लथालिंग कांग्रेस

नेपालको राजनीति कुन रफ्तारमा अधोगतिमा जाँदै छ ? भन्ने कुराको आँकलन गर्न नेपाली कांग्रेसको गतिविधि हेरे पुग्छ । केही अपवादबाहेक विगत ७५ वर्षदेखि मुलुकको सबैभन्दा ठूलो हैसियत बनाएको मियो पार्टी हो, नेपाली कांग्रेस । वर्तमान शासन व्यवस्थालाई साधन मात्रै होइन साध्यसमेत मान्ने एक मात्रै राष्ट्रिय पार्टी नेपाली कांग्रेस हो भन्दा फरक पर्दैन । तर, नेपाली कांग्रेस जुन रूपमा चलिरहेको छ, त्यसलाई विश्लेषण गर्ने हो भने लोकतन्त्र संरक्षण र संवर्धनको काम बेवारिसे त बनिरहेको छैन ? भन्ने प्रश्न उत्पन्न हुन्छ । किनकी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक नबसेको नौ महिना बितिसकेको छ । गत साउन यता एकपटक पनि कांग्रेसको कार्यसमितिको बैठक बसेको छैन । यो अवधिमा मंसिर ४ मा प्रदेश र संघको चुनाव, सरकारमा सहभागिता, वैशाख १० मा उपनिर्वाचनलगायत विभिन्न राजनीतिक घटना पनि भए । कांग्रेसको चौधौँ महाधिवेशन पनि ०७८ साल पुसमा कर्मकाण्डका रूपमा मात्रै सम्पन्न भएको थियो ।

संविधानले दिएको सीमा सकिनै लागेपछि हतारहतारमा महाधिवेशन बोलाएर चुनाव मात्रै गरियो । चुनाव भनेको महाधिवेशनको एउटा अंग मात्रै हो । अर्को महाधिवेशनसम्मको अवधिका निम्ति नीति तथा कार्यक्रम तर्जुमा गर्ने जिम्मेवारी पनि महाधिवेशनको हुन्छ । एक वर्षभित्र नीति अधिवेशन गर्ने भन्दै १४औँ महाधिवेशनलाई नेतृत्व छनौटमा मात्रै सीमित बनाइयो । तर डेढ वर्ष बित्न लाग्दासमेत नीति अधिवेशनको चर्चा पार्टीभित्र चलाइएको छैन । भ्रातृ संगठनहरूको त्यस्तै कन्तविजोग छ । कुनै भ्रातृ संगठनको महाधिवेशन नभएको त एकदशक नाघेको छ ।

राजनीतिक दल भनेका बहुदलीय शासन प्रणालीका अभिन्न अंग हुन् । बहुदलीय शासन प्रणाली सुचारु हुन राजनीतिकदलहरू पनि सूचारु हुनै पर्छ । त्यसमा पनि सत्ता संहाल्ने हैसियत भएका राजनीतिकदलहरू विनागतिरोध सूचारु हुनुपर्छ । दलहरू सूचारु भए भने मात्रै बहुदलीय व्यवस्था सूचारु हुने हो । केपी शर्मा ओली नेतृत्वमा आएपछि बिग्रन थालेको एमाले भित्रको आन्तरिक लोकतन्त्र करिबकरिब ध्वस्त भइसकेको छ । माओवादीभित्र आन्तरिक लोकतन्त्र छैन भन्ने कुरा जगजाहेर छ ।

नेपाली कांग्रेस पनि यसरी नै गतिछाडा हुँदै जाने हो भने कसले थेग्न सक्छ बहुदलीय लोकतन्त्र ? के अब राप्रपाबाट यस्तो अपेक्षा गर्ने ? प्रतिगमनको एजेन्डा बोकेको राप्रपाबाट यस्तो अपेक्षा संभव छैन । त्यसैले जनताले विकल्पका रूपमा अत्यन्तै नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आश गर्न थालेको देखिएको छ । तर, विचार के हो, सिद्धान्त के हो ? वर्तमान शासन प्रणालीप्रतिको दृष्टिकोण के हो ? भन्ने कुरा रास्वपाले अझै तय गरेको छैन । सत्तामा पुगेर भ्रष्टाचार उन्मूलन गर्ने र देशको विकास गर्ने नाराबाहेक रास्वपाले केही दृष्टिकोण ल्याएको छैन । यस्ता नारा त चुनावमा खडा हुने जुनसुकै उम्मेद्वारले पनि ल्याउने गरेकै छन् ।

नेपाली कांग्रेसको डेढ वर्षअघि सम्पन्न महाधिवेशनमा पुरानै नेता शेरबहादुर देउवा सभापति पदमा चुनिए पनि उपसभापति, महामन्त्री , सहमहामन्त्री पदमा जनताले आशा गरेका युवा नेताहरू चुनिएका थिए । केन्द्रीय समितिमा पनि नयाँ पुस्ताले आशा गरेका युवाहरू चुनिएका थिए । तर, यो अवधिमा उनीहरूले पनि आफ्नो औचित्य सावित गर्न सकेनन् । कांग्रेस रूपान्तरण हुँदै छ भन्ने सन्देश प्रवाह गर्न उनीहरूले सकेनन् ।

०७४ सालका निर्वाचनहरूमा भन्दा ०७९ सालका निर्वाचनहरूमा कांग्रेसको भोट आश्चर्यजनक रूपमा घट्नुको अर्थ १४औँ महाधिवेशनमार्फत पार्टीको गहन जिम्मेवारीमा पुगेका युवा नेताहरूको गतिविधिप्रति पनि जनताको आशा र भरोसा टुट्दै गएको पुष्टि हनु हो । हुन त ‘हाम्रो पार्टी हामी जे सुकै गरी चलाउँ, मिडियाहरूलाई किन बाठो हुनुप¥यो ?’ भन्ने प्रतिप्रश्न कांग्रेसलगायत मुलुकका सबैजसो पार्टीका नेताहरूको मुखबाट नसुनिने गरेको होइन । झट्ट सुन्दा यो प्रतिप्रश्न ठिकै हो कि जस्तो पनि लाग्छ । तर, बहुदलीय शासन व्यवस्थामा दल भनेका देशका साझा सम्पत्ति हुन्, प्राइभेट कम्पनी होइनन् ।

प्रतिक्रिया