मोरङमा बालिकामाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको रंगेलीमा एक बालिकालाई ललाइफकाइ जबरजस्ती करणी तथा सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङको रंगेली नगरपालिका–३ आमतोलाका १८ वर्षीय मोहम्मद अरमान, सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमन कुमार साह, रंगेली–७ दर्वी टोलका २० वर्षीय करण मण्डल, सोही ठाउँका १८ वर्षीय प्रियान्सु साह र रंगेली–६ का १८ वर्षीय रितिक यादव रहेका छन् ।

प्रहरीका अनुसार गत साउन ३ गते बिहान सिटी सफारी चालक मोहम्मद अरमानले सुनवर्षी नगरपालिकाकी एक बालिकालाई ललाइफकाइ रंगेली–७ स्थित युमी क्याफेमा पुर्‍याएर जबरजस्ती करणी गरेका थिए । त्यसपछि सोही क्याफेका सञ्चालक सुमन कुमार साहले समेत ती बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै साउन ४ गते राति करिब ९ बजेको समयमा करण मण्डलले पीडित बालिकालाई रंगेली–७ संसारी मन्दिर नजिकै रहेको ‘द नान्गीज’ (THE 90s) क्याफेमा पुर्‍याएका थिए । सो क्याफेमा करण मण्डल, प्रियान्सु साह र रितिक यादव मिलेर बालिकामाथि सामूहिक जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।

पीडितको तर्फबाट परेको किटानी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १० गते साँझ पाँच जनालाई नै नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका सबै जनामाथि इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

प्रतिक्रिया