एमाले नेतृत्वको बहुमत सरकार निर्माण भए विकास अभियानले तीव्रता पाउने : नेता पोखरेल

जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तीव्रता पाएको छ । धनुषाको विदेह नगरपालिकामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकास अभियानले तीव्रता पाउने बताएका हुन् । उनले एमालेको नेतृत्वमा बहुमतको सरकार नहुँदा चाहे अनुरूप काम गर्न कठिनाइ भइरहेकाले २०८४ सालमा एमालेले सबैभन्दा ठूलो दलको रूपमा शक्ति प्रदान गर्न आमजनतालाई आग्रह गरे । यसका लागि एमालेका कार्यकर्ताहरूले अहिलेदेखि नै खट्नु आवश्यक रहेको बताए ।


‘एमाले सम्पूर्ण नेपालीको पार्टी हो’, उनले भने, ‘एमाले मधेसी, पहाडी वा हिन्दू मुस्लिमको पार्टी होइन्, नेपालमा बसोबास गर्ने सबै नेपालीको पार्टी हो ।’ त्यसैले एमालेमाथि चौतर्फी आक्रमण हुँदासमेत यहाँका मधेसी जनतालगायत सम्पूर्ण नेपालीले बचाए र हामीले त्यो षड्यन्त्रलाई विफल पार्न सफल भएको उनको भनाइ थियो ।


वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने र यसका लागि एमाले लागि परेको बताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले सम्पूर्ण एमालेका नेता तथा कार्यकर्ता २०८४ सालमा देशको प्रधानमन्त्री र प्रदेशहरूको मुख्यमन्त्री एमालेको हुने सपना देखिरहेका छन् । यो सपना पूरा गर्नका लागि अहिलेदेखि नै लाग्नु आवश्यक रहेको बताए । एमाले नेतृत्वको सरकार बने यहाँ व्याप्त रहेको गरिबी, अशिक्षाको अन्त्य गर्नु प्रमुख लक्ष्य रहने बताए ।


त्यस्तै पूर्वमन्त्री जुली महतोले मधेस प्रदेश कर्णाली, सुदूरपश्चिमजस्तो विकट प्रदेशभन्दा पनि पछाडि परेको प्रदेश रहेकाले यहाँ विकासका लागि अन्य प्रदेशभन्दा बढी काम हुनु आवश्यक रहेको बताइन् । यसका लागि आफूहरूले एमाले नेतृत्वलाई ध्यानाकर्षण गराउँदै आइरहेको जानकारी दिइन् । उनले भनिन्, ‘एमालेले मधेस विकासको थुप्रै योजना ल्यायो तर अहिले एमालेसँग न अहिले प्रधानमन्त्री छ न मधेसमा मुख्यमन्त्री नै, त्यसैले केही कठिनाइ भइरहेको छ ।’ यद्यपि एमाले भर्खर सरकारमा गएको छ नेपाली जनतालाई देश विकासले फेरी पटरी पकड़ने आशा पलाएको उनले बताइन् । पूर्वमन्त्री महतोले नेपाली जनताको यो आशालाई टुट्न नदिने प्रतिवद्धता व्यक्त गरिन् ।


प्रदेशसभा सदस्य लखन दासले लोकतन्त्रमा जनता नै मालिक भए पनि नेपालमा ठीक उल्टो भइरहेकोमा दुःख व्यक्त गरे । मुलुकमा लोकतन्त्र भए पनि नेपालका गरिब, मजदुर वर्ग दिनदिनै पिल्सिरहेको भन्दै देश निर्माण महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मजदुर वर्ग पीडित हुनु दुःखद् रहेको बताए । तर, एमाले गरिब मजदुरलगायत सम्पूर्ण वर्गको पार्टी रहेकाले एमाले नेतृत्वको बहुमतको सरकार मुलुकमा आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया