कांग्रेस महाधिवेशन : देउवाले पहिलै चरणमा जित्ने आँकलन

काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी महाधिवेशनमा शेरबहादुर देउवा ५६ प्रतिशत मतसहित सभापतिमा विजयी हुने आंकलन गरेको छ । हालै सम्पन्न जिल्ला र प्रदेश अधिवेशनमा बलियो देखिएकाले महाधिवेशनमा पनि आफूहरू नै हाबी हुने देउवा पक्षका नेताहरूको निष्कर्ष छ । यसअघि कांग्रेस महाधिवेशनमा सभापतिको लागि दोस्रो चरणको निर्वाचन हुनसक्ने आकलन गरिएको थियो । तर, देउवा पक्ष पहिलो चरणबाटै नतिजा निस्किनेमा विश्वस्त देखिएको छ । हालसम्म ६ प्रदेशको नतिजा सार्वजनिक हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई २ वटा प्रदेशमा सिमित गर्दै देउवा पक्षले ४ प्रदेशमा जीत हासिल गरेको छ ।

देउवा पक्षले प्रदेश १, बागमति प्रदेश, कर्णली र सदुरपश्चिम प्रदेशमा जीत हासिल गरेको छ भने पौडेल पक्ष गण्डकी र लुम्बिनी प्रदेशमा विजयी भएको छ । जिल्ला र प्रदेशको नतिजासँगै देउवा पक्ष उत्साहित देखिएको छ । सोही आधारमा उसले केन्द्रिय सभापति जित्ने प्रक्षेपण गरेको हो ।
कांग्रेसले पहिलो पटक गरेको प्रदेश कार्यसमिति अधिवेशन परिणामले देउवालाई इतर समूहभन्दा बलियो देखाएको हो । सभापतिमा दोहोरिन नदिन प्रयासरत वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहभन्दा देउवा ६ सय ७२ मतले अगाडि देखिएका छन् ।

यद्यपि, यो अग्रतामा उनलाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले पनि सघाएको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सम्पन्न प्रदेश अधिवेशनको मत परिणामले देउवालाई ६ सय ७२ मतले अगाडि देखाएको छ । अधिवेशन सकिएका ६ वटा प्रदेशमा खसेको कूल मतमध्ये ४ हजार ५ सय ३ मत संस्थापन पक्षमा देखिएको छ ।

पौडेल समूहले प्रदेश २ बाहेकका प्रदेशहरूमा ३ हजार ६ सय ६१ मत पाएको छ । ६ वटै प्रदेशमा ८ हजार ३ सय १४ मत खसेको थियो । सार्वजनिक मत परिणामअनुसार प्रदेश १ मा रहेका कुल १ हजार ८ सय ४ मतदातामध्ये १ हजार ७ सय ५२ जनाले मतदान गरेका थिए । जसमध्ये संस्थापन पक्षीय सभापतिका उम्मेदवार उद्धव थापाले ८ सय ४४ मत पाएका छन् ।

उनी पूर्वमहामन्त्री सिटौलाले नेतृत्व गर्दै आएको ‘तेस्रो धार’ निकट भए पनि प्रदेश १ मा संस्थापनसँगको तालमेलमा चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । संस्थापन समूहसँगको तालमेलमा चुनावी प्रतिष्पर्धामा उत्रिएका कारण थापाले पाएको मत देउवाको पक्षमा खसेको मान्न सकिन्छ ।

उनले पौडेल समूहका उम्मेदवार गुरुराज घिमिरेलाई मात्र २ मतले पराजित गरेका छन् । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व सम्हाल्दै पार्टीको केन्द्रीय सदस्यसमेत रहेका घिमिरेले ८ सय ४२ मत पाएका छन् ।
बागमती प्रदेशको मत परिणामअनुसार २ हजार १ सय ५० मतदातामध्ये २ हजार २५ जना मतदानमा सहभागी भएका थिए । जसमध्ये संस्थापन पक्षीय उम्मेदवार इन्द्रबहादुर बानियाँले १ हजार ८५ मत ल्याएका छन् ।

उनले प्रतिद्वन्द्वी नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतले पराजित गरेका छन् । केसीले कूल खसेको मतमध्ये ९ सय २७ मत पाएका छन् । बागमतीमा सिटौला समूहबाट सभापतिमा उम्मेदवारी दिएका पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान पहिलो चरणबाट बाहिरिएका थिए । विधानतः दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुन नपाउने भएपछि सहभागी उनले संस्थापन पक्षीय उम्मेदवार बानियाँलाई सघाएका थिए ।
पहिलो चरणको निर्वाचनमा प्रधानले १ सय ९७ मत पाएका थिए । यस्तै बानियाँले ९ सय ९१ र केसीले ८ सय ७२ मत ल्याएका थिए । पहिलो चरणको निर्वाचनमा बागमती प्रदेशमा २ हजार ७१ मत खसेको थियो ।

गण्डकी प्रदेशमा सम्पन्न प्रदेश अधिवेशनको मत परिणामअनुसार संस्थापन पक्षीय उम्मेदवार अर्जुन जोशीले ५ सय २८ पाएका छन् । उनी पौडेल पक्षीय उम्मेदवार शुक्रराज शर्मासँग ८४ मतले पराजित भएका छन् ।
गण्डकी प्रदेशमा रहेका १ हजार १ सय ६० मतदातामध्ये १ हजार १ सय ४६ जना मतदानमा सहभागी भएका थिए । जसमध्ये पौडेल समूहबाट प्रदेश सभापतिमा विजयी उम्मेदवार शर्माले ६ सय १२ मत पाएका थिए ।
वरिष्ठ नेता पौडेलको गृह प्रदेश गण्डकीमा मात्र ८४ मतले सभापतिका उम्मेदवार जोशी पराजित भए पनि संस्थापन पक्षले इतर समूहलाई ठूलो धक्का दिन सफल भएको रुपमा लिएको छ ।

सभापति देउवाका विश्वास पात्र मध्येमा पर्ने गृहमन्त्री बालकृष्ण खाँणको गृह प्रदेश लुम्बिनीमा भने परिणाम संस्थापन इतर अनुकुल आएको छ । लुम्बिनीमा संस्थापन पक्षीय सभापतिका ‘हेभी वेट’ उम्मेदवार भरतबहादुर शाह ८५ मतले पराजित भएका छन् । उनलाई पौडेल पक्षीय उम्मेदवार अमरसिंह पुनले प्रदेश कार्यसमितिको सभापतिमा रोकेका छन ्। पुन रोल्पा कांग्रेसका निवर्तमान सभापति हुन् । उनले कुल खसेको मध्ये ८ सय ५२ मत पाएका छन् ।

प्रदेश २ मा भने प्रदेश अधिवेशन स्थगित भएको छ । केही जिल्लामा प्रतिनिधि छनोटमा विवाद भएपछि प्रदेश अधिवेशन स्थगित गरिएको हो । प्रदेश २ को सर्लाही र महोत्तरीमा अधिवेशन हुन सकेको छैन । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा पनि विवाद छ । प्रदेश २ का ३२ मध्ये २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइसकेको छ । क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय नेतृत्वसँगै महाधिवेशन प्रतिनिधिहरु चुनिसकिएका छन् । निर्वाचित क्षेत्रीय सभापतिमध्ये १६ देउवानिकट मानिन्छन् ।
अधिवेशन भएका २६ स्थानमा पौडेल समूहका ४ र उपसभापति विमलेन्द्र निधिनिकट २ जना देखिएका स्रोतको दाबी छ । स्रोतका अनुसार ४ जना तटस्थ छन् । १३ औँ महाधिवेशनबाट निर्वाचित प्रदेश २ का ८ जिल्ला सभापतिमध्ये ५ जना देउवा समूहमा, २ जना निधि समूहमा र १ जना तटस्थ छन् ।

प्रतिक्रिया