साउन लागेसँगै डुब्छ शिवभक्तिमा मधेस

साउन महिनामा बाबाधाम (वैद्यनाथ धाम) जाने तयारी एक साताअघि नै सुरु हुन्छ । यदि सोमबार जल चढाउने योजना छ भने शनिबारदेखि नै यात्राको तयारी सुरु गरिन्छ । बाबाधामको यात्रामा तीर्थयात्रीहरूले बिहारको भागलपुर जिल्लास्थित सुल्तानगन्जमा रहेको उत्तरवाहिनी गंगा (उत्तरतर्फ बग्ने गंगा) बाट पवित्र गंगाजल भर्छन् । त्यसपछि काँधमा काँवर बोकेर करिब १०५ किलोमिटरको कठिन पैदल यात्रा तय गर्दै झारखण्डको देवघरस्थित बाबाधाम पुगेर भगवान् शिवलाई जल अर्पण गर्छन् ।

जनकपुरधाम । साउन महिना सुरु भएसँगै मधेसका गाउँदेखि सहरसम्म शिवभक्तिको रौनक बढ्न थालेको छ । हरियो सारी, हरियो चुरा र मेहेन्दीले सिंगारिएका महिलादेखि बोलबमको पहेँलो तथा केशरिया पहिरनमा सजिएका पुरुषहरू शिवालयतर्फ लम्किरहेका भेटिन्छन् । विशेषगरी साउने सोमबारका दिन मधेसका शिव मन्दिरहरूमा जल अर्पण गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

शिवप्रतिको अटल आस्था बोकेका हजारौँ भक्तजन समूह बनाएर भारतको झारखण्डस्थित प्रसिद्ध बाबा वैद्यनाथ धाम (बाबाधाम) पुग्ने परम्परा पनि मधेसमा वर्षौंदेखि चलिआएको छ । काँवरमा पवित्र जल बोकेर सयौँ किलोमिटर पैदल यात्रा गर्दै ‘बोलबम’को जयघोषसँगै भक्तजन बाबाधाम पुगेर भोलेबाबालाई जल अर्पण गर्ने गर्छन् । साउन हिन्दू धर्मावलम्बीका लागि भगवान् शिवलाई समर्पित पवित्र महिना मानिन्छ । धार्मिक विश्वासअनुसार यस महिनाभर शिवको पूजा–आराधना गर्दा सबै देवी–देवताको पूजा गरेसरह पूण्य प्राप्त हुने जनविश्वास छ । विशेषगरी साउने सोमबारको व्रत र पूजालाई अत्यन्त फलदायी मानिन्छ ।

पौराणिक कथाअनुसार माता पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न साउन महिनाभर कठोर व्रत बसेकी थिइन् । त्यसैको स्मरणस्वरूप विवाहित तथा अविवाहित महिलाले हरियो वस्त्र, हरियो चुरा र मेहेन्दी लगाई सोमबार व्रत बस्ने तथा शिवको पूजा गर्ने परम्परा आज पनि कायम छ । धार्मिक मान्यताअनुसार यसरी पूजा–आराधना गर्दा दाम्पत्य सुख, परिवारको समृद्धि, सन्तानको दीर्घायु तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

बाबा वैद्यनाथ धामको यात्राका क्रममा पुरुष तथा महिला काँवरियाहरू भजन–कीर्तन गाउँदै आस्था र उत्साहका साथ पैदल यात्रा गर्छन् । लामो र कठिन यात्रालाई सहज, रमाइलो र भक्तिमय बनाउन उनीहरू परम्परागत बोलबम गीतहरू गुनगुनाउने गर्छन् । यिनै लोकप्रिय गीतहरूमध्ये एक गीत यसप्रकार छ ः

बाबा लेने चलियौ हमरो अपन नगरी,

अपन नगरी, झारिखण्ड डगरी ।

बाबा लेने चलियौ हमरो अपन नगरी ।

अंगना बहारब बाबा, घरबा बहारब,

आउर बहारब अहाँके डगरी ।

बाबा लेने चलियौ हमरो अपन नगरी ।

यो गीतले भगवान् वैद्यनाथप्रतिको श्रद्धा, भक्तिभाव र बाबाधाम पुग्ने तीव्र आकांक्षालाई अभिव्यक्त गर्छ । यात्राका क्रममा यस्ता भजन र बोलबम गीतहरूले काँवरियाहरूमा नयाँ ऊर्जा भर्ने, थकान कम गराउने र सम्पूर्ण यात्रालाई अझ भक्तिमय तथा उल्लासपूर्ण बनाउने अनुभव बोलबम यात्रामा सहभागी यात्रीहरूको छ ।

साउन महिनामा बाबाधाम (वैद्यनाथ धाम) जाने तयारी एक साताअघि नै सुरु हुन्छ । बोलबम यात्री अमरकान्त ठाकुरका अनुसार यदि सोमबार जल चढाउने योजना छ भने शनिबारदेखि नै यात्राको तयारी सुरु गरिन्छ । बाबाधाम (वैद्यनाथ धाम) को यात्रामा तीर्थयात्रीहरूले बिहारको भागलपुर जिल्लास्थित सुल्तानगन्जमा रहेको उत्तरवाहिनी गंगा (उत्तरतर्फ बग्ने गंगा) बाट पवित्र गंगाजल भर्छन् । त्यसपछि काँधमा काँवर बोकेर करिब १०५ किलोमिटरको कठिन पैदल यात्रा तय गर्दै झारखण्डको देवघरस्थित बाबाधाम पुगेर भगवान् शिवलाई जल अर्पण गर्छन् । सुन्नमा यात्रा जति सहज लागे पनि वास्तविकता भने निकै कठिन हुन्छ । लामो दुरी, शारीरिक थकान र विभिन्न चुनौतीका बाबजुद श्रद्धालुहरू शिवप्रतिको आस्था र विश्वासका साथ यात्रा पूरा गर्छन् । अन्त्यमा बाबाधाम पुगेर भगवान् शिवलाई जल अर्पण गरेपछि यात्राभरका सबै दुःख, पीडा र थकान क्षणभरमै बिर्सिने अनुभव हुने उनी बताउँछन् ।

वरिष्ठ पत्रकार वृजकुमार यादव विगत २५ वर्षदेखि हरेक साउनमा बाबाधाम (वैद्यनाथ धाम) को यात्रा गर्दै आएका छन् । उनका अनुसार बाबाधामको यात्रा केवल धार्मिक अनुष्ठान मात्र नभई समानता, सहयोग र मानवताको उत्कृष्ट उदाहरण पनि हो । उनी भन्छन्, ‘यात्राको क्रममा धनी–गरिब, जात–जाति, बिरामी, पीडित वा कुनै पनि वर्गका मानिसबीच कुनै विभेद हुँदैन । सबै श्रद्धा र आस्थाका साथ एउटै उद्देश्य लिएर यात्रा गर्छन् । एकअर्काप्रति सहयोग र सद्भावको भावना देखिन्छ ।’ बाबाधाम मोहबारे यादव भन्छन्, ‘हरेक वर्ष अब त धेरै भयो जान्न भन्छु तर साउन लागेपछि फेरि बाबासँग भेट्ने उत्कट इच्छा जाग्छ र काँवर उठाएर बाबाधाम पुगिहाल्छु ।’ उनले बाबाधाम पुगेर भगवान् शिवलाई जल अर्पण गर्दा आत्मसन्तुष्टि प्राप्त हुने, मनमा शान्ति छाउने तथा तनाव र चिन्ता कम हुने अनुभव सुनाए । ‘त्यहाँ पुग्दा आध्यात्मिक आनन्दको अनुभूति हुन्छ’ उनले भने । यादवका अनुसार धेरै श्रद्धालुहरू आफ्नो मनोकामना पूरा होस् भन्ने विश्वासका साथ भाकल पूरा गर्न पनि बाबाधाम जाने गरेका छन् । यही कारणले प्रत्येक वर्ष बाबाधाम पुग्ने बोलबम यात्रुहरूको संख्या उल्लेख्य रहने गरेको उनको भनाइ छ ।

पत्रकार श्यामसुन्दर शशीका अनुसार वैद्यनाथधाम हिन्दू धर्मका १२ ज्योतिर्लिंगमध्ये एक महत्वपूर्ण तीर्थस्थल हो । धेरैजसो काँवरिया यात्रुहरू बाबाधामतर्फ आकर्षित हुने गरेका छन् । उनका अनुसार काँवरिया यात्रुहरू पैदल यात्रा गर्न रुचाउँछन् र भौगोलिक दृष्टिले बाबाधाम उनीहरूका लागि अपेक्षाकृत सहज गन्तव्य बनेको छ । साथै, झारखण्ड सरकारले बाबाधाम यात्रालाई व्यवस्थित बनाउन निःशुल्क आवास, भोजन तथा अन्य आधारभूत सुविधाको व्यवस्था गरेको छ । यात्राको क्रममा पर्ने गाउँका स्थानीय बासिन्दाले पनि काँवरिया यात्रुहरूलाई विभिन्न प्रकारका सहयोग गर्ने गरेका छन् । शशी भन्छन्, ‘लामो यात्रा गर्दा थाकेका यात्रुहरूलाई चिसो पानी उपलब्ध गराउने, गर्मीबाट राहत दिन शरीरमा पानी छर्किने तथा आरामका लागि आवश्यक सहयोग गर्ने जस्ता कार्यहरू बाटोभरि देख्न सकिन्छ ।’ उनका अनुसार बाबाधामसम्मको यात्रा सहज र सुरक्षित बनाउन स्थानीय समुदाय तथा सम्बन्धित निकायहरू सक्रिय रहने गरेका छन् ।

झारखण्ड सरकारले बाबाधामलाई धार्मिक पर्यटनसँग जोडेर विकास गरिरहेको उल्लेख गर्दै शशीले बढीभन्दा बढी श्रद्धालुहरूले बाबा वैद्यनाथको दर्शन गर्न सकून् भन्ने उद्देश्यका साथ पूर्वाधार र व्यवस्थापनमा निरन्तर ध्यान दिइरहेको बताए । उनका अनुसार नेपालको सन्दर्भमा पशुपतिनाथ अत्यन्त महत्वपूर्ण धार्मिक केन्द्र भए पनि तीर्थयात्रीका लागि आवश्यक सेवा–सुविधा र व्यवस्थापनको क्षेत्रमा अझै सुधारको आवश्यकता छ । यही कारणले मधेसका धेरै काँवरिया यात्रुहरू बाबाधामको यात्रालाई प्राथमिकता दिने गरेको उनको भनाइ छ ।

वैद्यनाथधाम अनेक नामले परिचित छ । कसैले यसलाई बाबाधाम, कसैले देवघर त कसैले वैद्यनाथ ज्योतिर्लिंग भनेर सम्बोधन गर्छन् । हिन्दू धर्मावलम्बीहरूका लागि यो अत्यन्त पवित्र तीर्थस्थल हो, जहाँ विश्वभरबाट श्रद्धालुहरू भगवान् शिवको दर्शन र आशीर्वाद लिन पुग्ने गर्छन् । पण्डित रन्धीर झाले पौराणिक कथाको उल्लेख गर्दछन् । कथाअनुसार राक्षसराज रावण भगवान् शिवका परम भक्त थिए । भगवान् शिवलाई प्रसन्न पार्न उनले कैलाश पर्वतमा पुगेर कठोर तपस्या गरेका थिए । लामो समयसम्म तपस्या गर्दा पनि भगवान् शिव प्रसन्न नभएपछि रावणले आफ्ना टाउकाहरू १–१ गरी काटेर शिवलाई अर्पण गर्न थाले । ९ वटा टाउको अर्पण गरिसकेपछि १०औँ टाउको काट्न लाग्दा भगवान् शिव प्रकट भई रावणका सबै टाउका पुनः जोडिदिए र इच्छित वरदान माग्न आग्रह गरे ।

रावणले भगवान् शिवलाई लंका साथमा लिएर जान चाहेको इच्छा व्यक्त गरे । भक्तको तपस्याबाट प्रसन्न भएका भगवान् शिवले आफ्नो शिवलिंग स्वरूप साथमा लैजान अनुमति दिए, तर एउटा सर्त राखे – लंका नपुग्दासम्म शिवलिंगलाई पृथ्वीमा राख्न नहुने, यदि राखियो भने त्यहीँ स्थायी रूपमा स्थापित हुनेछ । रावण शिवलिंग बोकेर लंकातर्फ लागे । बाटोमा भगवान शिवको मायाले उनलाई लघुशंका लाग्यो । उनले एक गोपाललाई केहीबेर शिवलिंग समात्न दिए । धेरै समयसम्म रावण नफर्किएपछि गोपालले शिवलिंग भुइँमा राखिदिए । पछि फर्केर आएका रावणले धेरै प्रयास गर्दा पनि शिवलिंग उठाउन सकेनन् र त्यो त्यहीँ स्थायी रूपमा स्थापित भयो ।

त्यही शिवलिंग पछि वैद्यनाथेश्वर ज्योतिर्लिंगका रूपमा प्रसिद्ध भएको जनविश्वास छ । यसको दर्शन र पूजा–आराधनाले मनोकामना पूरा हुने तथा पाप नाश हुने धार्मिक विश्वास रहिआएको छ । त्यसपछि ब्रह्मा, विष्णुलगायत अन्य देवी–देवताले पनि त्यहीँ भगवान् शिवको पूजा–अर्चना गरी प्रतिष्ठा गरेका थिए । यही कारणले उक्त पवित्र स्थल आज वैद्यनाथधाम (बाबाधाम) नामले विश्वभर प्रसिद्ध मानिन्छ ।

बाबाधाममा भगवान वैद्यनाथ (शिव) को दर्शन गरेपछि श्रद्धालुहरू मन्दिर परिसर वरपर रहेका बासुकिनाथ, तपोवन लगायतका दर्जनौँ धार्मिक तथा ऐतिहासिक तीर्थस्थलको पनि दर्शन गर्ने गर्छन् । तीर्थयात्रा सम्पन्न गरी फर्किने क्रममा अधिकांश भक्तजनले प्रसादीका रूपमा प्रसिद्ध देवघरको पेडा किनेर घर फर्किने परम्परा रहेको छ । धार्मिक पर्यटनको दृष्टिले बाबाधामलाई व्यवस्थित रूपमा विकास गरिएको उदाहरण प्रस्तुत गर्दै अधिकांश श्रद्धालुहरू नेपालले पनि यसबाट सिक्नुपर्ने धारणा राख्छन् । उनीहरूका अनुसार नेपाल मन्दिरै–मन्दिरको देश भए पनि धार्मिक पर्यटनलाई व्यवस्थित रूपमा प्रवद्र्धन गर्ने स्पष्ट सरकारी नीति र दीर्घकालीन योजनाको अभाव देखिन्छ ।

उनीहरू भन्छन्, ‘बाबाधाममा दर्शनदेखि आवास, भोजन, तीर्थस्थल भ्रमण र स्थानीय उत्पादनलाई प्रसादीका रूपमा प्रवद्र्धन गर्ने व्यवस्था गरिएको छ । तर नेपालमा मन्दिर दर्शनपछि श्रद्धालुहरूले प्रसादीका रूपमा लैजान सक्ने स्थानीय उत्पादन वा मिठाईलाई व्यवस्थित रूपमा ब्रान्डिङ र प्रवद्र्धन गरिएको देखिँदैन ।’ श्रद्धालुहरूको भनाइमा, धार्मिक पर्यटनको पूर्वाधार, तीर्थयात्रीमैत्री सेवा, स्थानीय उत्पादनको प्रवद्र्धन तथा समग्र व्यवस्थापनका दृष्टिले झारखण्ड सरकारले बाबाधाममा अपनाएको मोडेलबाट नेपालले धेरै कुरा सिक्न सक्छ ।

प्रतिक्रिया