कोरोनाको तेस्रो लहर सुरु

संक्रमण वृद्धिको संख्या हेर्ने हो भने नेपालमा कोरानाको तेस्रो लहर सुरु भइसकेको छ । एकसाता यताको तथ्यांक ज्यादै डरलाग्दो छ । कोराना परीक्षण दैनिक सरदर १० हजार जनाको हुने गरेको छ । पुस १९ गते करिब १० हजारको परीक्षण हु“दा दुई प्रतिशत अर्थात करिब दुई सय जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको एक सातापछि अर्थात पुस २७ गते परीक्षण गरिएकामध्ये १६ प्रतिशत अर्थात करिब २५ सयमा कोरोना पुष्टि भएको छ ।

छिमेकी मुलुक भारतमा झन् डरलाग्दो अवस्था छ । एक साताअघि दैनिक संक्रमितको संख्या ३० हजारभन्दा कम रहेकोमा मंगलबारदेखि दैनिक दुई लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार परीक्षण गरिएकामध्ये आठ प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि हुनु खतरनाक अवस्था हो, यस्तो अवस्थामा कडा लकडाउन गरिहाल्नुपर्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा माथि नाघ्नु भनेको खतराको संकेत हो । अब केही दिनभित्रै २५ हजार नाघ्ने निश्चित देखिएको छ । नेपालमा कोरोनाको तेस्रो लहर समुदाय स्तरमा प्रवेश गरिसकेको हो या ? भारतबाट स्वदेश फर्केका नेपालीहरू मात्रै यो लहरको चपेटामा परेका हुन् ? भन्ने एकिन छैन । तर भारतबाट फर्कनेहरू सीमा क्षेत्रमा चेक जाँच नगरी, क्वारेन्टाइन तथा होल्डिङ सेन्टरमा समेत नबसी सिधै पहाडका कुनाकाप्चामा पुग्न थालेका कारण कोरानाको संक्रमण समुदायस्तरमा पुगिसकेको सहजै अनुमान लगाउन सकिन्छ ।

सरकारले दिने गरेको कोरानासम्बन्धी सूचनाअनुसार मृत्युदर तथा संख्या खासै बढेको छैन । मृत्यु हुनेको संख्या ह्वात्तै नबढ्दासम्म सर्वसाधारण जनताले कोरोनाप्रति बेवास्था गर्ने, स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगर्ने अवस्था विगतका दुई वटा लहरमा पनि देखिएको थियो । अहिले पनि त्यो अवस्था छ । अस्पतालका शय्या नभरिएसम्म र अक्सिजन तथा औषधिको संकट नपरेसम्म मृत्युदर खासै नबढ्ने गरेको विगतले देखाएको छ । जब अस्पताल भरिन्छ, अक्सिजन र अषैधिको संकट पर्छ, त्यसपछि मृत्युदर ह्वात्तै बढ्छ, यस्तो अवस्था आइसकेपछि सुरक्षा मापदण्ड अपनाउनुको कुनै अर्थ रहन्न, किनकी घरघरमा संक्रमण भित्रिइसकेको हुन्छ । त्यसकारण समयै सचेत रहनु जरुरी छ । संयोगले पहिलो र दोस्रो लहरजस्तै तेस्रो लहर पनि नेपालमा एक्कासि प्रवेश गरेको होइन, दुई महिना पहिलै नै युरोप अमेरिकामा घण्टी बजाइसकेको हो, छिमेकी भारतमा पनि १५ दिनअघि नै घण्टी बजाइसकेको हो । सुरक्षाको पूर्वतयारी तथा सावधानीका लागि हामीलाई प्रर्याप्त समय थियो । तर समयको सदुपयोग भएन । अब तेस्रो लहरले के कति घरपरिवारलाई तहसनहस बनाउने हो कुनै टुंगो छैन ।

विगतका दुई वटा लहरबाट पाठ सिक्न नसक्नु हाम्रो मुलुकको सरकार र राजनीतिक दलहरूको कमजोरी हो । गत मंसिर १० गते महाधिवेशनका नाममा मेची–कालीबाट एमालेले ‘पाँच लाख’ मान्छे चितवनमा उतार्दै गर्दा कोरोनाको तेस्रो लहरले युरोप अमरिकालाई गाँजीसकेको थियो । सत्तारूढ नेपाली कांग्रेसले मंसिर २४ गते १४औँ महाधिवेशनका नाममा राजधानी काठमाडौंमा देशभरिबाट भिड जम्मा गर्दा युरोप अमेरिकाका संक्रमितहरू भारत तथा नेपाल आउन थालिसकेका थिए । करिब आधा घण्टा मात्रै बन्द सत्र गरेका कारण कांग्रेसजनहरू खासै संक्रमित भएनन् । तर पुसको दोस्रो साता माओवादी केन्द्रको आठौँ महाधिवेशनमा भने लगातार सात दिन बन्द सत्र गरियो । जसका कारण माओवादीका धेरै नेता तथा कार्यकर्ता संक्रमित भए । उनीहरूले कोरानालाई देशव्यापी फैलाए ।

नेपालमा कोरानाको तेस्रो लहर यति छिटौ सुरु हुनुमा माओवादीको मुख्य भूमिका रह्यो । त्यसो त राजावादीहरू पनि दोस्रो लहरमा जस्तै निकै गैर जिम्मेवार देखिए । उदाहरणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह र उनका अनुयायीहरू हरिद्वारामा आयोजित कुम्भमेलाबाट कोरोनाको दोस्रो लहर लिएर स्वदेश फर्केका थिए । यसपटक पनि पृथ्वीजयन्तीका दिन सिंहदरबारको पश्चिम गेटअगाडि पूर्वराजा शाह तथा उनका अनुयायीहरूले हजारौंको भिड जम्मा गरे । राजनीतिकदलहरू तथा पूर्वराजा तथा उनका अनुयायीहरू जिम्मेवार नबनिदिँदा कोरोनाको तेस्रो लहर ह्वात्तै बढेको हो । अब उपाय भनेको सकेसम्म अर्को व्यक्तिसँग भौतिक दुरी कायम राख्नु नै हो । किनकी सबै संक्रमित बिरामीहरूलाई औषधि उपचारको प्रबन्ध गर्न अमेरिकाले त सकेको छैन भने नेपालले सक्ने कुरै भएन । यस्तो महामारीमा उपचारको सुविधा पाउने भनेको पहुँच हुनेहरूले मात्रै हो ।

प्रतिक्रिया