मधेसको कैलाश टुटेश्वरनाथ

पुरातत्व विभागको अनुरोधमा अध्ययन गर्न आएका भारतीय पुरातत्वविद् मञ्जित हजारियाले टुटेश्वरनाथ क्षेत्र दक्षिण एसियाकै महत्वपूर्ण पुरातात्विक क्षेत्र हुन सक्ने उल्लेख गरेका छन् । उनका अनुसार विस्तृत अनुसन्धान भए टुटेश्वरनाथ र यस क्षेत्रको प्राचीन सभ्यताबीचको सम्बन्ध अझ स्पष्ट हुनेछ ।

महोत्तरी । बिहानको पहिलो किरणसँगै महोत्तरीको रातु नदीबाट जलको कलश बोकेर एक व्यक्ति साइकलमा उल्टो यात्रा गर्दै टुटेश्वरनाथ मन्दिरतर्फ लागे । गन्तव्य थियो – देशकै प्रसिद्ध बाबाधाम । नदीको जल शिवलिंगमा चढाउनु नयाँ कुरा थिएन तर त्यसका लागि अघिल्लो दिन पत्रकार सम्मेलन गरेर सबैलाई साक्षी बस्न आग्रह गर्नु भने अस्वाभाविक थियो । कतिपयले यसलाई प्रचारबाजी ठाने । तर, बर्दिवासका जीवनाथ पोखरेलको उद्देश्य प्रचार होइन, रातु नदी र टुटेश्वरनाथ मन्दिरबीच बिर्सिंदै गएको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई फेरि उजागर गर्नु थियो ।
‘रातु नदी र टुटेश्वरनाथ मन्दिर धार्मिक आस्थाका मात्र होइनन्, एकअर्काका परिपूरक पनि हुन् । यही सन्देश नयाँ पुस्तासम्म पु¥याउन खोजेको हुँ,’ पोखरेलले भने । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो साइकल यात्राबाट शान्तिको सन्देश फैलाइसकेका पोखरेलले यसपटक रातु नदीको जल टुटेश्वरनाथमा चढाए । त्यससँगै एउटा पुरानो प्रश्न फेरि उठ्यो – आखिर किन रातु नदीको जल टुटेश्वरनाथका लागि यति विशेष मानिन्छ ?

त्रेतायुगदेखि जोडिएको विश्वास

धार्मिक, सांस्कृतिक र ऐतिहासिक आधारले टुटेश्वरनाथ महादेव मन्दिरको अस्तित्व त्रेतायुगसम्म पुग्ने अनुमान गरिन्छ । ज्योतिष तथा धार्मिक अध्येताका अनुसार भगवान् श्रीरामको युग करिब ७ हजार वर्षअघिको मानिन्छ । रातु नदी, टुटेश्वरनाथ महादेव मन्दिर र जनक युगसँग सम्बन्धित अनेक धार्मिक कथाले पनि यही क्षेत्रलाई जोड्छन् । धार्मिक किंवदन्तीअनुसार माता सीताको स्वयंवरका लागि भगवान् श्रीराम यही बाटो हुँदै जनकपुर पुगेका थिए । त्यसक्रममा जन्तीले रातु नदीमा विश्राम र स्नान गरेको जनविश्वास छ । धार्मिक अध्येता गोपाल कार्कीका अनुसार यही कारणले रातु नदीको जललाई पवित्र मान्ने परम्परा बसेको हो । तर, रातु नदीको महत्व धार्मिक विश्वासमा मात्र सीमित छैन । यससँग प्राचीन मानव सभ्यताको इतिहास पनि जोडिएको छ ।

जर्मन पुरातत्वविद् गुड्रन कार्विन्सले आफ्नो पुस्तक ‘प्रिहिस्टोरिक कल्चर्स इन नेपाल’ मा रातु नदी आसपास मध्यपाषाण युग अर्थात् करिब ७ हजारदेखि १२ हजार वर्षअघि मानव बसोबास रहेको उल्लेख गरेकी छन् । उनका अनुसार त्यसबेला यहाँ ढुंगे औजार औद्योगिक स्तरमै उत्पादन हुन्थ्यो । फेला परेका ढुंगे औजार र अन्य पुरातात्विक अवशेषले पनि त्यसको पुष्टि गर्छन् । पुरातत्वविद्हरूका अनुसार रातु नदी आसपास तत्कालीन मानवको स्थायी बसोबास थियो । उनीहरू रातु नदीको जल चढाउन टुटेश्वरनाथसम्म पुग्ने र मन्दिर वरपर केही दिन बस्ने गरेको हुन सक्ने अनुमान पनि गरिएको छ ।

नेपालको पुरातत्व विभागको अनुरोधमा अध्ययन गर्न आएका भारतीय पुरातत्वविद् मञ्जित हजारियाले टुटेश्वरनाथ क्षेत्र दक्षिण एसियाकै महत्वपूर्ण पुरातात्विक क्षेत्र हुन सक्ने उल्लेख गरेका छन् । उनका अनुसार विस्तृत अनुसन्धान भए टुटेश्वरनाथ र यस क्षेत्रको प्राचीन सभ्यताबीचको सम्बन्ध अझ स्पष्ट हुनेछ । इतिहासविद्हरूको निष्कर्ष पनि उस्तै छ । मध्यपाषाण युगको मानव बसोबास र टुटेश्वरनाथ महादेव मन्दिरको प्राचीन अस्तित्वबीच सम्बन्ध हुन सक्ने भएकाले यस क्षेत्रमा थप वैज्ञानिक अध्ययन आवश्यक छ ।

फिरंगी सेनादेखि स्थानीय जनश्रुतिसम्म

रातु नदीको ऐतिहासिक महत्व जर्मन पुरातत्वविद् गुड्रन कार्विन्सको अनुसन्धानमा मात्र सीमित छैन । सन् १७६८ मा नेपाल आक्रमणका क्रममा आएका ब्रिटिस (इस्ट इन्डिया कम्पनी) सेनाका कमान्डर कर्नेल जर्ज किनलकको हस्तलिखित डायरीले पनि त्यसको पुष्टि गर्छ । लेखक तथा साहित्यकार जगदीश घिमिरेले ‘सिन्धुली र मकवानपुर विजय’ शीर्षकको लेखमा किनलकको डायरी उद्धृत गरेका छन् । डायरीमा उल्लेख छ – ‘रातु नदीको बगरमा खोला बगिरहेको थियो । त्यहाँ आएको भेलले धेरै हतियार र रसद बगायो ।’ अर्को ठाउँमा किनलकले लेखेका छन् – ‘मैले हतियार पारि लैजान आदेश दिएँ । म स्वयं पनि खोला तर्न लागेँ । खोलाले मलाई करिब २५ गजसम्म बगायो, धन्न ज्यान जोगियो ।’ इतिहासअनुसार करिब २ हजार ४०० सैनिकसहित सन् १७६८ अगस्ट २६ मा पटनाबाट नेपाल प्रवेश गरेका किनलकको अभियान रातु नदीको बाढीले अवरुद्ध भएको थियो ।

यही घटनासँग अर्को जनश्रुति पनि जोडिएको छ । स्थानीयका अनुसार सैनिकहरूले टुटेश्वर क्षेत्रको ढुंगाको बसाहा (नन्दी) उठाएर लगे । तर, भोलिपल्ट त्यो रहस्यमय रूपमा हरायो र पछि टुटेश्वरमै फेला प¥यो । त्यसपछि बसाहा राति सजीव भई किसानको बाली खान जाने, किसानले कुटपिट गर्दा एउटा कान काटिएको र त्यसपछि स्थानीयले त्यसलाई दैवी चमत्कार मानेर पूजा गर्न थालेको किंवदन्ती छ । स्थानीय शिक्षक अमर विकले पनि आफ्नो एक आलेखमा यही जनश्रुति उल्लेख गरेका छन् । उनका अनुसार त्यसपछि मन्दिर ‘टुटेश्वर’ नामले चिनिन थालेको जनविश्वास छ । यद्यपि यो जनश्रुतिलाई पुष्टि गर्ने ठोस ऐतिहासिक वा पुरातात्विक प्रमाण भने हालसम्म भेटिएको छैन । यदि जनश्रुतिलाई आधार मान्ने हो भने ‘टुटेश्वर’ नामकरण करिब सन् १७६८ पछि अर्थात् करिब २५० वर्षअघि भएको हुन सक्ने अनुमान गरिन्छ । स्थानीयले यसबारे थप अनुसन्धानको माग गर्दै आएका छन् ।

राम, अर्जुन र रातु सभ्यता

धार्मिक अध्येता गोपाल कार्कीका अनुसार टुटेश्वरनाथ महादेव मन्दिर, राइमण्डल, रातु नदी र गौरीडाँडा धार्मिक तथा सांस्कृतिक रूपमा एकअर्कासँग जोडिएका स्थल हुन् । जनश्रुतिअनुसार भगवान् श्रीराम र माता सीता अयोध्या फर्किने क्रममा रातु नदीमा स्नान गरी टुटेश्वर क्षेत्रमा विश्राम गरेका थिए । उनीहरूको सुरक्षाका लागि आएका सयौँ जटायु आसपासका अग्ला डाँडामा बसेर निगरानी गरिरहेका थिए भन्ने विश्वास छ । अहिले राइमण्डल क्षेत्रमा पाइने गिद्धलाई पनि यही विश्वाससँग जोडेर हेरिन्छ । टुटेश्वर क्षेत्र वरपर अन्य नदी भए पनि शिवपूजाका लागि विशेष रूपमा रातु नदीको जल चढाउने परम्परा रहेको धार्मिक अध्येताहरू बताउँछन् ।

यस क्षेत्रसँग महाभारतकालीन अर्को किंवदन्ती पनि जोडिएको छ । जनविश्वासअनुसार अर्जुनले टुटेश्वर क्षेत्रमा कठोर तपस्या गरी भगवान् महादेवबाट दर्शन र पाशुपतास्त्र प्राप्त गरेका थिए । यही कारण टुटेश्वरनाथ महादेव मन्दिरलाई ‘मधेसको कैलाश’ पनि भन्ने गरिन्छ । स्थानीय विश्वासअनुसार भगवान् महादेव चुरे क्षेत्रमा विभिन्न स्वरूपमा वास गर्छन् र सर्पलाई आभूषणका रूपमा धारण गर्छन् । त्यसैले गौरीडाँडालाई सर्पको महत्वपूर्ण बासस्थानका रूपमा लिने गरिन्छ ।

वैज्ञानिक अध्ययनले पनि गौरीडाँडालाई सर्पको महत्वपूर्ण आवासका रूपमा चिनाएको छ । जर्मन, फ्रान्सेली र नेपाली अनुसन्धानकर्ताले यस क्षेत्रमा अध्ययन गरेका छन् । डा.सोमनाथ सापकोटा, डा. अनिल पोखरेललगायत नेपाली विज्ञले पनि चुरे क्षेत्रको भूगर्भीय इतिहास, प्राकृतिक संरचना र जैविक विविधतामाथि अनुसन्धान गरेका छन् । इतिहास, धार्मिक विश्वास, पुरातात्विक सम्भावना र प्राकृतिक सम्पदाले समृद्ध टुटेश्वरनाथ–रातु नदी क्षेत्र अझै धेरै प्रश्नको उत्तर खोजिरहेको छ । इतिहासविद् र अनुसन्धानकर्ताहरूका अनुसार यस क्षेत्रमा गहिरो अध्ययन हुन सके नेपालकै प्राचीन सभ्यताको नयाँ अध्याय खुल्न सक्छ ।

प्रतिक्रिया