साउन महिना सुरु भएसँगै हरियो चुरापोते तथा मेहदीको व्यापार बढेको छ, भने माछामासु, मदिरा, लसुन प्याजको व्यापार घट्ने गर्छ । सहरी महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहदी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउने क्रम बढेसँगै बजारमा यसको व्यापार बढ्दै गएको छ । यो चलन विस्तार गाउँ पनि पसेको छ । वर्षदिनका ११ महिनामा खासै नहुने हरियो चुरा तथा मेहदीको व्यापार यो १ महिनामा भने ह्वात्तै बढ्ने गरेको छ ।

काठमाडौँ । हिन्दु महिला तथा पुरुषले साउन महिनाभर भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । साउनमा महिला हातमा मेहदीसँगै हरियो चुरा र पहेँलो पोते लगाउने गर्छन् । यस्तै, पुरुषहरूले पहेँलो वस्त्र लगाउने गर्छन् । भगवान् शिवसँग जोडिएका कारण नेपाली समाजमा साउन महिनाको ठुलो महत्व रहेको छ । हिन्दुहरूले साउन महिनालाई भगवान् शिवको महिनाका रूपमा लिने गरिन्छ । साउने सोमबार व्रत बसेर हरियो चुरा लगाउँदा मनमा खुसी, आनन्द र शान्तिको अनुभूति हुने गरेको महिलाहरू बताउँछन् ।
साउन महिना सुरु भएसँगै संघीय राजधानी काठमाडौँसहित देशभर हरियो चुरापोते तथा मेहदीको व्यापार बढ्ने गर्छ भने माछामासु, मदिरा, लसुन प्याजको व्यापार घट्ने गरेको छ । सहरी महिलाले पछिल्लो समय साउन लागेपछि मेहदी, हरियो चुरा र पहेँलो पोते लगाउने क्रम बढेसँगै बजारमा यसको व्यापार बढ्दै गएको छ । यो चलन विस्तारै गाउँ पनि पसेको छ । वर्षदिनका ११ महिनामा खासै नहुने हरियो चुरा तथा मेहदीको व्यापार यो १ महिनामा भने ह्वात्तै बढ्ने गरेको छ ।
विगतमा अन्य बाहिरी अवस्था सामान्य रहेको वर्षको साउन महिनामा हरियो चुरा, पोते र मेहदीको देशभर अनुमानित ४० देखि ५० करोड रुपैयाँभन्दा बढीको व्यापार (कारोबार) हुने गरेको थियो । पहिलो साता नै धेरै नै व्यापार हुने गरेको थियो । यो वर्ष भने साउनको एक साता बितिसक्दा समेत काठमाडौँका मुख्य मुख्य व्यापारिक हब सुनसान जस्तै छन् ।
विगतका साउनमा कस्मेटिक क्षेत्रको वर्षभरि हुने कुल व्यापारको झन्डै एकतिहाइ (३० प्रतिशत) हिस्सा साउनमै हुने गर्दथ्यो । मुख्य मुख्य आयातकर्ता व्यापारीहरूका अनुसार यो वर्ष साउन महनिामा बिक्री हुने बस्तुको माग विगतको तुलनामा ५० प्रतिशतभन्दा कम छ ।
काठमाडौँको इन्द्रचोक र असनका साना–मझौला पसलहरूमा सामान्य दिनमा ८ देखि १० हजार रुपैयाँ हुने व्यापार साउनमा दैनिक २० देखि ३० हजार रुपैयाँसम्म पुग्ने गरेकामा यो साउनमा भने सबै व्यापार १० प्रतिशतमै सीमित भएको असनका एक व्यापारीले बताए । उनले भने, ‘कस्मेटिक बस्तु तथा साउनमा लगाइने चुरा, पोते, सारी, कुर्था तथा मेहदीको कारोबार एकदमै न्यून छ । कतिपय आएका ग्राहक पनि महँगो भयो भनेर किन्दै नकिनी हिँड्ने गर्छन् ।’

कपडा तथा कस्मेटिक बस्तुहरूको व्यापार गर्दै आएकी रिता श्रेष्ठले गत वर्षभन्दा यो वर्ष ३० प्रतिशत मात्रै व्यापार भएको बताइन् । साउन महिनाका लागि मात्रै करोडौँ रुपैयाँ बराबरका चुरापोते र मेहदी भारत, चीनलगायतका देशहरूबाट आयात हुने गरेको छ । साउनमा फुटपाथ, साना कस्मेटिक पसल र ब्युटी पार्लरहरूमा एकदमै भिडभाड हुने गर्दथ्यो । यो वर्ष भने एकदमै सुनसान रहेको बुटवलमा कस्मेटिक पसल चलाइरहेका अशोक खड्काले बताए । पछिल्लो समय परम्परागत बजारमा भिड केही कम देखिए पनि अनलाइन सपिङ (टिकटक, इन्स्टाग्राम) मार्फत हुने डिजिटल व्यापारको हिस्साले पनि भिडभाड केही कम भएको हुनसक्ने व्यापारीहरू बताउँछन् ।
खिचापोखरी न्यूरोड व्यापार संघका महासचिव भरतबहादुर थापा क्षेत्रीले साउन महिना तुलनात्मक रूपमा चुरा, हरियो सारी र मेहदी जस्ता सामग्री बढी व्यापार हुने गरेकोमा यो साउनको पहिलो साताको अनुपात हेर्दा विगत वर्षहरूभन्दा आधा पनि व्यापार नभएको बताए । नयाँ सरकार गठन भएयता बजारमा सकारात्मक प्रभाव पर्न नसकेको उनले बताए । ‘समग्र बजारमा व्यापार लगातार घट्दो क्रममा छ । समग्र अर्थतन्त्रमा आएको आर्थिक मन्दी र बजारमा छाएको त्रासका कारण उपभोक्ताहरूसँग खरिद क्षमता नहुँदा व्यापारमा मन्दी आएको हुनसक्छ ।’ उनले भने, ‘राज्यले ल्याएको नयाँ एमआरपी नियम र जताततै थपिएको करको भारले गर्दा पनि उपभोक्ताहरू मारमा परेको हुनसक्छ ।’
त्यस्तै, काठमाडौँको इन्द्रचोकमा चुरापोतेको व्यापार गर्दै आएका अहमद मुसलमानले अरू महिनाको तुलनामा यो महिना चुरापोतेको व्यापार बढेको बताए । उनले भने, ‘अरू समयमा दैनिक ८–१० हजारको व्यापार हुन्थ्यो, पछिल्लो २–४ दिनमा दैनिक २० देखि २५ हजारको व्यापार भएको छ ।’ उनले पनि यो वर्ष गत वर्षको तुलनामा व्यापार घटेको बताए ।
महँगो परे पनि साउनमा लगाउनै पर्ने भएकोले हरियो चुरा, सारी र मेहदी किन्न आएको टोखाकी नीलमले बताइन् । उनले भनिन्, ‘धार्मिक विश्वास हो । अनिवार्य लगाउनै पर्ने वाध्यता छ । नकिनी भएन भनेर बजार आएको, अब सस्तो जता पाइन्छ त्यतै किन्ने हो ।’

मदिरा र मासुको व्यापार
धार्मिक महिना भएकोले साउनमा अधिकांश महिलाहरू व्रत बस्ने तथा शिवालयमा पुगेर पूजा आराधना गर्ने भएकोले सरकारी तहबाटै शिवालयको आसपासमा यो १ महिना मदिरा तथा माछामासुको व्यापार रोक्न कडा अनुगमनसमेत गरिन्छ ।
साउनमा धेरै प्रकारका खानाहरू खान निषेध गरिन्छ । मासुजन्य खाना पनि यस्तै खानाहरूमध्ये एक हो । धेरै जना साउन महिनामा मासु बार्ने गर्छन् । यसका पछाडि धार्मिक विश्वास त छँदै छ, तर मासुजन्य खाना नखानुमा वैज्ञानिक कारण पनि रहेको बताइन्छ ।
हिन्दु धर्मावलम्बीका लागि साउन महिना महत्वपूर्ण पवित्र महिना मानिन्छ । यो समयमा भगवान् शिवको आराधना गरिन्छ र उनको कृपा प्राप्त गर्न व्रत–उपवास पनि राखिन्छ । यस्तोमा यो महिनाको पवित्रता र पूजा–अर्चनाका नियमहरूको पालना गर्दै मासुजन्य खानाबाट टाढा रहने गरिन्छ ।
साउनमा वर्षात्का कारण वातावरणमा आद्र्रता र चिसो बढ्छ । यो समयमा मानव शरीरको मेटाबोलिज्म दरमा कमी आउन सक्छ, किनभने शरीरले चिसो मौसममा ऊर्जा संरक्षण गर्न खोज्छ । मासुजन्य खानाहरू प्रोटिन र बोसोयुक्त हुन्छन्, जसलाई पचाउन शरीरले धेरै ऊर्जा र समय खर्च गर्नुपर्छ । वर्षात्को समयमा कमजोर पाचन शक्तिका कारण यस्ता खानाहरू पचाउन गाह्रो हुन्छ, जसले अपच, ग्यास्ट्रिक वा पेटसम्बन्धी अन्य समस्याहरू निम्त्याउन सक्छ । त्यसकारण पनि माछामासु बार्नु उपयुक्त मानिन्छ ।
विगतमा साउनमा अन्य महिनाको तुलनामा मासुको कारोबार ३० प्रतिशतले घट्ने गरेको थियो । तर यो वर्ष भने कारोबार खासै घटेको छैन । २ महिना काठमाडौँ लगायतका धेरै स्थानमा देखिएको बर्डफ्लुको कारण कुखुराको मासुको खपत आधा घटेकोमा पछिल्लो समय बर्डफ्लुको संक्रमण कम भएसँगै मासुको खपत बढेको व्यवसायीहरू बताउँछन् ।
नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रालि (कंलकी खसीबजार)का प्रबन्धनिर्देशक जीवन खतिवडाका अनुसार अन्य महिनाभन्दा साउनमा खसीबोकाको कारोबार १५ प्रतिशत घट्ने गरेको छ । उनले भने, ‘दसैँ तिहारबाहेक अन्य महिनामा १ हजार ५०० खसी बोका बिक्री हुने गरेकोमा साउमा जम्मा १ हजार १०० हाराहारी मात्र बिक्री हुन्छन् ।’
साउनमा मासुँगै मदिराको व्यापार पनि घट्ने गरेको छ । अन्य समयमा नियमित मादक पदार्थ सेवन गर्नेहरू पनि यो महिनामा बार्ने गर्छन् । घरपरिवार तथा समाजको डरले पनि साउनमा मदिरा बार्नेहरू धेरै छन् । काठमाडौँ कलंकीमा मदिरा पसल सञ्चालन गरिरहेका प्रशान्त खड्काका अनुसार साउनमा १५ प्रतिशत व्यापार घट्ने गरेको छ ।
प्रतिक्रिया