पाण्डेको ‘सइन’ उपन्यास सार्वजनिक

काठमाडौं । लेखक यात्रीप्रकाश पाण्डेको उपन्यास ‘सइन’ सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै उपन्यासमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार आयोजित अन्तरक्रियामा ‘सइन’ उपन्यासमाथि छलफल गरिएको हो । कार्यक्रमका वक्ता उपन्यासकार नीलम कार्की ‘निहारिका’ले ले उपन्यासमाथि टिप्पणी गर्दै उपन्यास निकै सशक्त रहेको बताइन् ।

‘विगत दशवर्षे सशस्त्र द्वन्द्वको समयमा सुरक्षाकर्मी र छापामार दुवै पक्षतर्फको पात्रको कथालाई तटस्थ बिन्दुमा बसेर कुनै पक्षको विरोध र समर्थनमा नरही शान्तिको पक्ष र द्वन्द्वको विरुद्धमा लेखिएको ‘सइन’ उपन्यासमा सुरक्षाकर्मी युवक र छापामार युवतीको निकै कष्टप्रद प्रेम रहेको खुब मन पर्यो’, कार्कीले भनिन् ।

त्यस्तै, कार्यक्रमका अर्का वक्ता तथा उपन्यासकार नयनराज पाण्डेले लेखकले सइन उपन्यास लेखेर द्वन्द्वकालीन घटनाको भित्री मर्मलाई निकै मिहिन ढङ्गबाट प्रस्तुत गर्न सफल भएको बताए ।

उनले निकै मनछुने हरफहरू कथाको सन्दर्भसँग जोडेर प्रस्तुत गर्ने लेखकको लेखकीय शैलीले आफूलाई निकै तानेको र नेपाली उपन्यासका असल पाठकहरूले धेरै लामो समयदेखी खोजिरहेको उपन्यास बनेर ‘सइन’ उपन्यास आएको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा लेखक पाण्डेले आफूले सशस्त्र द्वन्द्वको समयमा सुरक्षाकर्मी र छापामार दुवै पक्षको वास्तविक कथालाई समेटेर शान्तिको पक्ष र द्वन्द्वको विरुद्धमा लेखिएको बताए । उपन्यासलाई सांग्रिला पब्लिकेसनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया