अघिल्लो मंगलबार भारतीय राज्य जम्मु–कश्मिरको पहलगाममा २६ निर्दोष तीर्थयात्रीको हत्या आतंकवादको परकाष्ठा थियो । हत्यामा संलग्नहरूलाई खोजी खोजी कारबाही गर्न कुनै पनि हालतमा चुक्नु हुँदैन । यस अर्थमा अपराधीहरूलाई कुनै हालतमा नछाड्ने भारत सरकारको प्रतिवद्धता सह्राहनीय छ । तर अपराधीलाई दण्डित गर्ने भन्दै आफ्नो छिमेकी देश पाकिस्तानविरुद्ध चालेका कदमलाई भने भारतले पुनर्विचार गर्नु जरुरी छ । अन्धाधुन्ध हवाई आक्रमणले समस्या समाधान गर्दैन, बरु प्रतिशोध र हत्याको शृंखला बढाउँछ । पहिलो कुरा त सन् १९६० देखि जस्तै तिक्ततामा पनि निर्वाध चलेको सिन्धु जल सन्धिविपरीत आफ्नो भूमि हुँदै पाकिस्तानतर्फ जाने नदीको पानी थुन्ने भारतको घोषणाले पाकिस्तानका जनता आतंकित हुनु स्वभाविक हुन्छ, पाकिस्तान सरकार आक्रोशित हुनु पनि स्वभाविक हुन्छ ।
दोस्रो कुरा भारतले पाकिस्तानी सीमाक्षेत्रभित्र गरेको हवाई आक्रमणमा अपराधीहरू मात्रै मारिएका छन् वा मारिन्छन् भन्ने ठान्नु गलत हुन्छ । यस्ता आक्रमणमा निर्दोष नागरिकसमेत मारिने सम्भावना बढी हुन्छ । चाहे जुनसुकै आवरणमा होस्, निर्दोष मान्छेको हत्या जघन्य अपराध हो । पहलगाम घटना आतंककारी हो भन्ने कुरामा विवाद छैन, तर जन्मकालदेखि नै उत्पन्न पाकिस्तान र भारतबीचको तनाव राजनीतिक हो । कश्मिर मामिला पनि राजनीतिक हो । यस्ता मामिलाको स्थायी समाधान गर्ने एक मात्रै उपाय वार्ता तथा सम्झौता हो । र, यसका लागि उनीहरू अर्थात् भारत र पाकिस्तान नै अग्रसर हुनुपर्छ । वार्ता तथा सम्झौताको माध्यमबाट विगतमा प्राप्त आंशिक समाधानलाई पूर्णता दिनेतर्फ लाग्नु पर्नेमा झन् तनाव बढाउनु दुवै देशको वर्तमान सत्ताको कमजोरी होे । सत्तामा रहनेहरूको कमजोरीबाट दुबै देशका जनताले सास्ती भोग्नुपरेको यथार्थप्रति जोकोही पनि गम्भीर हुनैपर्छ ।
समस्याको समाधान शान्तिपूर्ण प्रयासबाहेक अन्य बाटोबाट खोज्ने चेष्टा सर्वथा हानिकारक हुन्छ । त्यसमाथि पनि भारत र पाकिस्तान भनेका संख्यात्मक हिसाबमा विश्वमै सबैभन्दा बढी गरिब जनता बसोबास गर्ने देश हुन् । यो गरिबीको एउटा मुख्य कारक आपसी द्वन्द्व पनि हो भन्ने यथार्थलाई ख्याल गर्दै दुबै देशका शासक होसमा आउनु अहिलेको अवश्यकता हो । जनताप्रतिको दायित्व बिर्सेर युद्धका लागि उद्यत हुनु आफैँमा अपराध हो । शान्तिका अग्रदूत गौतम बुद्धले ज्ञान प्राप्त गरेको, हिंसाको प्रतिकार अहिंसाबाट गर्न सकिन्छ भन्ने यथार्थलाई प्रमाणित गर्ने महात्मा गान्धीको जन्म भएको देश भारत यस्ता मामिलामा गम्भीर हुनुपर्छ । यसैगरी पहलगाममा भएको अहिलेको आतंकमा मात्रै होइन, यसअघि भएका यस्ता कैयौँ आतंकमा पाकिस्तानको संलग्नता भएको अनुभव भारतले गर्दै आएको छ । छिमेकी भारतले यस्तो अनुभव गर्ने परिस्थिति नआओस् भन्नेतर्फ पाकिस्तान पनि अत्यन्त गम्भीर हुनु जरुरी छ । पहलगाम घटना र आतंककारीहरूले आश्रय लिएको विषयमा स्वतन्त्र छानबिन र कारबाहीका लागि पाकिस्तानले भारतलाई साथ दिनु उचित हुनेछ ।
भारत र पाकिस्तानबीचको यो तनावबाट नेपालले पनि प्रत्यक्ष÷परोक्ष रूपमा सास्ती झेल्दै आएको छ । पटकपटक भएका लडाइँमा भारतीय गोर्खा रेजिमेन्टमा संलग्न धेरै नेपालीहरूको रगत बगिसकेको छ । लडाइँमा भारतले नेपाली नागरिकको बाहुल्यता रहेको गोर्खा पल्टनलाई प्रयोग गर्दै आएका कारण नेपालको असंलग्न परराष्ट्र नीतिमाथि पनि यदाकदा प्रश्न उठ्ने गरेको छ । एकातिर नेपाल–भारतबीच खुला सिमाना र अर्कोतिर विदेशी पर्यटक भित्र्याउन नेपालले लिएको खुकुलो नीतिका सन्दर्भमा भारतीय मिडियाबाट नकारात्मक टीकाटिप्पणीहरू आउँदा नेपाली जनताको मन दुख्नु स्वभाविक हो । यो द्वन्द्वबाट भारत र पाकिस्तानपछि सबैभन्दा बढी प्रभावित देशको नाताले मात्रै होइन, छिमेकी देशको नाताले पनि, त्यसमाथि सार्कको अध्यक्ष भएको नाताले पनि नेपालले शान्ति वार्ताका लागि विशेष आग्रह र पहल गर्नु जरुरी छ । यो द्वन्द्वमा नेपाल उभिने भनेकै शान्ति वार्ताको कित्तामा हो । दक्षिण एसियाका २ निकट छिमेकीबीचको तिक्तता अहिले उत्कर्षमा पुगेर सैन्य द्वन्द्वमा परिणत भएको घडीमा नेपालले सर्वप्रथमतः दुवै मुलुकलाई संयम अपनाउन आह्वान गर्नुपर्छ । र, सँगसँगै निकट छिमेकी र सार्कको अध्यक्षका नाताले नेपालले शान्ति वार्ताबाट समस्या समाधानका लागि दुवै देशलाई दबाब दिनु सक्नुपर्छ ।
प्रतिक्रिया