रहेनन् पहिलो कार्टुनिस्ट शाह

ललितपुर । नेपाली छापामाध्यममा पहिलोपटक कार्टुन छाप्ने कार्टुनिस्ट गोवर्धन विक्रम शाहको निधन भएको छ । गत मंगलबार ललितपुरस्थित निवासमै निधन भएको भतिज शोहन विक्रम शाहले जानकारी दिए ।

१९९० भदौ २० गते जन्मिएका शाहको ०१४ साल साउन महिनाको पहिलो हप्ता संयुक्त प्रयास साप्ताहिकमा कार्टुन छापिएको थियो । अग्रज कलाकार शशीविक्रम शाहका अनुसार गोवर्धनले चार÷पाँच वटा कार्टुन उक्त पत्रिकामा छापेका थिए । जुन कार्टुन नेपाली छापा माध्यममै छापिएको पहिलो कार्टुनको रूपमा लिनुपर्ने डा.कुन्दन अर्यालले बताए । उनले भने, ‘अभिलेख पल्टाएर हेर्दा ०१४ साल साउन महिनाको सुरुआतमै छापिएको त्यही कार्टुन नेपाली अखबारमा छापिएको पहिलो कार्टुन हो भन्ने देखिन्छ । त्यसैले नेपाली पत्रकारितामा कार्टुनको इतिहास ६ दशक पुरानो छैन ।’
अग्रज कार्टुनिस्ट एवं कार्टुनिस्ट क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले गोवर्धनविक्रम नेपाली कार्टुन क्षेत्रकै जिउँदो इतिहास भएको बताए । उनले भने, ‘उहाँ नेपाली कार्टुन क्षेत्रकै जिउँदो इतिहास हुनुहुन्थ्यो । आफ्नो हस्ताक्षरसहित कार्टुन छाप्ने नेपालको पहिलो कार्टुनिस्टको रूपमा हामी उहाँलाई चिन्दछौँ ।

नेपाली कार्टुनको प्रारम्भिक कालबारे चर्चा गर्नुप¥यो भने उहाँको चर्चाविना इतिहास नै अपूरो हुन्छ ।’ कार्टुनिस्ट क्लब अफ नेपालबाट ०७० सालमा नेपालको पहिलो कार्टुनिस्टको रूपमा उनलाई ‘बराथा स्मृति सम्मान’बाट सम्मानित गरेको जनाउँदै श्रेष्ठले नेपाली कार्टुन क्षेत्र यहाँसम्म आइपुग्नमा अग्रजहरूले गरेको योगदानलाई कदर गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीकहाँ अभिलेखीकरणको राम्रो व्यवस्था नभएको कारणले गर्दा यस्ता ऐतिहासिक कुराहरू इतिहासबाटै हराएर जाने सम्भावना पनि रहन्छ । उहाँको निधनसँगै नेपाली कार्टुन इतिहासको एक जना महत्वपूर्ण साक्षी पनि हामीले गुमाएका छौँ ।’

कार्टुनिस्ट क्लबअफ नेपालका अध्यक्ष वासु क्षितिजले नेपालमै छापा माध्यममा कार्टुन छापेर इतिहास बनाएका गोवर्धन विक्रमको निधनप्रति गहिरो समवेदना प्रकट गरे । उनले भने, ‘उहाँको योगदानको नेपाली कार्टुन क्षेत्रले सधैँ स्मरण गरिरहनेछ ।’ स्व. गोवर्धन विक्रमका तीन छोरा र एक छोरी छन् ।

प्रतिक्रिया