैना लिएकाहरूलाई कुनै मन्दिरमा भक्तजनको भिड देख्नासाथ त्यसैत्यसै जलन हुन थाल्दछ ।

विशेषगरी नेपालभित्र प्रचलनमा रहेको साउने सोमबारको व्रत पनि यो महामारीको रोगबाट अछुतो छैन । साउनको सोमबारका दिन शिवमन्दिरमा लाममा बसिरहेका महिला भक्तजनलाई सोधियो भने ती प्रायः ‘राम्रो पति पाउन वा पतिको सुस्वास्थ्य वा लामो आयुका लागि व्रत बसेको’ भनी जबाफ दिन्छन् । तिनको यो भनाइ शास्त्रसम्मत छ ।

अथाह शास्त्र–सागरबाट यो व्रतका बारेमा सबै कुरा केलाउन सम्भव छैन । स्कन्दपुराण ब्रह्मखण्ड उत्तरार्धमा एउटा कथा प्रसंग पाइन्छ । यो कथामा मन, वचन र कर्मले विधिपूर्वक सोमबार व्रत बसेर शिव र पार्वतीको पूजा गर्नुपर्ने कुरा बताइएको छ । अत्यन्त सरल, सहस र भावुक बनाउने खालका संस्कृत श्लोकहरूका माध्यमबाट कथालाई प्रस्तुत गरिएको छ ।

उक्त कथामा जसले सधैँ आननन्दमय र शान्त देखिने तथा सुरु र अन्त नभएका शिवतत्वलाई जान्दछ, उसले उत्तमस्थान पाउँछ भनेर बताइएको छ । जो सुखजन्य कामना र फल मनमा नलिई भगवान् शिवको पूजाआराधना गर्छन् ती मोक्ष हुन्छन् । विषयवासनालाई छोड्न प्रायः कुनै पनि मानिस सक्दैन (उपदेश दिनेहरू नै यसमा फसिरहेका हुन्छन्‌) । यसैले कर्ममय पूजा नै मानिसका लागि कामधेनु समान हुने गर्दछ । संसारमा गरिने शिव भगवान्‌को पूजा स्वर्ग र मोक्षको कारण हो । प्रदोष आदि गुण सहितको सोमबारका दिन गरिने पूजा यसका लागि अझ विशेष मानिएको छ ।

जो मानिस केवल सोमबारका दिन मात्र भगवान् शिवको पूजा गर्दछ उसका लागि यो लोक र परलोकमा केही कुरा पनि दुर्लभ हुँदैन । सोमबार व्रत बसी जो आफ्ना इन्द्रियका चाहना नियन्त्रण गर्दै पवित्र भएर विधिपूर्वक वैदिक वा लोकमा प्रचलित मन्त्रले भगवान् शिवको पूजा गर्दछ, ब्रह्मचारी, गृहस्थ, कन्याकेटी र पतिसहित वा पतिरहित स्त्री भगवान् शिवलाई राम्रोसँग पूजा गर्छन् भने तिनले चाहेको वरदान वा पति पाउँछन् ।

यस सम्बन्धमा सुन्नेको मन नै हरण गर्ने खालको यस्तो एउटा कथा छ जुन कथा सुन्दा मात्र पनि मानिस शिवभक्त र मोक्ष हुन्छ ।
आर्यावर्त देशमा धर्मात्माहरूमा श्रेष्ठ एकजना ‘चित्रवर्मा’ नामका प्रसिद्ध तथा दुष्टहरूका लागि कालसमानका राजा थिए भने शरणमा आएकालाई रक्षा गर्ने स्वाभावका थिए । उनी पुण्यदायक सबै खालका कर्महरू गरिरहनुका साथै शिव र विष्णुका परमभक्त थिए ।
ती राजाले आफूजस्तै गुण भएकी पत्नी तथा पुत्र पाएर पनि एक सुन्दरी पुत्रीको चाहना थियो । केही समयपछि उनको त्यो चाहना पनि पूरा भयो । पुत्री पनि जन्मिन् । उनको नाम सीमन्तिनी राखे । छोरीको भविष्य जान्ने इच्छाले राजाले उत्तमखालका ब्राह्मणहरूलाई बोलाएर जन्मपत्रिका देखाए ।

उपस्थित मध्येका एक उत्तम ब्राह्मणले यी सीमन्तिनीको जन्मपत्रिका हेर्दै पार्वती जस्तै मंगलदायिका, दमयन्तीजस्तै रूप भएकी, सरस्वतीजस्तै कला जान्ने र लक्ष्मीजस्तै महागुणी हुनुका साथै अदितिजस्तै उत्तम सन्तान पाउने, जानकीजस्तै उत्तम खालका व्रत बस्ने, सूर्यको किरणजस्तै तेजिली र चन्द्रमाको किरणजस्तै सुन्दरी हुनेछिन् भनी बताए । त्यतिमात्र नभई यिनी १० हजार वर्षसम्म पतिसुख प्राप्त गरी ८ पुत्र जन्माउनेछिन् सुनाए ।

त्यसपछि त्यहाँ उपस्थित अन्य धैर्यशाली ब्राह्मणहरूले ‘सीमन्तिनी १४ वर्षकी हुँदा विधवा हुनेछिन्‌’ भनी बताए । यसरी छोरीका दुईथरिको भविष्य सुनेपछि राजा केही समयसम्म चिन्तित भएर ‘सबै भाग्यको खेल हो’ भन्दै आफूलाई चित्त बुझाएर बस्न थाले ।
समय बित्दै गयो सीमन्तिनी कन्या बढ्दै गइन् । एकदिन उनले आफ्नी एउटी सखीका मुखबाट आफू १४ वर्षकै उमेरमा विधवा हुने कुरा थाहा पाइन् । त्यसपछि धेरै नै पीर मानी याज्ञवल्क्य मुनिकी मैत्रेयी पत्नीसँग गएर भनिन्, ‘हे माता, डरले विचलित म हजुरका चरणकमलमा आएको छु । मलाई हजुर सौभाग्वती भइरहने खालको कर्मका बारेमा बताउनुहोस् ।’

शरणमा आएकी राजकुमारीलाई मुनिकी पत्नीले भनिन्, ‘हे राजकुमारी, तिमी शिवसहित पार्वतीका शरणमा पर । उपवास बस्दै नुहाएर निर्मल कपडा लगाई सावधान हुँदै सोमबार सोमबार शिव र पार्वतीको पूजा गर्ने गर । मौन बसी, स्वस्थ मन लिएर यथायोग्य तरिकाले पूजा गर । ब्राह्मणहरूलाई भोजन गराएर भगवान् शिवलाई राम्रोसँग खुसी पार । भगवान् शिवलाई अभिषेक गर्नाले पाप नाश हुन्छ । उहाँको पीठपूजन गर्नाले संसारलाई जित्न सकिन्छ । चन्दन, माला र अक्षता (अखण्डित चामल भिजाएर) चढाउनाले सौभाग्य र सुख प्राप्त हुन्छ । धूपदान गर्नाले सुगन्धित शरीर हुन्छ । दीपदान गर्नाले शरीरको चमक बढ्छ । नैवेद्य चढाउनेले अति धेरै सुख हुन्छ । पान चढाउनाले धन प्राप्त हुन्छ । प्रणाम गर्नाले धर्म, धन, काम र मोक्ष प्राप्त हुन्छ । विधिपूर्वक जप गर्नाले ८ प्रकारका सिद्धि प्राप्त हुन्छ । होम गर्नाले सबै चाहना पूरा हुन्छन् । ब्राह्मणलाई भोजन गराउनाले सबै देवता खुसी हुन्छन् । यसरी सोमबार महादेव र पार्वतीको पूजा आराधना गर्दा जतिसुकै ठुलो संकटले आउने दुःख पनि तिमी सजिलै पार गर्न सक्नेछ्यौ । भयंकर पीडा (शारीरिक वा मानसिक) पर्दा पनि तिमी शिवपूजाका प्रभावले पार गर्न सक्नेछ्यौ ।’

यसरी राजकुमारीलाई व्रतविधि बताएर मुनिपत्नी आफ्नो आश्रमतिर लागिन् । राजकुमारी पनि दरबारतिर लागिन् । १४ वर्ष पुगेपछि राजा नल र उनकी पत्नी दमयन्तीका नाती इन्द्रसेनका पुत्र चन्द्रांगदसँग राजा चित्रवर्माले आफ्नी छोरी सिमन्तिनीको विवाह गरिदिए । एकदिनको कुरा हो । ती बलिया राजकुमार आफ्ना केही साथीहरूसँगै जलक्रिडाका लागि डुंगा चढ्न यमुना नदीमा गए । जब यमुनामा राजकुमार लगायतका मानिस डुंगामा चढेर आनन्द लिइरहेका थिए । त्यसैबेला अचानक पानीमा भुँमरी परी दैववश डुंगा पल्टन गयो । माझीसहित सबै डुबे । डुबेकामध्ये कतिमय मानिसको ज्यान गयो । कतिलाई गोहीले खायो । राजकुमार आदि केहीको अवस्था भने पत्ता लागेन ।

यस्तो दुःखद् खबर सुनेपछि राजा चित्रवर्मा दौडँदै यमुनाको किनारमा पुगे । त्यहाँ पुगेर शोक गर्दै बेहोस भए । राजकुमारी पनि दुःखद् खबर सुन्नासाथ बेहोस् भइन् । उता राजा इन्द्रसेन पनि यो दुःखद् खबर सुनेपछि दुःखी भएर आफ्ना पत्नीहरूसहित बेहोस भए । उनका मन्त्री, नगरवासी, देशवासी सबै बालक, वृद्ध तथा स्त्रीहरू राजकुमारको असामयिक मृत्युको खबरले धेरै नै शोकाकूल भएर रुन कराउन थाले । यसरी दुवैतिरका सहरहरू शोकमा डुब्न पुगे ।

केहीसमय पछि सबैको होस खुल्यो । यसपछि वृद्धजनले राजा चित्रबर्मालाई सम्झाए । उनी शान्त भएपछि सहरमा आई छोरीलाई सम्झाए । पानीमा डुबेर मरेको भनी राजकुमारको अन्तिम संस्कार सँगै आएका उनका भाइहरूबाट भयो । पतिसँगै सती जान खोजेकी पतिव्रता सीमन्तिनीलाई पिताले माया गरेर सम्झाउँदै रोके । यसरी उनी विधवा हुन पुगिन् ।

मुनिपत्नीले पहिले जेजस्तो सोमबारको व्रतको बारेमा बताएकी थिइन् विधवा भएर पनि उनले त्यो व्रत उत्तम आचारविचारसहित गरिरहिन्, छाडिनन् । यसरी १४ वर्षको कलिलो उमेरमै अति दुःख पाएर भगवान् शिवका चरणकमलको ध्यान गर्दै उनले ३ वर्ष बिताइन् ।

पुत्रशोकमा डुबेका राजा इन्द्रसेनको राज्य पनि उनका भाइहरूले खोसे र राजारानीलाई जेलमा हाले ।

उता डुंगा पल्टेर यमुनामा डुबेका राजकुमार चन्द्रांगदलाई पानीमा जलक्रिडा गरिरहेका नागकन्याहरूले पाताललोक लिएर गए । त्यहाँ राजकुमारले स्वर्गमा रहेको इन्द्रको दरबारजस्तै दरबार देखे । त्यो सहरमा राजकुमारले अनेक रत्नले बनेका सयौँ मन्दिरहरू तथा मोतिका झालरले झलझल टल्किरहेको मूलद्वार देखे । सुनका खापा देखे । सबैतिर मणिरूपी दीपले उज्यालो दिइरहेको थियो ।
त्यहाँ सभास्थलको बीचमा रत्नैरत्नले बनेको भव्य आसनमा बसेका, सयौँ फणा सहितका सर्पका राजा तक्षकलाई देखे । अनेक रत्न जडित मुकुटको रङले उनी रंगीन देखिन्थे । मधुर रूप र जवानी तथा विलासयुक्त चाल भएका हजारौँ नागकन्याले उनलाई सबैतिरबाट घेरेर बसिरहेका थिए । यस्ता सूर्यसमान तेजिला तक्षक नागलाई सभास्थलमा देखेर राजकुमारले सादर प्रणाम गरे ।
तक्षक नागले नागकन्यालाई राजकुमारका बारेमा सोधे । नागकन्याहरूले यी राजकुमारलाई यमुना नदीमा डुब्दै गरेको देखेर लेराएको बताए ।

यसपछि तक्षकले राजकुमारलाई आफ्नो परिचय बनाउन अनुरोध गरे । राजकुमारले आफ्नो परिचय दिँदै विवाह भएकोदेखि यमुदा नदीमा जलक्रिडामा जाँदा डुंगा पल्टिएर डुबेको र नागकन्याहरूले मलाई हजुरसमक्ष लेराएकाले पूर्वजन्ममा गरेका पुण्यका प्रभावले आज हजुरको दर्शन पाएर धन्य भएँ, मेरा पितृहरू पनि कृतार्थ भए भनेर सबै वृतान्त सुनाए ।

राजकुमारको उदार, अति सुन्दर र सिधा कुरा सुनेर उत्सुकतावश राजकुमारलाई सोधे, ‘तिमी कुन देवतालाई सधैँ पूजा गर्दछौ ?’
राजकुमारले भने– सबै देवता मध्येमा देवता, पार्वतीका पति महादेव जो तेजको केही अंश र रजोगुणबाट उत्पन्न ब्रह्मा संसारलाई बनाउनु हुन्छ, तिनै भगवान् शिव नै हाम्रा पूजनीय देवता हुन् । अग्नि, जमिन, हावा र जलमा रहेका अति तेजिला भगवान् शिव नै हाम्रा पूजनीय देवता हुन् । जसको शीरमा स्वर्गबाट झरेकी गंगा बस्दछिन्, जसको अंगमा पार्वती बस्दछिन्, जसका कानमा तक्षक र वासुकी नाग कुण्डल भएर सजिएका हुन्छन् अनि जसका जटामा अर्धाकार चन्द्रमा गहना बनेर सजिएका हुन्छन् त्यस्ता शिव नै हाम्रा आराध्यदेव हुन् । भनी शिवजीको अनेकौँ गुणगान गाए ।

राजकुमारका यस्ता कुरा सुनेपछि महादेवप्रति उत्पन्न भक्तिका कारण प्रसन्न भई तक्षकले राजकुमारलाई कहिल्यै रोग नलाग्ने, कहिल्यै बुढो नहुने सम्पूर्ण ऐसआराम भएको नागलोकमै बसेर सुख भोग गर्न आग्रह गरे । नागराजका यस्ता कुरा सुनेपछि राजकुमारले नम्रतापूर्वक हात जोडेर खुसी हुँदै भने, ‘मेरी पत्नी उत्तम पतिव्रता छिन् । उनी सधैँ शिवको पूजा गरिरहन्छिन् । मेरा पिता र माताको म एउटै सन्तान हुँ । यसबेला उनीहरू म मरेको सम्झी धेरै शोक गरिरहेका होलान् । ती दैववश मात्र बाँचिरहेका होलान् । यसैले धेरै दिनसम्म म यहाँ बसिरहनु हुँदैन । हजुर मलाई दया गरी कृपया मेरै लोकमा जाने आज्ञा दिनुहोस् ।’

(अहिलेको जमानामा धन पाएपछि बाउलाई समेत पार्न पछि नपर्ने समाजलाई यस्ता कुरा निरर्थक लाग्दछ । व्रत बस्ने सबैले शास्त्रले दिन खोजेको यो गहन सन्देशलाई मनन गरुन् । पत्नीलाई पतिव्रता खोज्ने पुरुषले आफू पनि पत्नीव्रता हुनु अनिवार्य छ ।)

यस्ता कुरा बताएका राजकुमारलाई कल्पवृक्षबाट उब्जिएका दिव्य र उत्तम अन्नले बनेका परिकार खुवाइयो । उत्तम चन्दन, वस्त्र, माला, रत्न र आश्चर्यलाग्दा आभूषण लगाइयो । अनेक थरी सुखदायक कुराले खुसी पारियो । अनि नागराजले ‘तिमी जब मलाई सम्झनेछौ, तब म तिम्रासामु प्रकट हुनेछ’ भन्दै अनेकथरी आभूषण र एकजना सहयोगीको साथमा सबै लोकमा इच्छाअनुसार जानसक्ने खालको एउटा घोडा राजकुमारलाई सवारीका लागि दिएर बिदा गरे ।

यसरी राजकुमार चन्द्रांगद अनेक प्रकारका धन लिएर इच्छाअनुसार जान सक्ने घोडामा चढी त्यहाँबाट बिदा भए । केही समयमै उनी यमुना नदीबाट भर्खर निस्के जसरी निस्की घोडामा चढेर सुन्दर तिरमा यताउता घुम्न लागे ।

यसैबेलामा स्त्रीहरूले घेरिएर पतिव्रता सीमन्तिनी त्यहाँ नुहाउनका लागि आइन् । त्यहाँ उनले एकजना सुन्दर मानिस उनीसँगै एक सहयोगी पनि देखिन् । दिव्य रत्न, माला र आभूषण लगाएका तथा १० हजार योजनसम्म बास्ना आउने खालको दिव्य सुगन्धयुक्त शरीरमा दलेका ती दिव्य पुरुषलाई देखेर राजकुमारी आश्चर्य र डरले अक्क न बक्क भइन् । एकटक लगाएर उनलाई हेरिरहिन् ।
उता राजकुमारले पनि राजकुमारीलाई देखेर मनमनै सोच्न थाले । कताकता मैले यिनलाई पहिले देखेजस्तो लाग्दछ । यिनका घाँटीका कुनै गहना छैन । चुल्ठो पनि बाटेकी छैनन् । शृंगारपटार, अत्तर लगाउने जस्ता कार्य पनि गरेकी छैनन् । अँखामा नीलो गाजल लगाएको पनि देखिँदैन । अंगहरू पनि दुर्बल देखिन्छन् । शोकले पीडित छिन् जस्तो छ ।

यसपछि घोडा रोकी राजकुमार नदीका किनारमा बसे । अनि ती स्त्रीलाई बोलाएर सोधे, ‘तिमी को हौ ? कसकी पत्नी हौ ? कसकी छोरी हौ ? हे सुन्दर अंग भएकी स्त्री, सानै उमेरमा तिमीमा यस्तो शोकको लक्षण किन देखिन्छ ?’

यसरी माया गरेर सोधेपछि राजकुमारीले दुबै आँखा भरी आँशु पार्दै केही नबोली लाज मानेर बसिरहिन् । उनले केही बोल्न नसकी भक्कानिएको देखी उनकी सखीले राजकुमारलाई उनको नाम, पतिको देश र नाम बताउँदै विधवा हुन पुगेको सबै बताइन् । अनि आज सोमबार भएकाले उनी यहाँ नुहाउन आएकी हुन् । यिनको ससुराको राज्य पनि शत्रुले कब्जा गरेर तिनलाई कैद गरेर राखेका छन् । यस्तो सबैतिरबाट अनेक थरी दुःखले घेर्दा पनि यिनी उत्तम आचरणमा बसी निर्मल चाहना गर्दै हरेक सोमबार पार्वतीसहित भगवान् शिवलाई अत्यन्त भक्तिभावले पूजा आराधना गरिरहेकी पनि बताइन् ।

सखीले यति बोलेपछि आफूलाई सम्हाल्दै राजकुमारीले ती पुरुषको पनि परिचय सोधिन् र विगत सम्झँदै निकैबेर घुँक्क घुँक्क गर्दै रोइन् । त्यसपछि उनका सखीहरूले उनलाई घेरे । उनी बेहोस् भइन् । निकैबेरसम्म परिस्थिति करुणाामय बनिरह्यो ।
केही समयपछि राजकुमारीलाई होस आयो । उनका सखीहरूले अनेक प्रकारका सान्त्वना दिएर उनलाई सम्झाए ।

आफ्नी पत्नीको यस्तो मुटु छुने कुरा सुनेपछि राजकुमार पनि निकैबर शोकमा डुबे । त्यसपछि आफूलाई सम्हाल्दै भने, ‘हामी सिद्ध नामका देवता हौँ । त्यसपछि राजकुमारले राजकुमारीको हात समाते ।’ यसबाट सशंकित हुन पुगेकी राजकुमारीलाई बलले तानेर अंगप्रत्यंग रोमाञ्चित हुन पुगेकी राजकुमारीका कानमा भने, ‘हे सुन्दरी, संसारमा मैले कतै तिम्रा पतिलाई देखेको छु । तिम्रा व्रतका प्रभावले गर्दा उनी चाँडै आउनेछन् । ३ दिनभित्र आएर तिम्रो शोक नाश गर्नेछन् । यही भन्नका लागि नै म यहाँ आएको हुँ । म तिम्रो पतिको मित्र हुँ भन्ने सम्झ । यो कुराका बारेमा तिमी कुनै शंका नगर्नू । म भगवान् शिवको चरणको किरिया खाएर भन्छु कि अनेक थरी शंका गरिरहेकी हे सुन्दर आँखा भएकी स्त्री यो कुरा तबसम्म तिमी कसैलाई नभन्नू । आफूमै सीमित राख्नु ।’
अमृतका धाराभन्दा पनि सयगुना मिठा यस्ता कुरा सुनेपछि भ्रमपूर्ण आँखाले राजकुमारीले अचम्म मानेर ती पुरुषलाई पटकपटक हेरिरहिन् ।

प्रेमबन्धनले भरिएका रसायनजस्ता वचन, भ्रा, उदारता र माधुर्य सहितको कटाक्षता दुवैका बीच निकैबेर चलिरह्यो । उनले आफ्नो हातमा गरिएको स्पर्श, आफ्नो शरीरको रोमाञ्चता, उसको शरीर र स्वरमा पहिलेको आफ्नो अनुभव, लक्षण तथा अवस्था, प्रमाण, रंग आदि विचार गर्दै यी पक्कै मेरा पति नै हुन् अरू होइनन् भन्ने निष्कर्षमा पुगिन् । किनकि प्रेमले अधीर भएको मन यिनमै टाँस्सिरहेको छ । यस्तो शरीर भएको व्यक्ति पनि कसरी अर्को लोकबाट आउन सक्दछ ? म अभागिनीलाई पतिको पुनः दर्शन कसरी हुन सक्दछ ? के यो सपना त होइन ? वा मलाई कुनै भ्रम भइरहेछ । कतै यो कुनै छली यक्ष वा गन्धर्व त होइन ? यस्ता अनेक कुरा राजकुमारीका मनमा खेल्न थाले ।

फेरी उनले मुनिकी पत्नीले ‘जस्तोसुकै परिस्थितिमा पनि सोमबारको व्रत बसिरहनु’ भनेको कुरा सम्झन पुगिन् । कतै यो त्यही व्रतको फल त होइन ? फेरी उत्तम ब्राह्मणहरूले मेरो भविष्य बताउँदै १० हजार वर्षसम्म सौभाग्यवती भएर बाँच्ने भनेको पनि सम्झिन् । सत्य के हो ईश्वर नै जानुन् । हरेक दिन अनेक थरी शुभ लक्षणहरू पनि देखिन थालेका छन् । भगवान् शिव खुसी भएपछि हामीजस्ता शरीरधारीका लागि कुनै कुरा पनि असम्भव हुँदैन । यस्ता अनेक थरी विचार राजकुमारीका मनमा एकपछि अर्को गरेर रुमलिन थाले ।

यसपछि पुनः राजकुमारले राजकुमारीका कानमा भने, ‘हे सुन्दरी, यो कुरा शोकले पीडित माता, पितालाई बताउन हामी गइरहेका छौँ । तिम्रो कल्याण होस् । तिमीले चाँडै आफ्नो पतिलाई पाउनेछ्यौ ।’

यति भन्दै घोडामा चढेर राजकुमार गए । तत्काल नै ती आफ्नो राज्यमा पुगे । सहरमा पुगेपछि सहर बाहिरको बगैँचामा बसी सँगै आएका सहयोगीलाई राजा भई बसेका आफ्ना भाइहरू भएका स्थानमा पठाए । त्यहाँ पुगेर नागराजले भने, ‘राजा इन्द्रसेनलाई तुरुन्त बन्दीगृहबाट मुक्त गर । उनका पुत्र चन्द्रांगद पाताल लोकमा पुगेका थिए । अहिले फर्केर आएका छन् । हजुरहरू यो सिंहासन खाली गर्नुहोस् । दशथरी कुरा नसोच्नुहोस् । अन्यथा चन्द्रांगदका बाणले तपाईंहरूको ज्यान लिनेछ । यमुना नदीमा डुबेका उनी तक्षक नागको मन्दिरमा पुगी उनको सहयोग लिएर त्यो लोकबाट पुनः यो लोकमा आएका छन् ।’

सबै कुरा विस्तारपूर्वक सुनेपछि शंका गर्दै डराउँदै तिनले चन्द्रांगद फर्केर आएको कुरा बताई राजा इन्द्रसेनलाई खुसी पार्दै कैद मुक्त गरिदिए । अनि सहरभरी यो कुरा फैलाइदिए । मरेको भनी मानिएको छोरो फर्केर आउँदा राजारानीका दुवै आँखाबाट निकैबेरसम्म निरन्तर हर्षका आँशु बहिरहे ।

मातापिताको आशीर्वाद लिएपछि मातापिताको अँगालोमा बाँधिएका ती राजकुमारले वरिपरि रहेका सबै नगरवासीलाई हेरे । तिनका बीचमा बसेर राजालाई आफ्नो सबै वृत्तान्त बताए । तक्षकसँगको आफ्नो मित्रताका बारेमा भने । यसपछि नागराजले दिएका रत्न, धन र सहयोगले लेराएका सबै दिव्य धनका बारेमा पनि बताए । राजकुमारको चरित्र देखेर वा सुनेर विह्वल भएका राजाले भगवान् शिवका आराधनाबाट आफ्नी पुत्रवधुले प्राप्त गरेकी धन र सौभाग्यका बारेमा थाहा पाए । राजाले सम्धीलाई यो मंगलदायी समाचार आफ्ना दूतमार्फत पठाए ।

राजा चित्रवर्मा यो समाचार सुनेर आनन्दले विह्वल भए । दूतलाई धेरै धन दिएर नाच्न थाले । विधवाको पहिरनमा रहेकी आफ्नी छोरीलाई बोलाएर, अँगालो हाल्दै आँशु खसाल्दै आभूषण आदिले सिँगारे । नगर, गाउँ सबैतिर ठुलो उत्सव मनाइयो । लोकले सीमन्तिनीको उक्त उत्तम आचरणको प्रशंसा गरे । यसपछि राजा चित्रवर्माले इन्द्रसेनका पुत्रलाई बोलाएर पुनः विवाह गरी कन्यादान गरे । चित्रांगदले तक्षकले दिएका गहना लगाउन दिएर आफ्नी पत्नीलाई सिँगारे । सबैतिर खुसियाली छायो ।

यसरी यो कथामा सोमबारका व्रतका बारेमा विस्तृत कुरा बताइएको पाइन्छ ।

साउने सोमबारको व्रतका सम्बन्धमा हेमाद्रीका स्कन्दपुराणको भनी राखिएको श्लोक यहाँ राख्न चाहन्छु ।

श्रावणे तु महादेवं सोमवारेण पूजयेत् ।

रात्रौ तु भोजनं कुर्यान्मदकौटिल्यवर्जितः ॥

साउनका सोमबारमा महादेवको पूजा गर्नू । (दिनभर व्रत बसेर) रात परेपछि मात्र खाना खानू । उन्माद र कुटिलता नगर्नू ।
उपसंहार : एउटा शरीरका लागि बसिने व्रत हुन्छ । यसलाई आधुनिक भाषामा फास्टिङ भन्न सकिन्छ । आयुर्वेदमा उपचारका लागि मानिसलाई भोकै राख्ने विधि बताइएको छ । अर्को हो धर्मका लागि । धर्मका लागि बसिने व्रतमा मन, वचन र कर्म गरी तीन वटै पक्ष शुद्ध हुनुपर्दछ । मनले परपुरुष वा परस्त्री सम्झने अनि पति वा पतिका लागि व्रत गरेँ भनेर ढ्वाङ फुक्ने कार्य धार्मिक व्रत होइन र हुन पनि सक्दैन ।

प्रतिक्रिया