सम्पादकीय
यस वर्ष पनि मनसुन सिजन सुरु हुँदानहुँदै डेंगी रोगको संक्रमणले खतराको घण्टी बजाइसकेको छ । मनसुनको सिजनमा डेंगी रोगका बिरामीका कारण अस्पताल भरिभराउ हुन थालेको २ दशक बितिसकेको छ । पछिल्लो १ दशकलाई हेर्ने हो भने यो सिजनमा डेंगी संक्रमणले महामारीको रूप लिएको र अस्पतालहरूसमेत अस्तव्यस्त भएको देखिन्छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले ३ दिनअघि सार्वजनिक गरेको तथ्यांक हेर्ने हो भने अबको केही साताभित्रै डेंगु रोगका कारण गत वर्षको साउन–भदौको जस्तै अवस्था नआउला भन्न सकिन्न । जेठ महिनासम्म फाट्टफुट्ट देखिने, असार लागेपछि क्रमशः बढ्दै गएर साउन–भदौमा महामारीको रूप लिने गरेको विगतको अनुभवबाट पाठ सिक्दै समयमै सजगता अपनाउनु जरुरी छ ।
गत वर्ष डेंगी लागेर अस्पतालमा भर्ना हुनेहरूको संख्या ३४ हजार नाघेको थियो भने १३ जनाको मृत्यु भएको थियो । त्यसको अघिल्लो वर्ष अस्पताल भर्ना हुने डेंगी रोगीको संख्या ५२ हजार पुगेको थियो भने २० जनाको मृत्यु भएको थियो । यस वर्ष पनि त्यो संकेत देखिइसकेको छ । किनकी ७७ मध्ये ७३ जिल्लामा डेंगीका झण्डै १ हजार ५०० रोगी देखापरेको सरकारको भनाइ नै खतराको घण्टी आउँदै छ भनेर अनुमान गर्न काफी छ । नेपालमा डेंगी रोग पहिचान भएको २०६१ सालदेखि हो । मनसुन सुरु हुनासाथ महामारीको रूप लिन थाल्ने र मनसुन सकिनासाथ डेंगीको प्रकोप पनि क्रमशः घट्दै गएर र जाडो महिना सुरु भएपछि निकै नै सुसुप्त हुने चक्र विगत २२ वर्षदेखि जारी छ ।
अहिलेसम्मको अनुभवलाई हेर्दा डेंगीलाई महामारी रोगकै सूचीमा राख्नुपर्ने अवस्था नआए पनि उच्च सर्तकता अपनाउनुपर्ने अवश्यकता भने देखिएको छ । पहिलो कुरा त डेंगी रोगको उपचारका लागि खास औषधि तथा खोपको व्यवस्था छैन । खोप तथा औषधि नभएकै कारण हालसम्म चिकित्सकहरूले लक्षणअनुसार उपचार गरिरहेका छन् । रोगले ज्यादै नच्याप्दासम्म अस्पताल जानेको संख्या कम हुने गरेकोले डेंगीको संक्रमणका सन्दर्भमा एकिन तथ्यांक आउन सकेको छैन । दोस्रो कुरा डेंगी रोगकै कारण मृत्यु हुने दर अत्यन्तै न्यून रहेको सरकारले बताउने गरे पनि रोग प्रतिरोधात्मक क्षमता कम भएको र अन्य रोगले आक्रमण गरेको व्यक्तिलाई डेंगी रोग थपिएमा ज्यान बचाउन निकै गाह्रो हुने चिकित्सकहरूको भनाइ रहेको छ । त्यसबाहेक डेंगी रोगले आक्रमण गरिसेपछि कसै कसैलाई स्थायी रूपमै शारीरिक तथा मानसिक समस्या हुने, धेरैजसोलाई तंग्रिएर पूर्ववत अवस्थामै काममा फर्कन २–४ महिना समय लाग्ने भएकोले डेंगी रोग नेपालका लागि ठूलो समस्या हो । त्यसैले ‘मनसुन सकिएपछि रोगको संक्रमण दर घटिहाल्छ नी’ भनेर उदासीन बस्ने अहिलेसम्मको सरकारी प्रवृत्तिमा आमूल सुधारको खाँचो छ ।
डेंगीका बिरामीको लक्षण उपचारका लागि हुने गरेको खर्च, उनीहरू २–३ महिनासम्म थला पर्दा हुने आर्थिक नोक्सानी लगायतलाई हिसाब गर्ने हो भने यो रोगको स्रोत नियन्त्रणका लागि सरकारले अभियान सुरु गर्न ढिलाइ भइसकेको देखिन्छ । खास औषधि तथा खोप नभए पनि दिउँसो मात्रै सक्रिय हुने र स्थिर सङ्लो पानीमा मात्रै सन्तान वृद्धि गर्ने निश्चित जातको लामखुट्टे नै डेंगी रोग संक्रमण तथा विस्तारको मुख्य स्रोत हो भन्ने कुरा पत्ता लागिसकेको छ । त्यसैले रोग लाग्न नदिनका लागि अपनाउनुपर्ने सतर्कताका उपायहरू पनि खासै जटिल छैनन् । सबैभन्दा प्रभावकारी उपाय भनेको भनेको डेंगी सार्ने जातको लामखुट्टेको वृद्धि चक्रलाई खोजी खोजी रोक्नु हो । कम्तिमा पनि ७ दिनको अन्तरालमा घरको आसपासमा सरसफाई गर्ने र औषधि छर्कने हो भने यो जातको लामखुट्टेको प्रजनन चक्र रोक्न सकिन्छ भन्ने कुरा सरकारमा रहनेहरूलाई थाहा छ । तर यसका लागि अभियानको खाँचो छ । विगतमा मलेरियाविरुद्ध अभियान सुरु गरिए जस्तै डेंगीविरुद्ध पनि अभियान सुरु गर्नुपर्ने आवश्यकता देखिएको छ । तत्कालका लागि भने डेंगी नियन्त्रणका लागि सिंहदरबारको अभियान पर्खेर मात्र सम्भव छैन भन्ने कुरा स्थानीय तह, टोल विकास समिति, क्लब र घरधनीहरूले बुझेर लामखुट्टे नियन्त्रणका लागि सरसफाइमा विशेष ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया