भारत भ्रमणको औचित्य

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण यही जेठ १७ देखि २० गतेसम्म हुने भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी तथा राष्ट्रपति द्रोपदी मुर्मु लगायत सँग भेटघाट गर्ने समयतालिका भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको छ । भारतीय समकक्षी मोदीसँग द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ । गत पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भएपछि प्रचण्ड भारत भ्रमणको प्रतिक्षामा थिए । प्रधानमन्त्री नियुक्त भए पछि पहिलो विदेश भ्रमणका रुपमा भारत जाने परम्परा रहिआएको छ ।

यो पाँच महिनाको अवधीमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने समाचार धेरै पटक प्रवाह भए , तर भ्रमणको साइत जुर्न भने ‘घोडीको ब्याउनु’ भन्ने उखान जस्तै भयो । दुई देशका प्रधानमन्त्रीको कार्यव्यास्तताका कारण भ्रमणको साइत जुर्न ढिलाई भएको होइन । भ्रमणको साइत जुर्न किन ढिलाई भयो ? भन्ने प्रश्नको उत्तर पनि अनौपचरिक रुपमा आइसकेकै छन् । भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीको भेटघाट पछि जारी गरिने संयुक्त विज्ञाप्तीमा लिम्पियाधुरा प्रकरण र इपिजी ( नेपाल– भारत प्रवुद्ध समुह ) को प्रतिवेदनबारे उल्लेख गर्नु नपरोस् भन्ने भारतको चाहना प्रकट हुँदै आएको छ । अहिले पनि यही चाहनाका कारण प्रधानमन्त्री प्रचण्डको भ्रमणको साइत जुर्न ढिलाई भएको हो । लिम्पियाधुरा र इपीजी प्रतिवेदनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले ‘कम्प्रोमाइज’ गरेका छन् वा छैनन् भन्ने कुरा भारत भ्रमणका क्रममा खुल्ने नै छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केवल सदुभावना मात्रै हो , स्वागत गर्ने तथा व्याक्तिगत दुख–सुख सोध्नका लागि मात्रै भ्रमणका लागि बोलाइएको हो भने छुट्टै कुरा हो , तर दुई देशबीचका समस्याका गाँठाहरुका सन्दर्भमा प्रधानमन्त्री स्तरीय वार्ता समेत हुने हो भने प्रचण्डको भारत भ्रमण निकै महत्वपूर्ण छ । प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो भारत भ्रमण महत्वपूर्ण हुने बताउँदै आएका छन् । तर आवश्यक गृहकार्य भएको भने देखिँदैन । परराष्ट्र मन्त्रालयले आयोजना गरेको छलफल कर्मकाण्डी पाराको देखिएको छ । सबैदलीय बैठक भएको छैन । परराष्ट्र मामिला भनेको देशको साझा मामिला हो । परराष्ट्र मामिला कुनै एउटा पार्टीको ‘एजेण्डा’का रुपमा सिमित हुँदैन । प्रधानमन्त्री प्रचण्डको भ्रमण पछि प्रतिक्षी पार्टीहरुले सडकमा टायर बाल्ने सिलसिला सँधैका लागि बन्द हुनुपर्छ ।

राणाहरुले आफ्नो सत्ता जोगाउनका लागि सन् १९५० मा गरेको सन्धी पुनरावलोकनको विषयलाई एजेण्डा नबनाउने हो भने प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा नजाँदा हुन्छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा क्षेत्रमा तीन वटा गाउँ छन् गुन्जी, नाबी र कुटी । २०१८ सालमा गरिएको राष्ट्रिय जनगणना अनुसार ती गाउँमा कुल ३ हजार जनसंख्या भएको देखिन्छ । गुन्जी गाउँमा बस्नेहरू गुन्जियाल, नाबी गाउँमा बस्नेहरू नाबियाल र कुटी गाउँमा बस्नेहरू कुटियाल भनेर आफ्नो थर उल्लेख गरेको देखिन्छ । लिम्पियाधुराको कुरा दुवै देशका प्रधानमन्त्रीको संयुक्त विज्ञाप्तिमा उल्लेख नगर्ने हो भने प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा नजाँदा नै नेपालको हित हुन्छ ।

पहिलो कुरा त भ्रमण टोली जम्बो हुनु हुँदैन । दोस्रो कुरा सकेसम्म प्रमुख विपक्षी दलका तर्फबाट पनि सहभागिता हुनु पर्छ । भारत भ्रमणका संभावित एजेण्डाका विषयमा जनतालाई पूर्वजानकारी दिने परम्पराको थालनी गर्नु पर्छ । उदाहरणका लागि सार्क व्यापार, उर्जा विकासमा सहयोग, गोर्खा भर्तीको विषय एजेण्डामा छन् की छैनन् ? विराटनगर र धनगढी नजिकबाट नेपाललाई हवाईरुट दिने विषय , सीमा क्षेत्रमा संयुक्त रुपमा विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने विषय , नेपालको विजुली बंगलादेश निर्यातको विषय , नेपालमा आयत हुने बस्तु नेपालकै साधनबाट ढुवानी हुने विषय एजेण्डामा छन् की छैनन् ? भन्ने कुरा पनि जनताले थाह पाउनुपर्छ । वास्तवमा यी विषयहरुमा सहमति हुँदा नेपाल र भारत दुवै देशलाई लाभ पुग्छ , नेपाललाई अझ बढी लाभ पुग्छ । तर यी समस्या यथावत राखेर भारतबाट हुने अन्य प्रकारका सहयोगको खासै अर्थ हुँदैन , यस्ता सहयोग पिसावको न्यानो जस्ता मात्रै हुन्छन् ।

प्रतिक्रिया