मुगु । छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलो पटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ माथि बालै गाउँमा पहिलो पटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गदगद भएका हुन् ।
गमगढी बालै हुँदै माथी बालै ट्रयाक खुलेसँगै पहिलो पटक लिउडी गाउँमा माथी बालै गाउँ गाडी पुगेको थियो । गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन् ।
छायाँनाथ रारा नगरपालिकाको २० लाख लगानीमा सडक निर्माण भएको र उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको जनाइएको छ । सडकको बिहीबार छायाँनाथ रारा नगरपालिकाका प्रमुख बिष्णुकुमार भाम र उपप्रमुख ऐश्वर्य मल्लले संयुक्तरूपमा सडकको उद्घाटन गरेका थिए ।
सडक उद्घघाटन कार्यक्रममा छायाँनाथका नगरप्रमुख भामले चुनावका बेला गाउँ–गाउँमा विद्युत् र सडक पुर्याउने वचन दिएकामा त्यसै अनुरुप सडक पुर्याउन सफल भएको बताए ।
छायाँनाथ रारा नपाका हरेक बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य, उद्देश्यबमोजिम करिब सबै बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा आफ्नो कार्यकालमा जसरी भए पनि सडक पुर्याउने नगरप्रमुख भामले बताए ।
यस गाउँमा बढी आलु र सिमी उत्पादन हुने गर्छ । ‘यातायात सुविधा नहुँदा आलु, सिमी सदरमुकाम गमगढी बजारसम्म दुई घण्टा बोकेर भए पनि बिक्रीका लागि ल्याउने गरिएको र धेरै कुहिएर जाने गरेको थियो’, स्थानीय गोबिन्द्र भामले भने, ‘अब गाउँमा गाडी पुगेको छ, धेरै उत्पादन हुने आलु, सिमी बजारीकरणमा सहज हुनेछ भने कमाउनकै लागि गाउँका युवा बाहिरी जिल्लामा जानुपर्ने छैन, बरु आलु, सिमीखेतीका लागि उत्साहित हुनेछन् ।’ नगरपालिकामा रहेका ८७ गाउँमध्ये अब कम्फा, तिर्प, सुम्ली, मुर्मा, सालिम गाउँमा सडक पुग्न बाँकी छ ।
मुगु
प्रतिक्रिया