फेरी राजगद्दीमा फर्कने अभियान

फेरी राजगद्दीमा फर्कने अभियानलाई पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय तीव्रता दिएका छन् । यसका लागि उनी देश दौडाहमा मात्रै छैनन्, भारत भ्रमणमा पनि पटकपटक गएका छन् । देश दौडाहका क्रममा विभिन्न ठाउँमा आमसभाको आयोजनासमेत गरेका छन् । आमसभाहरूमा बोल्दै पूर्वराजा शाहले वर्तमान शासन व्यवस्था तथा शासकहरूमाथि कटाक्षसमेत गरेका छन् । १५ वर्षअघि नारायणहिटीबाट बिदा भएपछि पूर्वराजा शाह केही वर्ष पर्ख र हेरको अवस्थामा थिए ।

उनी मौन थिए, तर जननिर्वाचित नेता तथा दलहरूको शासन सत्ता सञ्चालन शैलीप्रति जनतामा असन्तुष्टि बढ्दै जाँदा पूर्वराजा शाह पुनर्वहालीका लागि मैदानमै उत्रेका छन् । यद्यपि विगतमा पूर्वराजा शाहले पुनवर्हालीका लागि अमूर्त भाषा प्रयोग गर्ने गरेका थिए । तर गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा दिइएको शुभकामनामा भने पूर्वराजा शाहले खुलेर नै शासन सत्तामा आफ्नो हिस्सा माग गरे । त्यस यता उनका गतिविधिहरू निकै तीव्र रूपमा अघि बढेका छन् । उनले सम्बोधन गर्ने आमसभामा जनताको उपस्थिति उल्लेख्य रूपमा बढ्न थालेको छ ।

उदाहरणका लागि गत सोमबार सदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित कार्यक्रमलाई लिन सकिन्छ । निकै ठूलो जनसहभागिता रहेको त्यो कार्यक्रममा बोल्दै पूर्वराजा शाहले शासन व्यवस्था सञ्चालन गर्न दलहरू असक्षम भएकै कारण देश संकटमा परेको मात्रै बताएनन्, वर्तमान शासन व्यवस्थाले भन्दा पञ्चायती शासन व्यवस्थाले मुलुकलाई धेरै ठूलो उपलव्धी दिएको समेत दाबी गरे । शासन व्यवस्था परिवर्तनका लागि आन्दोलनमा उत्रन जनतालाई आह्वानसमेत गरे ।

पूर्वराजा शाहको पक्षमा जनसमर्थन बढ्दो छ भन्ने कुरा कार्यक्रममा देखिएको जनसहभागिताले पुष्टि गरिसकेको छ । पूर्वराजाको पक्षममा जनसमर्थन बढ्नुको कारण प्रष्ट छ । दलहले शासन सत्ता राम्रोस“ग सञ्चालन गर्न नसकेकै हुन् । विद्यमान दलहरूले राम्रो गरेनन् भन्दैमा नेपाली जनता पुनः वंशीय शासनको पक्षमा लागि हाल्छन् भन्ने सोच्नु केवल भ्रम मात्रै हो । जनताको केही हिस्सा लाग्ला, तर यसैलाई जनताको साथ ठानेर पुनर्वहालीको गतिविधि गर्नु भनेको दूरदर्शिता होइन । यदि पूर्वराजा शाह शासन सत्तामा आउन चाहन्छन् भने संविधानले निषेध गरेको छैन ।

हरेक पाँच पाँच वर्षमा निर्वाचन हुन्छ । जनताले आफ्ना लागि आफैँ शासक चुन्ने परिपाटी छ । यो परिपार्टीभित्र छिर्न संविधानले कहीँ कतै रोकेको छैन । महोत्तरीका बालेन्द्र शाह काठमाडौंबासीको मन जितेर मेयर निर्वाचित हुन सक्छन् भने काठमाडौंमै जन्मे हुर्केका पारस शाह निर्वाचन हुन नसक्ने भन्ने कुरै छैन । त्यसैले जनताको मन जित्नतिर लाग्नु सबैभन्दा उपयुक्त हुन्छ । विश्वका धेरै मुलुकमा जनक्रान्तिबाट राजतन्त्र फालिएको हो, तर नेपालमा जनक्रान्ति र जनमत दुवै प्रक्रियाद्वारा राजतन्त्र फालिएको हो । एकपटक होइन दुई/दुईपटक संविधानसभाको निर्वाचन भएको छ । यी दुईपटककै संविधानसभा चुनावमा ९५ प्रतिशतभन्दा बढी जनताले राजतन्त्र फाल्नुपर्ने पक्षधर पार्टीहरूलाई मत दिएका छन् ।

पूर्वराजा शाहलाई पूर्वराष्ट्राध्यक्षको रूपमा देशले सम्मान दिएको छ, सुरक्षा दिएको छ । यस्तो सम्मान र सुरक्षा विश्वका अन्यदेशका पूर्वराजाहरूले पाएका छैनन् । यदी पूर्वराजा शाहलाई राजनीति गर्ने इच्छा हो भने राज्यले दिएको यो सम्मानलाई कदर गर्दै चुनावमा भाग लिँदा उत्तम हुन्छ । लोकतन्त्रको विकल्प भनेको अझै समुन्नत लोकतन्त्र हो, दलहरूको विकल्प भनेको अझै राम्रा दलहरू हुन् । विद्यमान दलका गतिविधिबाट जनता वाक्क दिक्क भएको सत्य हो ।

यसलाई पूर्वराजा शाहले आफू पुनर्वहाली हुने मौकाका रूपमा हेर्नुभन्दा जनअनुमोदित शासक बन्ने अवसरका रुपमा सदुपयोग गर्नु दुरदृष्टि हुनेछ । पार्टी खोलेर राजनीतिमा होमिएको ६ महिना पुग्दा नपुग्दै रवी लामिछानेले त्यति ठूलो उपलव्धी हासिल गरे भने पूर्वराजा शाहले उपलव्धी हासिल गर्न नसक्ने कुरै छैन । तर त्यो हिम्मत गर्न छाडेर फेरी राजा बन्छु भन्न पट्टी उनी लागेका हुन् भने एउटा कुरामा स्पष्ट बन्नु जरुरी छ । किनकी हरेक क्रियाको प्रतिक्रिया हुन्छ । त्यस्तो प्रतिक्रिया अझ खतरनाक हुन्छ ।

प्रतिक्रिया